काबुलमा मारिएका २ नेपालीका शव ल्याउन प्रचण्डको पहल

समाधान संवाददाता २०७६ भदौ २२ गते १४:१२

रासस, काठमाडाैं

अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन् ।

तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो ।

Advertisement

मृतक थापाकी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

यस विषयमा दाहालले चासो दिएर नियमितरूपमा ती निकायमा सम्पर्क गरिरहेका उनले जानकारी दिइन् ।

Advertisement

उनको टेलिफोन लगत्तै शनिबार उनीहरूको मृत्युको  प्रमाणपत्र आएको, सोमबार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताइन् ।

‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरू कार्यरत थिए ।

पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परी मृत्यु भएको थियो ।

विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन् । मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया