–विनयी त्रिवेणीको आक्रोश– निकुञ्जको बाटो नखुले ५ नम्बरमा गाभिन तयार

समाधान संवाददाता २०७६ असोज २८ गते १२:५७

अमृत सुवेदी
पोखरा

Advertisement

देशलाई संघीय प्रणालीमा लैजान भइरहेका जिल्लाहरु मिलाएर प्रदेशको घोषणा गरियो । तर, रुकुम र नवलपुर भने टुक्र्याएर फरक–फरक प्रदेशमा पारियो । तत्कालीन नवलपरासी टुक्रिएर बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिम बनाइयो ।

एउटै जिल्लावासी २ प्रदेशका नागरिक भए । सुस्ता पूर्व प्रदेश ४ (गण्डकी) मा प¥यो भने पश्चिम प्रदेश ५ मा । प्रदेश ४ उत्तर चीनदेखि भारतसम्म जोडिएको प्रदेश बन्यो । ७७ जिल्लामै कान्छो जिल्ला सुस्ता पूर्व (नवलपुर) नै यो प्रदेशको भारत जोड्ने १ मात्र नाका बन्यो ।

Advertisement

तत्कालीन प्रदेश ४ मा परेपछि नवलपरासी बर्दघाट सुस्ता पूर्वका नागरिकले खुसी मनाए । संविधान दिवसमा दीपवाली गरे । उत्सव मनाए । नाम घोषणा नभए पनि नवलपुर भन्न सबै राजी भएका त्यही जिल्लाका नागरिकको विश्वास थियो, ‘प्रदेशकै प्रमुख नाका भएकाले छिटो विकास हुने छ । दुख र भोगिरहेको समस्या हट्ने छ ।’

अहिले भने त्यही प्रदेशको मुख्य नाका पर्ने ठाउँका नागरिकले आन्दोलनको चेतावनी दिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए । सुखको सास फर्ने आशमा एउटै जिल्लावासी पनि फरक प्रदेशमा बस्दा रमाएर दीपावली गरेका नागरिकमा अहिले बेचैनी र पछुतो हुन थालेको जिसीको भनाइ छ ।

Advertisement

त्यहाँका नागरिकमा त्यसरी असन्तुष्टी किन पैदा भइरहेको छ त ? अध्यक्ष जिसीले भने, ‘हाम्रो मुख्य समस्या सडक नै हो । अहिले पनि विनयी त्रिवेणीका नागरिक गाउँपालिकाकै सेवा लिन प्रदेश ५ हुँदै फेरो बाटो आउनुपर्छ, गाउँपालिकामात्रै होइन गण्डकी प्रदेश नै आउजाउ गर्न ५ नम्बर र ३ नम्बर प्रदेश हुँदै यात्रा गर्नुपर्छ ।’

विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ भारतसँग जोडिएको छ । भारतसँग जोडिएको समृद्धिको आधार मानिएको प्रदेशको मुख्य नाका पनि त्यही हो । तर, त्यहीँका नागरिक गाउँपालिकाको केन्द्र पुग्न ५ नम्बर प्रदेश हुँदै ५० किलोमिटर पार गर्नुपर्छ । जबकि त्यहाँबाट बाटो खुल्यो भने जम्मा २२ किलोमिटरमा गाउँपालिकाको केन्द्र पुगिन्छ ।

‘दुम्कीवास त्रिवेणी सडक नै त्यहाँका नागरिकको आशा र आक्रोशको कारण हो । उनीहरु आशावादी थिए, गण्डकी प्रदेशमा गाभिएपछि त्यो बाटो छिट्टै बन्ने छ । उनीहरु अहिले आक्रोशित छन्, सडक बन्ने छाँटकाँटै छैन । जसका कारण गण्डकी प्रदेशमा भएको जनताले महसुस नै गर्न पाएनन्,’ जिसीले भने ।

गण्डकी प्रदेशले कोरला पोखरा र पोखरा दुम्कीवास त्रिवणी सडकलाई समृद्धिको आधार नै मानेको छ । संघीय सरकारले पनि यो सडक प्राथमिककताका साथ निर्माण गर्ने बताउँदै आएको छ । तर, सरकार गठन भएको यतिका समयसम्म सडकको ट्रयाकसमेत नखुलेपछि स्थानीयमा असन्तुष्टी र आक्रोश पैदा भएको अध्यक्ष जिसीले बताए ।

‘स्थानीय तहको चुनावमा हामीले पहल गरेर सडकको ट्रयाक खोल्छौं । प्रदेश र प्रतिनिधि सभाको चुनावमा त्यो सडक एक वर्षभित्रै खोल्न पहल गर्ने जनतालाई आश्वासन बाँडियो,’ जिसीले समाधानसँग भने, ‘अहिले त्यहाँका जनताले आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।’

