पञ्चांग पात्राेमा गडबड भएकाे भन्दै नेवा खल कास्कीद्वारा कात्तिक १३ गते भाइटीका लगाउने निर्णय

समाधान संवाददाता २०७६ कार्तिक १ गते १३:५२

समाधान संवाददाता
पोखरा

नेवा खल कास्कीको बैठकले यस पटकको नेपाली पात्रोमा तिहारको तिथिमा त्रुटि रहेको भन्दै कात्तिक १३ गते भाइटीका लगाउने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चांग निर्णायक समितिले नेवार समुदायले मान्दै आएको नेपाल संवत् र म्ह पूजाको दिन पात्रोमा गडबड भएको जनाएको छ । यसका अलावा औंसीको दिनमा गरिने गाई पूजा तथा लक्ष्मी पूजा पनि औंसीको दिनमा नरहेकाले गडबडी पुष्टि भएको नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले बताए ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यसपटक यमपञ्चकका रुपमा मनाइने तिहारको पहिलो दिन कात्तिक ९ गते काग तिहार, १० गते कुकुर र लक्ष्मी तिहार छ । ११ गते औंसीका दिन भने म्ह पूजा र १२ गते न्हु दँ (नयाँ वर्ष) नेपाल संवत् ११४० र भाइटीका छ । यी तिथिहरु नेवार समुदायले मनाउँदै आएको स्वन्ति नखभन्दा ठीक विपरीत छन् ।

Advertisement

पालिखेले नेवार समुदायलाई समितिले प्रकाशित गरेको पात्रोको आधारमा नभई परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै ‘स्वन्ति’ मनाउन आह्वान गरे । उनले नेवार समुदायले औंसीकै दिन कात्तिक ११ गतेमात्रै लक्ष्मी पूजा गर्न आग्रह गरे । पात्रोमा भाइटीका रहेको प्रतिपदाको दिन कात्तिक १२ गते नेपाल संवत् र म्ह पूजा गरेर मात्रै द्वितीयाको दिन १३ गते बुधबार भाइटीका मनाउने पनि खलले निर्णय गरेको छ । ‘नेपाल भाषा मंका खलले पनि देशभरका नेवार समुदायलाई यही आग्रह गरेको छ,’ पालिखेले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशीले पनि परम्परागत रुपमै चल्दै आएको स्वन्तिलाई निरन्तरता दिन आग्रह गरेको हुनाले हामी सोही बमोजिम नै गर्दै छौं’ । नेवा खल कास्की अन्तर्गतका सम्पूर्ण कचा खल (शाखा)लाई पत्राचार नै गरी निर्णय अनुसार गर्न अनुरोध गरिएको छ । कात्तिक १३ गते भाइटीकाको दिन सार्वजनिक बिदाका लागि गण्डकी प्रदेश सरकारसँग आग्रह गरिने पालिखेले जानकारी दिए ।

संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठले नेवार समुदायले कौलागा औंसीको दिनमा लक्ष्मी पूजा गर्दै त्यसको भोलिपल्ट कछलाथ्व प्रतिपदाका दिन ‘न्हू दँ’ नेपाल संवत् तथा साँझ आत्मपूजा स्वरुप ‘म्हपूजा’ गर्ने परम्परा रहेको बताए । उनले त्यसको भोलिपल्ट कछलाथ्व द्वितीया अर्थात् नेपाल संवत्को दोस्रो दिनमात्रै भाइटीका मनाउँदै पर्सिपल्ट लक्ष्मीको फूल बिसर्जन गर्दै प्रसाद ग्रहण गरिने बताए ।

Advertisement

कात्तिक १२ गते नेपाल संवत् ११४० को स्वागतार्थ भिन्तुना र्‍याली आयोजना गरिने भएको छ । भिन्तुना ¥याली पोखराको न्युरोडबाट सुरु हुनेछ । नेवारी सांस्कृतिक नृत्य र झाँकीका साथ सुरु हुने र्‍याली पोखराका मुख्य बजार परिक्रमा गरी नेवा छेँ भीमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत हुनेछ ।

तपाईको प्रतिक्रिया