आदिकवि भानुभक्तमा मतदानबाट नेतृत्व

समाधान संवाददाता २०७६ भदौ ३० गते १४:४०

कृष्ण न्यौपाने
दमौली

समुदायबाट सञ्चालित तनहँुको व्यास नगरपालिका १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा पहिलो पटक मतदानबाट नेतृत्व चयन भएको छ । शनिबार राति सम्पन्न १० औं साधारणसभाबाट क्याम्पसको नयाँ नेतृत्व चयन भएको हो ।

निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट व्यक्तिले उम्मेदवारी दिए पनि सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि नेकपा निकट उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए । नेकपाको उम्मेदवारी फिर्ता पछि नेतृत्व चयनका लागि मतदान भएको थियो ।

Advertisement

निर्वाचन प्रबन्ध समितिका संयोजक अमृत नेपालीका अनुसार खुला तर्फको सदस्यमा ब्रम्हदत्त तिमिल्सिना ६ सय १३, मोहन गिरी ६ सय १८, सुरेन्द्र पौडेल ५ सय ७५, धु्रवराज पण्डित ५ सय ७०, डम्बर अधिकारी ५ सय ८६, विकास खनाल ५ सय ८९ र होम रसाइली ५ सय ८७ मत प्राप्त गरी निर्वाचित भएका छन् । खुला सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको थियो ।

९ सय ७३ मतमध्ये निर्वाचनमा ६ सय ९७ मत खसेकोमा २२ मत बदर भएको निर्वाचन प्रबन्ध समितिले जनाएको छ । १७ सदस्यमध्ये ९ सदस्य भने यसअघि नै सर्वसम्मत निर्वाचित भएका थिए । अभिभावकतर्फका सदस्यमा चिजबहादुर दरै र बाबुराम बगाले, महिलातर्फ सरिता थापा भण्डारी, सविता पण्डित, सरलादेवी श्रेष्ठ, जनजातिततर्फ पूर्णबहादुर थापा र बुद्धिमान श्रेष्ठ, दलिततर्फ केशबहादुर सुनार, अल्पसंख्यकतर्फ दिलबहादुर दरै सर्वसम्मत निर्वाचित भएका थिए । जम्मा ३३ सदस्यीय क्याम्पस सञ्चालक समितिमा निर्वाचित सदस्य १७ जना रहने व्यावस्था छ ।

Advertisement

निर्वाचित सदस्य र निवर्तमान अध्यक्ष समेतबाट अध्यक्ष र उपाध्यक्ष चयन गरिने व्यावस्था छ । समितिले ७ जना सदस्य मनोनयन गर्ने छ भने समितिमा थप पदेन ९ सदस्य रहने व्यवस्था रहेको छ । विसं २०४४ सालमा समुदायबाट सञ्चालित क्याम्पसमा ८० प्रतिशत छात्रा अध्ययन गर्ने गरेका छन् ।

२ हजार ५ सय विद्यार्थीमध्ये २ हजार विद्यार्थी छात्रा रहेको क्याम्पसले जनाएको छ । कुल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् । कुल विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थीहरु क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको क्याम्पसले जनाएको छ ।

तपाईको प्रतिक्रिया