पार्किङमा अझै पनि अलमल

समाधान संवाददाता २०७६ भदौ २५ गते १४:१२

सुरेशराज अधिकारी
पोखरा

२०७३ सालमा तत्कालीन पोखरा उपमहानगरपालिका र नाइस नेपाल कन्सट्रक्सनसँग २ वर्षका लागि पोखराको विभिन्न ठाउँमा पार्किङ शुल्क उठाउने ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७५ साल असोजमा म्याद सकिएको हो । म्याद सकिएको १ वर्ष हुँदा पनि महानगरपालिकाले न त पुरानैलाई नवीकरण ग¥यो, न त नयाँ कम्पनीसँग ठेक्का सम्झौता गर्न सकेको छ ।

पार्किङ शुल्क उठाउन ठेक्का सम्झौताका लागि महानगरपालिकाले पटकपटक सूचना निकाल्यो । महानगरले गत वर्ष २ पटक २ वर्ष समय तोकेर ७ करोड ५७ लाख रुयैयाँ महानगरपालिकामा बुझाउनुपर्ने भनी सूचना निकालेको थियो । तर उक्त रकममा कुनै पनि कम्पनीले बोलपत्र बुझाएनन् ।

Advertisement

महानगरपालिकाले तेस्रोपटकमा ५ करोड ५७ लाख रुपैयाँमा टेन्डर खुलाएको पोखरा महानगरपालिकाका कर अधिकृत छवि शर्माले जानकारी दिए । शर्माका अनुसार तेस्रो पटक टेन्डर खुलाउँदा पनि कुनै कम्पनीले बोलपत्र बुझाएनन् ।

महानगरपालिकाले २०७३ सालमा २ करोड ८८ लाख पार्किङ शुल्क उठाउने सम्झौता गरेको थियो । सोहीलाई आधार मानेर चौंथो पटक २ करोड ८८ लाखमा २० प्रतिशतमात्र बढाएर महानगरपालिकाले ३ करोड ४६ लाख रुपैयाँमा टेन्डर खुलाएको थियो । उक्त समयमा ३ कम्पनीले बोलपत्र बुझाए पनि प्रतिस्पर्धामा आएनन् ।

Advertisement

३ करोड ७० लाख रुपैयाँमा बोलपत्र बुझाएकोे मेन्स विल्डर्स कम्पनी, ३ करोड ६० लाख रुपैयाँमा बोलपत्र बुझाएको अशेष निर्माण कम्पनी र ३ करोड ५४ लाखमा नाइस नेपाल कन्ट्रक्सनले प्रतिस्पर्धा गरेका थिए ।

रकम धेरै भएको भन्दै महानगरपालिकाले तोकेको समयमा सम्भैmाता गर्न ३ करोड ७० लाख रुपैयाँमा प्रतिस्पर्धा गरेको मेन्स विल्डर्स कम्पनी पनि सम्झौता गर्न आएन । अशेष निर्माण कम्पनी र २०७३ सालमा ठेक्का सम्झौता गरेको नाइस नेपाल कन्ट्रक्सनले धरौटी रकम अभाव कारण देखाउँदै सम्झौता नगरेको कर अधिकृत शर्मा बताउँछन् ।

केही दिन अघिमात्र पोखरा महानगरपालिकाले ३ करोड ४६ लाखमा टेन्डर खुलाएको छ तर अहिलेसम्म कुनै पनि कम्पनी प्रतिस्पर्धाका लागि आएका छैनन् । उक्त टेन्डर सूचना अनुसार पोखरा महनगरपालिकाभित्र सेती नदी पुल पृथ्वीचोक, सभागृह चोक जिरो किमी, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, सिद्धार्थचोक, महेन्द्रपुल, नागढुंगा लगायत ठाउँमा मिनी बस, माइक्रो बस पार्किङ गरेबापत प्रतिघन्टा ३० रुपैयाँको दरले उठाउन पाउने छ । कार, जिप प्रतिघन्टा २० र मोटरसाइकल स्कुटर प्रतिदिन १० का दरले ठेक्का लिने कम्पनीले पार्किङ शुल्क उठाउन पाउनेछ ।

अन्य सडक भनेर अमरसिंह चोकदेखि पृथ्वीचोकसम्म, मुस्ताङचोकदेखि बिरौटा हँुदै छोरेपाटनसम्म, पालिखेचोकदेखि नदीपुर बगर हँुदै केआइसिंह पुलसम्म लगायतका ठाउँमा पार्किङ शुल्क उठाउन पाउने छ । उक्त ठाउँमा ठूला बस ट्रकको प्रतिघन्टा ३० रुपैयाँ, मझौला मिनीबस, माइक्रोबस प्रतिघन्टा २० तथा कार, जिप, भ्यान प्रतिघन्टा १५ रुपैयाँ र मोटरसाइकल, स्कुटरको प्रतिदिन १० रुपैयाँ पार्किङ शुल्क उठाउन पाउनेछ ।

नाइस नेपालसँग डेढ करोड उठाउन बाँकी
नाइस नेपाल कन्स्ट्रक्सनसँग २०७३ सालमा सम्झैता भए अनुसार पोखरा महानगरपालिकाले १ करोड ६० लाख रुपैयाँ उठान बाँकी रहेको कर शर्मा अधिकृत बताउँछन् ।

धरौटीमा राखिएको रकम वा जग्गा महानगरपालिकाले लिन नमिलेको कर अधिकृत शिवहरि शर्माको भनाइ छ । महानगपालिकाले नाइस नेपालसँग धरौटी लिने प्रक्रिया अघिल्लो वर्ष नै अगाडि बढाएको थियो । तर नाइस नेपाल कम्पनीले जिल्ला अदालत कास्कीमा उजुरी दिएपछि अदालतले अहिले उक्त रकम लिन नमिल्ने आदेश दिएको शर्मा बताउँछन् ।

तपाईको प्रतिक्रिया