लिगलिगकोटमा दशौं राजा छान्दै

समाधान संवाददाता २०७६ असोज १२ गते १३:२०

मोहसिन अलि मियाँ
गोरखा

आगामी १६ गते लिगलिगकोटमा दशौं राजा छानिदैछ । पालुंटार नगरपालिकास्थित लिगलिगकोटको दशौं राजा छान्नका लागि तयारी अन्तिम चरणमा पुगेको शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । दौड जितेर राजा हुने इतिहासलाई निरन्तरता दिँदै लिगलिगकोटमा यस वर्ष दशौं राजा चुन्नका लागि तयारी भइरहेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘दौड जितेर राजा बन्ने इतिहास जोगाउन हामीले हरेक वर्ष दौड गर्ने गरेका छौं ।’

विगत दश वर्षअघिदेखि सुरुआत भएको प्रतियोगिता यस पटक असोज १६ गते हुन लागेको हो । पालुंटार नगरपालिका, नेपाली सेनाको रणसिंह दल गण र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा हुने दौडमा प्रथम हुनेलाई नगदसहित श्रीपेच पहिराएर राजा घोषित गर्ने प्रचलन छ । नेपालको उत्पत्ति भएको स्थान लिगलिगेकोट दौड जितेर राजा भएको परम्परालाई बचाइ राख्न वर्षैपिच्छे प्रतियोगिता हुँदै आएको छ । ‘खेलकुद पर्यटनमार्फत् हामी पालुंटारको पहिचानलाई देशविदेशमा प्रचार गर्न चाहान्छाैं’ पालुंटार नगरपालिकाका प्रमुख दीपकबाबु कडेंलले भने, ‘यहाँको पर्यटन विकासका लागि संस्कृति र इतिहासलाई प्राथमिकता दिएर अघि बढेका हाैं ।’

Advertisement

चेपे र मस्र्यादी नदीको दोभान चेपेघाटबाट सुरु हुने दौड ठाँटीपोखरी, बडडाँडा, सभाचौतारा, बिजुलेडाडाँ, खोल्डीगाउँ हुँदै ऐतिहासिक स्थल लिगलिगकोटको कोटगढीमा पुगेर सम्पन्न हुने चलन छ । १३ दशमलव ५ किलोमिटरको उक्त दौड पूरा गरेर जो पहिले पुग्छ उसलाई पहिलो पुरस्कारको साथमा राजा घोषणा हुँदै श्रीपेच पहिर्‍याइने आयोजकले जनाएको छ । त्यसका साथै राजालाई १ रात लिगलिगमै राखेर बजार परिक्रमासमेत गराइने छ । दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा ६० हजार १ सय रुपैयाँ पुरस्कार दिइने छ भने दोस्रो हुनेलाई नगद ३५ हजार १ सय, तेस्रो हुनेलाई २५ हजार १ सय, चौंथोलाई १५ हजार १ सय, पाँचौं हुनेलाई १० हजार १ सय प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ । त्यस्तै छैटौंदेखि दशौंसम्मका विजेताका लागि क्रमश ७ हजार १ सय, ५ हजार १ सय, ४ हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिने आयोजकले बताएको छ ।

बडडाँडाबाट लिगलिगसम्मको ५ किलो मिटर महिला खुला, लिगलिगबासीका लागि चेपेबाटै १३ दशमलब ५ किलोमिटर, छात्र÷छात्राका लागि बोहोरागाउँबाट र ४० वर्षमाथिका लागि भेट्रान बड्डाँडाँबाट ५ किलोमिटरको दौडसमेत हुने बताइएको छ । प्रतियोगितामा झण्डै २९ लाख २० हजार रुपैयाँ खर्च हुनेछ । यस वर्षदेखि प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणले प्रतियोगितामा खर्च हुने सम्पूर्ण नगदी पुरस्कारको व्यवस्था गरेको छ । जुन झण्डै ३ लाख बराबर हुन आउँछ । ‘लिगलिगे दौडमा नेपालीले सेना अघिल्लो वर्षबाट मात्रै जाडिएको हो, अघिल्लो वर्ष व्यवस्थापकीय क्षेत्र हेर्‍यौ, यो वर्ष पुरस्कार सबै हामीले व्यहोरेका छाैं’ रणसिंह दल गणका गणपति उज्वल केसीले भने, ‘नेपाली सेनाले अहिले देशभरको किल्ला, कोटहरुको संरक्षण र प्रचारमा जुटेको छ, त्यसैले दौडमार्फत् यहाँको इतिहास जगेर्ना र प्रचारका लागि हामी जोडिएका हाैं ।’ त्यस्तै उनले आगामी २०२० को भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

Advertisement

विसं १९१६ सालमा द्रब्य शाह राजा बनेपछि हुन छाडेको दौड विगत १० वर्षदेखि स्थानीयको पहलमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ । सुरुमा केही स्थानीयको पहलमा सुरु भएको लिगलिगे दौडले राष्ट्रिय मान्यतासमेत प्राप्त गरेको छ । अहिले दौड प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद विकास समितिले ५ लाख, पर्यटन बोर्डले ५ लाख साथै पालुंटार नगरपालिकाले १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

दशौं राजा लिगलिगका सद्भावना दुत
यस वर्षदेखि राजा चुनिनेलाई पालुंटार नगरपालिकाले सद्भावना दुतका रुपमा नियुक्त गर्ने तयारी गरेको छ । पहिलो पटक दशौं राजालाई १ वर्षका लागि दुतका रुपमा नियुक्त गर्ने तयारी गरिएको नगरप्रमुख दीपकबाबु कडेंलले बताए । ‘पहिला हामी राजा मात्रै घोषित गथ्र्यौं, अब नगरपालिकाले नै लिगलिग एम्बेस्डर नियुक्त गर्छ’ उनले भने, ‘दुतले वर्षभरि पालुंटार र लिगलिगको प्रचारमा सहयोग पु¥याउनुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’

तपाईको प्रतिक्रिया