सेन्डिकेट हट्यो, भाडा घटेन

समाधान संवाददाता २०७६ भदौ १८ गते १३:००

एसके थकाली
जोमसोम

उपल्लो मुस्ताङ यात्रामा रहेको अघोषित यातायात सेन्डिकेट अन्त्य भइसकेको छ । तल्लो मुस्ताङ र उपल्लो मुस्ताङका २ यायातात प्रालिका पदाधिकारीबीच हालै सहमति भएपछि सेन्डिकेट अन्त्य भएको हो ।

तल्लो मुस्ताङको मुस्ताङ मुक्तिनाथ यातायात प्रालि र उपल्लो मुस्ताङ यातायात प्रालिबीच यसबारे सहमति भएको उपल्लो मुस्ताङका अध्यक्ष देव गुरुङले जानकारी दिए । दुबै समितिले आलोपालो जिप छुटाउने सहमति भएको हो । बिहीबारदेखि लोमान्थाङ–जोमसोम र जोमसोम–लोमान्थाङ जिप चल्ने छन् । दुबै समितिले प्रत्येक दिन बिहान ८ बजे दुबै स्थानबाट यात्रुलाईसेवा प्रवाह गर्ने जनाएका छन् ।

Advertisement

यसअघि उपल्लो मुस्ताङ यातायातले वारागुङ मुक्तिक्षेत्र ३ छुसाङदेखि लोमान्थाङसम्म र मुस्ताङ मुक्तिनाथ यातायातले जोमसोमदेखि छुसाङसम्म यातायात सञ्चालन गर्थे । जोमसोमदेखि छुसाङ करिवब२५ किलोमिटर र छुसाङदेखि लोमान्थाङ करिब ७० किलोमिटर छ । जोमसोमदेखि सिधा जिप चल्ने भएपछि स्थानीय खुसी छन् । २ ठाउँमा सवारी फेर्नुपर्ने सास्ती अन्त्य भएको छ भने अब जुनसुकै सवारी साधन पनि उपल्लो मुस्ताङ पुग्न सक्ने अध्यक्ष गुरुङले बताए । ‘उपल्लो मुस्ताङमा सार्वजनिक सवारीमात्र चल्थ्यो, तर अब कुनै पनि सवारीलाई रोकतोक हुँदैन,’ अध्यक्ष गुरुङले भने ।’

सरकार सेन्डिकेट खारेज गरेको २ वर्ष बितिसक्दा समेत उपल्लो मुस्ताङमा अघोषित सेन्डिकेट कायम थियो । समितिका अध्यक्ष गुरुङले उपल्लो मुस्ताङ यातायात समितिले सेन्डिकट नगरेको दाब िगरे । उनी भन्छन् , ‘सडक सञ्जाल सहज नभएकाले जिपहरु सजिलै लोमान्थाङ जान नसक्ने अवस्था भएकाले त्यस्तो अनुभूति भएको हो । आउन नसकेका हुन्, सेन्डिकेट होइन ।’ उपल्लो मुस्ताङका सबै जिपले जोमसोमबाट यात्रु ल्याउने गुरुङले उल्लेख गरे । २ समितिका ४२ वटा जिपले सेवा दिने गुरुङको भनाइ छ ।

Advertisement

३ गुणा चर्काे भाडा
मुस्ताङमा सडक स्तरोन्नति र सहज हुँदै गए पनि यहाँ चल्ने सवारी साधनले यात्रुबाट चर्काे भाडा लिने गरेको पाइएको छ । बेनी–जोमसोम–कोरला सडक ग्राभेलिङ अन्तिम चरण रहे पनि यहाँका व्यवसायीले भाडा समायोजन गर्न चासो दिएका छैनन् ।

जोमसोमबाट पोखरा–काठमाडौं छुट्ने बसले सन्तुलित भाडा उठाएको पाइए पनि यहाँको यातायात व्यवसायीले पुरानै भाडा दरमा यात्रुबाट पैसा असुल्ने गरेका हुन् । जोमसोमबाट–लोमान्थाङ र मुक्तिनाथ जाने सवारीले बाटो सुधार भए पनि भाडा घटाएका छैनन् ।

जोमसोमदेखि लोमान्थाङको जिपको भाडा २ हजार ६० तोकिएको छ भने जोमसोम–मुक्तिनाथ करिब ३ सय छ । व्यवसायीले तोकेको भाडा यातायात व्यवस्था कार्यालयले तोकेकोभन्दा तीन गुणा बढी हो ।

तपाईको प्रतिक्रिया