विनय त्रिवेणी गाउँपालिका प्रदेशको नाकामात्रै होइन, कठिन भौगोलिक अवस्था बाँचेको पालिका पनि भएको अध्यक्ष जिसीको भनाइ छ । ‘एउटै गाउँपालिकामा पहाड, तराई र भित्री मधेशमा फिजारिएको छ,’ अध्यक्ष जिसीले अनुभव साटे, ‘भूगोलअनुसार फरक फरक नीति र कार्यक्रम चाहिन्छ । योजना त्यसरी गर्नुपर्छ । तर, स्थानीय तहमा आएको यतिका समय भइसक्यो । काम चलाउमात्रै भएका छौं ।’

यहाँको सबैभन्दा ठूलो माग र आवश्यकता सडककै हो । अहिले पनि थुप्रै गाउँमा सडकको ट्रयाकसमेत पु¥याउन नसकिएको उनी बताउँछन् । त्यसैमाथि गण्डकी प्रदेशको नाकासमेत भएपछि जनतामा धेरै आशा जागेको थियो । तर, अहिले कुनै ठूलो काम गर्न नसकेको उनी बताउँछन् ।

‘तराईतिर काम गर्न पनि सजिलो छ । बाटोघाटो र पिउने पानीको सुविधा छ । सिँचाइ छ,’ जिसीले भने, ‘हाम्रो पालिका धेरै पहाडी क्षेत्र छ । पहाडतिर कतिपय ठाउँमा ट्रयाक नै खुलेको छैन । कतिपय ठाउँमा मोटरसाइकल नै पुग्दैन । पानी, सिँचाइको असुविधा छ ।’

निर्वाचित भएपछि विनयी त्रिवेणी गाउँपालिकाको पहिलो कार्यपालिका बैठकको निर्णय नै दुम्कीवास त्रिवेणी सडकको ट्रयाक खोल्नेबारे थियो । निर्णयअनुसार प्रदेश र संघ सरकार गठन भएपछि डेलिगेसन सुरु गरे । ‘प्रदेश सरकारलाई गुहा¥यौं, संघ सरकारसम्म पुग्यौं । मुख्यमन्त्रीलाई विनय त्रिवेणीमै लिएर गयौं । प्रतिनिधि सभाका सांसद तीलक महतलाई ताकेता गर्‍यौं । अहिलेसम्म पहल नै भएन । वातावरणीय अध्ययन भइरहेको छ भन्नुहुन्छ,’ अध्यक्ष जिसीले भने, ‘मुख्यमन्त्रीले हामीले बनाइछाड्छौं भन्नुभएको छ । तर, अहिलेसम्म प्रक्रिया नै अगाडि बढेन ।’

स्थानीयले प्रदेशलाई, प्रदेशले संघलाई दोष लगाउने काम भइरहेको छ भनेर स्थानीय रुस्ट भएको उनी बताउँछन् । यही विषयमा जनस्तरबाट २÷३ चरणमा बैठक पनि बसिसकेको छ । ‘एक पटक फेरि डेलिकेसन जाने र भएन भने जनता आन्दोलनमा उत्रने, आफैंले भए पनि गैंची, बेल्चा लिएर बाटो खन्न निस्कने भनिरहेका छन्,’ अध्यक्ष जिसीले भने, ‘एकातिर सडकको ट्रयाक नै नखुल्दा समस्या छ । अर्कोतिर मध्यवर्ती क्षेत्रमा पर्नुको सास्ती र दुख छ ।’ बाटो नखुल्ने भए २ वडाका बासिन्दा ५ नम्बर प्रदेशमै गाभिन तयार छन् ।

मध्यवर्ती क्षेत्रका वासिन्दाले घाँस, दाउरा, भरनमा ठूलो समस्या खेप्नुपरेको उनी बताउँछन् । ‘जनता पहिलेपहिले मध्यवर्ती क्षेत्रमा पर्दा खुसी थिए । अहिले घाँस, दाउरा, पात टिप्न जाँदा मध्यवर्ती क्षेत्र परेकै कारण अनेक सास्ती र कष्ठ खेप्नुपरेको छ,’ अध्यक्ष जिसीले भने, ‘संरक्षित क्षेत्रबाट फाइदाभन्दा मुद्धा पर्ने र जिविकोपार्जनमै समस्या पर्ने भएपछि स्थानीय आजित छन् ।’

गाउँपालिका नै काम चलाउ, १ सचिवको जिम्मामा ३ वडा
कर्मचारी, स्रोत साधनको अभाव र जटिलताका कारण गाउँपालिका काम चलाउजस्तोमात्रै भएको अध्यक्ष जिसी बताउँछन् । एउटै सचिवको जिम्मामा ३ वटा वडा छन् ।

