संस्थागत रुपमा पर्यटन प्रवद्र्धनमा लाग्नुस्ः मन्त्री किरण

समाधान संवाददाता २०७६ असोज ३० गते १३:२९

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारको मुख ताक्नुभन्दा संस्थागत रुपमा पर्यटन प्रवद्र्धनमा लाग्न पर्यटन व्यवसायीलाई सुझाएका छन् । मन्त्री गुरुङले राज्यबाट सहुलियत खोज्नुभन्दा पनि आम नीति र सिद्धान्त अनुसार चल्न व्यवसायीलाई आग्रह गरेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको २६ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटन गर्दै मन्त्री गुरुङले व्यवसायमा नयाँ ढंगले सोच्न र योजनाबद्ध ढंगले पर्यटन प्रवद्र्धनमा लाग्न व्यवसायीलाई अनुरोध गरे । पर्यटन प्रवद्र्धनको सबै काम सरकारले गरोस् भनेर हँुदैन,’ मन्त्री गुरुङले भने, ‘पर्यटन व्यवसायीका संघ, संस्थाले संस्थागत रुपमा पर्यटन प्रवद्र्धनमा लाग्नु आवश्यक छ ।’

Advertisement

विदेशीको अनुदान र ऋणको भरमा देश उँभो लाग्न नसके जस्तै भिखारी र मगन्ते प्रवृत्तिले संघ, संस्था चल्न नसक्ने तर्क गर्दै मन्त्री गुरुङले बरु ऋण लिएर काम गर्न सुझाव दिए । उनले पदयात्रा व्यवसायलाई प्रवद्र्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्न टानलाई आग्रह गरे । ठाउँ ठाउँमा मोटर बाटो खन्दैमा पदयात्रा व्यवसायको महत्व नघट्ने दाबी गर्दै मन्त्री गुरुङले वातावरण सन्तुलनलाई ध्यान दिँदै नयाँ पदमार्गको सम्भावना खोज्नुपर्ने बताए ।

गण्डकी प्रदेश सरकारले पर्यटनको प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटन यातायात, हवाई, सञ्चार सुरक्षासँग समेत जोडिने धारणा राखे ।

Advertisement

साधारणसभाका अवसरमा सगरमाथाको उचाइ मापनकर्ता टोलीका सदस्य कस्कीका इञ्जिनियर खिमलाल गौतम, एचआइभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठ र पर्यटकको सुरक्षा र उद्धारमा खटिने पर्यटन प्रहरी कार्यालय बैदामका निरीक्षक भगवती तिमिल्सिनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा टान उत्कृष्ट पथ प्रदर्शक सुनीता गुरुङ र उत्कृष्ट फिल्ड कर्मचारी श्याम परियारलाई जनही १० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

कार्यक्रममा टानका केन्द्रीय अध्यक्ष खुमबहादुर सुवेदी, अन्नपूर्ण गाउँ पालिका म्याग्दीका अध्यक्ष डमबहादुर पुन, पर्यटन परिषद पोखराका अध्यक्ष चिरञ्जीवी पोखरेल, पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख काशीराज भण्डारी, टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटा, पूर्व अध्यक्ष वसन्तराज दवाडी लगायतले पर्यटनको मेरुदण्ड पदयात्रा व्यवसाय भएको बताए ।

पत्रकार कृष्णमणि सम्मानित
पत्रकार कृष्णमणि बराल उत्कृष्ट टान पत्रकार अवार्डबाट सम्मानित भएका छन् । टान पश्चिमाञ्चल क्षेत्रीय संघको साधारण सभामा बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, टान पोखराका अध्यक्ष हरि भुजेलले सम्मान पत्र र नगद १० हजारसहित सम्मान गरे । अन्नपूर्ण पोस्टमा कार्यरत बरालले नयाँ पर्यटकीय गन्तव्यको समाचार सम्पे्रषण गरी पदयात्रा पर्यटनको विकासमा योगदान दिएको भन्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया