मुस्ताङमा पर्यटन दिवसकाे अवसरमा फोटो प्रर्दशनी

समाधान संवाददाता २०७६ असोज १० गते १४:३०

एसके थकाली, जोमसोम

‘पर्यटन र पेशाः सबैका लागि समुन्नत भविष्य’ उद्घोष सहित हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार ४० औं विश्व पर्यटन दिवस मनाईएको छ । दिवसका अवसरमा हवाई तथा यातायातका साधन चढेर मुस्ताङका आएका विदेशी तथा आन्तरिक पर्यटकलाई खादा र फुलले भब्य स्वागत गरिएको छ ।

यसअघि सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई लक्ष्य गर्दै घरपझोङ गाउँपालिका तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । पर्यटन दिवसलाई घरपझोङ–३ पुथाङ आमा समुहले सहकार्य गरेको थियो ।

Advertisement

गाउँपालिका तथा एक्यापले उपल्लो मुस्ताङ र राउन्ड अन्नपूर्ण पदमार्ग हुदै जोमसोम फर्किएका बिदेशी पर्यटकलाई खादा र फुलले स्वागत गरेको थियो । यस्तै अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले ३ दिने मुस्ताङ फोटो प्रर्दशनीको सुभारम्भ गरेको छ । मुस्ताङ जिल्ला भित्र रहेका ऐतिहाँसिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको बृहत फोटो प्रर्दशनीमा समावेश गरिएको छ ।

एक्याप जोमसोमद्धारा संकलित फोटो र विभिन्न संघसंस्था तथा व्यक्तिहरुले कैद गरेका तस्विरहरु प्रर्दशनीमा राखिएको एक्याप जोमसोमकी बन रेञ्जर धनु गुरुङले जानकारी दिईन् । उनका अनुसार पहिलो दिनको उद्घाटन फोटो प्रर्दशनीमा करिव २ सय बढी पर्यटकले फोटो ग्यालरी अवलोकन गरेका छन् । फोटो प्रर्दशनीमा मुस्ताङ विभिन्न व्यवसायी तथा संघसंस्थाका व्यक्तिहरुले पनि सहभागी जनाएको बन रेञ्जर गुरुङले जनाईन् ।

Advertisement

प्रर्दशनी गरिएको तस्विरमा धार्मिक संस्कृति ,तालतलैया ,हिमाल , चौरी याक ,वन्यजन्तु र प्राकृतिक नेचरहरुको तस्विर राखिएको गुरुङको भनाई छ । यसअघि ३ दिने मुस्ताङ बृहत फोटो प्रर्दशनीको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले उद्घाटन गरेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले र एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले पर्यटन विकासका बारेमा बोलेका थिए ।

पर्यटन दिवसकै अवसरमा पर्यटकलाई समेत समेटेर कुर्ची घुम्ने खेल खेलाईएको थियो । खेलमा पर्यटक गाईड छोईसाङ तामाङ प्रथम भएका छन् । उनलाई जिसस प्रमुख शेरचनले मेडल हस्तान्तर गरे । यस्तै , ४० औं विश्व पर्यटन दिवस उपल्लो मुस्ताङको लोमान्थाङमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको एक्याप लोमान्थाङले जनाएको छ ।

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकलाई एक्याप लोमान्थाङ र स्थानीयले भव्य स्वागत गरे । सो अवसरमा उपल्लो मुस्ताङको मौलिक सांस्कृतिक र भेषभुषा समेत विदेशीलाई देखाईएको थियो ।

तपाईको प्रतिक्रिया