अकला मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

समाधान संवाददाता २०७६ भदौ २५ गते १३:०७

कृष्ण न्यौपाने
दमौली

तनहुँको म्याग्दे गाउँपालिका ३ किल्चोकस्थित ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । समितिको आन्तरिक कोषको रकमबाट गत जेठ १८ गतेदेखि सुरु भएको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । असोज महिनाको फूलपातीका दिन उद्घाटन गर्ने गरी मन्दिरको काम तीव्र रुपमा भइरहेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार ६ तल्लाको मन्दिरमध्ये ४ तल्लाको ढलानको काम सम्पन्न भएको छ, ‘अहिलेसम्म भइरहेको कामको गति हेर्दा दसैंको फूलपातीसम्म मन्दिर पुनर्निर्माण सम्पन्न हुने अनुमान गरेका छौं,’ घिमिरेले भने । घिमिरेका अनुसार अकलादेवी मन्दिरको स्वरुप ललितपुरस्थित सन्तानेश्वर मन्दिरको जस्तै आकारमा निर्माण गरिएको छ ।

Advertisement

पुनर्निर्माण सुरु गर्दा ६३ लाख लागत अनुमान गरिएपनि मन्दिरको आकार थोरै परिवर्तन भएकोले लागत बढ्ने घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार मन्दिर पुनर्निर्माणका लागि म्याग्दे गाउँपालिकाले ४० लाख सहयोग गर्ने घोषणा गरेको थियो । पुनर्निर्माण सम्पन्न भएलगत्तै मन्दिरमा तामाको छानो छाउने र ढोका÷झ्यालमा टुँडाल राख्ने काम गरिनेछ । ‘३२ फिट उचाई हुने मन्दिर पुनर्निर्माण सकिएपछि निकै आकर्षक देखिनेछ,’ घिमिरेले भने । मन्दिर पुनर्निर्माणका लागि भनेर समितिले केही समय अगाडि महायज्ञको आयोजना गरेको थियो । उक्त महायज्ञमा करिब १ करोड दान संकलन भएको थियो ।

मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकिर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले जानकारी दिए । मन्दिर क्षेत्रमा वनभोज स्थल पनि निर्माण गर्ने योजना छ । डिपिआर अनुसारको सबै संरचना निर्माणका लागि ३ वर्ष समयावधि लाग्ने अनुमान गरिएको छ । ‘मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेका छौं, मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआर समेत तयार भएको छ ।

Advertisement

डिपिआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि ४ करोड बजेट आवश्यक पर्ने देखिएको छ,’ उनले भने । सम्भावना भएरपनि प्रचारप्रसारको अभावमा मन्दिर ओझेलमा परेको महशुस भएपछि सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास र प्रचारप्रसारका लागि जुटेको उनले जानकारी दिए । अकलादेवी खुशी भएको बेला मन्दिरभित्र रहेको घण्ट आफै हल्लिने र बज्ने गरेको स्थानीयको भनाई छ । देवी खुसी भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको स्थानीय बालहरि घिमिरेले बताए ।

विसं २०४२ सालदेखि मन्दिरमा शंख र घण्ट बजेको सुनिन थालेको स्थानीय बताउँछन् । त्यो बेला तत्कालिन प्रज्ञा पण्डित गंगाधर घिमिरे लगायतले स्थानीयले यस बारेमा जानकारी गराएपछि यो दैवीशक्ति हो यसको संरक्षणका लागि केही काम गर्नुपर्छ भनेर संरक्षणको काम सुरु भएको व्यवस्थापन समितिका अध्यक्ष मगरले बताए । ‘घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चवली लिएर आएको समयमा घण्ट हल्लन्छ,’ उनले भने, ‘किनकी त्यो बेला देवी खुशी हुनुहुन्छ ।’ आफूले समेत २ पटकसम्म पञ्चबली दिएको र त्यो बेला प्रत्यक्ष रुपमा घण्ट हल्लिएको देखेको मगरले बताए ।

मन्दिरमा ९ वर्षदेखि पूजारीको रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेको घण्ट आफै हल्लिने गरेको बताए । उनका अनुसार मन्दिरमा दैनिक ५०÷६० जना भक्तजन पूजाआजाका लागि आउने गरेका छन् । विसं २०५५ सालमा मन्दिरमा योगी नरहरिनाथले ८५ औं कोटी होम लगाएका थिए ।

यस क्षेत्रमा धार्मिक शक्ति भएको कारणले नरहरिनाथले यहाँ कोटीहोम लगाएको स्थानीय बताउँछन् । अकला मन्दिरको बाहिर सिंह र नन्दिनी अर्थात साँढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान छ । मन्दिर नजिकै पञ्चवली दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाको लागि वर्षमा ४ वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।

तपाईको प्रतिक्रिया