ओलम्पिक कमिटीकाे उपाध्यक्षमा तेज गुरुङ

समाधान संवाददाता २०७६ भदौ २९ गते १२:५४

समाधान संवाददाता
पोखरा

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुन निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा नेपाल स्की संघका अध्यक्ष समेत रहेका जीवनरामले नेपाल हकी संघका उमेशलाल श्रेष्ठलाई पराजित गर्दै ४ वर्षे कार्यकालका लागि चुनिएका हुन् । अध्यक्षसहित अधिकांश पदमा जीवनरामको प्यानल नै निर्वाचित भएको छ ।

जीवनरामले १७ भोट ल्याउँदा उमेशलालले १० भोट मात्र पाए । ४ वर्षअघि पनि जीवनरामले उमेशलाललाई नै हराएर अध्यक्षमा जितेका थिए । उपाध्यक्षमा टेनिसकी ज्योति राणा, टेबलटेनिसका चतुरानन्द वैद्य, ह्यान्डबलका तेज गुरुङ, पौडीका अशोक बज्राचार्य र फेन्सिङका सुनील श्रेष्ठ निर्वाचित भएका छन् । उम्मेदवारी दिएका सुटिङका पुष्पदास श्रेष्ठ, कुस्तीका समिम मियाँ अन्सारी र र्‍यााफ्टिङका राजीव श्रेष्ठ पराजित भएका छन् ।

Advertisement

महासचिवमा ट्रायथलनका निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले कराँतेका पुनेन्द्रविक्रम लाखेलाई ३ भोटले पछि पारे । निलेन्द्रले १५ भोट ल्याउँदा लाखेले १२ भोट पाए ।

३ जना सचिवमा जुडोका दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठ र कबड्डीकी तुलसी थापा निर्वाचित भए । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव समेत रहेका उसुका केशवकुमार विष्ट १ भोटले पराजित भएका छन् ।

Advertisement

सदस्यमा दीर्घबहादुर केसी (फुटबल), प्रकाश शमसेर राणा (तेक्वान्दो), टासी घले (गल्फ), रमेश सिवाकोटी (आर्चरी), गोपालसुन्दर लाल कक्षपति (साइक्लिङ), होम दोङ (बास्केटबल) र राम अवाले (बक्सिङ) निर्वाचित भएका छन् ।

सदस्यमा उम्मेदवारी दिएका भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा पराजित भएका छन् । यसअघि उपमहासचिव पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध भएका थिए ।

तपाईको प्रतिक्रिया