समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित

समाधान संवाददाता २०७६ भदौ २६ गते १२:५४

समाधान संवाददाता
दुलेगौंडा

स्याङ्जाको विरुवा गाउँपालिका ५ का वृद्ध प्रकाश थापा युरिया मलको खोजीमा हिडेको १ हप्ता बितिसक्यो । कहिले पोखरा त, कहिले दुलेगौंडा धाउदा खर्च पनि धरै नै भइसक्यो । मलको खोजीमा बुधवार दुलेगौंडा आएका थापाको हातमा बोरा थियो । ‘आज ३ दिन भइसक्यो, मल खोज्न हिडेको दुलेगौंडामा बाँडेको छ भन्ने थाहा पाएर आएको हुँ,’ उनले थपे, ‘धान गोडेर सकिसक्यो, मल पाइने हो कि, होइन थाहा छैन ।’

शुक्लागण्डकी ३ वनकेवाका टेकबहादुर सुनारले दुलेगौंडाको १ पसलमा १० किलो रासायनिक मल बल्लबल्ल पाए । त्यही पनि बिहान ६ बजेदेखि लाइनमा बसेर । करिब ६ घण्टाको पर्खाइमा मल पाएका उनी केही खुसी देखिन्थे । तर त्यति मलले उनलाई पुग्दैन । उनले वर्षैपिच्छे मलको अभाव हुँदा पनि सरकारले चासो नदिएको गुनासो गरे । ‘रोप्ने बेलामा पनि यस्तै भयो । मल बल्ल पाएर हालियो,’ उनले भने, ‘अहिले गोडेर राख्ने बेलामा यस्तो आपत ।’ उनले प्रतिकिलो ४५ रुपैयाँमा युरिया मल किनेका छन् ।

Advertisement

आवश्यक समयमा रासायिनक मल नपाएर भौतारिएका प्रकाश र टेकबहादुर त उदाहरणमात्रै हुन् । कृषि सामग्री कम्पनीले सहुलियत दरमा वितरण गर्ने रासयनिक मल युरिया र पोटास दुबैको अभाव छ । रासायनिक मल अभाव हुँदा कृषक समस्यामा परेका छन् ।

धान रोप्ने र गोडेर हाल्ने समयमा मल नपाउँदा यस वर्ष धान उत्पादन घट्ने देखिएको छ । शुक्लागण्डकी नगरपालिकाका आर्थिक तथा योजना शाखा प्रमुख नवराज पण्डितले सरकारले गर्ने खरिद प्रक्रिया समयमै नहुँदा देशभर मल अभाव भएको बताए । उनले रासायनिक मलको जिम्मा संघीय सरकार मातहत रहेको कृषि सामग्री कम्पनी लिमिटेडलाई रहेको प्रष्ट पारे ।

Advertisement

भारतको खुला सिमानाका काराण मल अभावको मौका छोपी गुणस्तरहीन मल आउन सक्ने अनुमान गरे । एग्रोभेटहरुले आधिकारिक स्रोतबाट मल ल्याएमा बिक्री गर्न सक्ने उल्लेख गरे । ‘रासायिनक मल लेखेकै भरमा ल्याएर बेच्दा बालीलाई फाइदा पुग्दैन,’ उनले थपे, ‘मलमा संवेदनशील हुनुपर्छ । भण्डारणमा बढी तातो र चिसो भएमा पनि नाइट्रोजन नास हुन सक्छ ।’

कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रादेशक प्रमुख मुरीमोहन रेग्मीले १ हप्ताभित्र मल पाइने जानकारी दिए । उनले खरिद प्रक्रियाका कारण मल आउन ढिलाइ भएको बताए । ‘बिहीबार वीरगञ्ज भन्सारसम्म आउने जानकारीमा आएको छ,’ उनले थपे, ‘१ हप्ताभित्र मल सहज हुने विश्वास गरेका छौं ।’ कास्कीमा ६० वटा सहकारीमार्फत मल बिक्री हुँदै आएको जानकारी दिए ।

प्रादेशिक संरचना अनुसार कार्यालय स्थापना नभएका कारण प्रदेशका अन्य जिल्लामा कति स्थानबाट सहुलियत दरको मल बिक्री हुन्छ भन्ने तथ्यांक कम्पनीमा नभएको उनले उल्लेख गरे । कृषि सामग्री कम्पनीमार्फत प्रतिकिलो १६ रुपैयाँ ३४ पैसामा युरिया बिक्री गरिंदै आएको छ ।

तपाईको प्रतिक्रिया