‘कर्मचारी नै छैनन् । विनय त्रिवेणीमा दुख छ भनेर कर्मचारीले रोजेनन्,’ अध्यक्ष जिसीले भने, ‘जसका कारण सेवा नै काम चलाउजस्तोमात्रै भइरहेको छ ।’ वडा नम्बर १, २ र ५ विष्णुकुमारी पुन सचिवको रुपमा कार्यरत छिन् । उनले विकट ठाउँमा दुखका साथ सेवा गर्नुपरेको उनी बताउँछन् ।

सहकारी र शिक्षामा १ जना पनि कर्मचारी नभएको जिसीले बताए । ‘सहकारी, शिक्षा स्थानीय तहमातहत भनियो । तर कर्मचारी नै छैनन् । प्रमुख प्रशासकीय अधिकृतकै जिम्मामा छ,’ उनले भने, ‘कर्मचारी नै नहुँदा गाउँपालिका नै काम चलाउ बनेको छ ।’ गाउँपालिकामा २६ जनाको दरबन्दी छ । तर, ६÷७ जनामात्रै कर्मचारी रहेको उनको भनाइ छ ।

सुकुम्बासी र जग्गाको समस्या जस्ताकोतस्तै
गाउँपालिकाको चुनावमा अध्यक्षको प्रत्यासी हुँदा जिसीले पनि भाषणा ठोके, ‘अब सुकुम्वासीको हटाउँछौं । जग्गाको झमेला हट्ने छ ।’

कांग्रेसका प्रत्यासी जिसीलाई जनताले पत्याए र चुनाव जिताए । उनले सुकुम्वासीको सेतो पूर्जा हुनेलाई रातो बनाउने गाउँपालिकाले नै पहल गर्ने बाचा गरे ।

नक्सा नापजाँच गरेर पनि पूर्जा नपाएकाहरुलाई पूर्जा दिलाउने जिसीले आश्वासन दिएका थिए । उनी गाउँ सरकारको प्रमुख त बने तर जनताका ती समस्या उनको तहबाट अन्त्य हुन सकेन ।

उनलाई अहिले जनताले भन्न थालेका छन्, ‘भाषण ठूला गर्‍यो । काम केही गरेन ।’ सरकार गठन भएको अढाई वर्ष बितिसक्दा पनि केही गर्न नसक्दा दुख लागेको अध्यक्ष जिसीले बताए । ‘विनय त्रिवेणीमा सुकुम्वासीको ठूलो समस्या छ । त्यो समस्यालाई हटाउन गाउँ सरकारको तहबाटमात्रै हुँदो रहेनछ,’ जिसीले भने, ‘राज्यबाटै सुकुम्वासीलाई पूर्जा दिलाउने काम रोक्का छ ।’

मुख्यस्रोत ढुंगागिटी र होङ्सी सिमेन्ट
विनयी त्रिवेणी गाउँपालिकाको विकास प्राथमिकता पहिलो सडक र पूर्वाधार नै हो । त्यसपछि सिँचाई, खानेपानी, कृषिमा छ । गाउँपालिकाको ५० करोड रुपैयाँ बजेट छ । त्यसैका आधारमा योजनाको वर्गीकरण गरेर काम गरिरहेको अध्यक्ष जिसी बताउँछन् । गाउँपालिकाको आम्दानीको मुख्य स्रोत भनेको ढुंगा, गिटी, बालुवा हो । गाउँपालिकाले गत आर्थिक वर्षमा मात्र ढुंगा, गिटी, बालुवाको टेन्डरबाट ७ करोड रुपैयाँ आम्दानी गर्‍यो ।

देशकै ठूलो सिमेन्ट कम्पनी होङ्सी यही गाउँपालिकामा पर्छ । होङ्सी सिमेन्टबाट गाउँपालिकालाई व्यवसाय कर आउँछ । होङ्सीबाटमात्रै ५५ लाख आम्दानी हुने उनी बताउँछन् । यीबाहेक अन्य आन्तरिक राजस्व स्रोत खासै नभएको उनले बताए ।

गाउँपालिकाले अधिकार क्षेत्रभित्रको कानुन निर्माण गर्ने काम गरेको जिसीको भनाइ छ । ‘जनताका दिनानुदिनका आवश्यकतासँग प्राथमिकताका आधारमा जोडिएका छौं,’ उनले भने । गाउँपालिकाले अहिलेसम्म ५ वटा ऐन र केही कार्यविधि बनाएको छ ।

साविकका ५ गाउँ विकास समिति मिलेर विनयी त्रिवेणी गाउँपालिका बनेको हो । दुम्किबास, बेनी मणिपुर, धुरकोट, राकाचुली र त्रिवेणी सुस्ता यसभित्र पर्छन् । भारतीय सीमासँग जोडिएको यो गाउँपालिकाको ३३ हजार जनसंख्या छ ।

तपाईको प्रतिक्रिया