घरपझाेङमा पार्किङ शुल्क ५ गुणा बढी

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १३:५९

एसके थकाली
जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिकाभित्र मनोमानी पार्किङ शुल्क उठाउने गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउँपालिकाले तोकेको शुल्क उठाउने जिम्मा पाएका व्यक्तिले यहाँ भित्रिएका प्रत्येक सवारीसँग मनोमानी शुल्क असुलेको पाइएको हो ।

गाउँपालिकाले जोमसोमको पुथाङ एअरपोर्टदेखि दक्षिण करिब ३ सय किमीमा ४८ लाख खर्चिएर पार्किङ स्थल निर्माण गरेको छ । तर, पालिकाले पार्किङ स्थल निर्माण गरे पनि त्यहाँ चाहिने पूर्वाधार खानेपानी, शौचालय, सिसी टिभी र सुरक्षागार्डको व्यवस्था मिलाएको छैन । बिना पूर्वाधार २ वर्षअघि घरपझोङले पार्किङ ठेक्का व्यक्तिलाई टेन्डरमार्फत दिएको हो ।

Advertisement

जोमसोम बजार क्षेत्रमा कुनै सवारी पार्किङ स्थलसमेत छैनन् । पुथाङ एअरपोर्ट बजार क्षेत्रसाँघुरो छ भने जोमसोम गुम्बा नजिक जथाभावी राति गाडी राखिन्छन् । गाउँपालिकाले सवारी पार्किङको ठेक्का ४ लाखमा मुस्ताङका सुनील परियारलाई दिएको थियो । उनले मुस्ताङ प्रवेश गरेका सवारी साधनलाई पार्किङ शुल्क भन्दै मनोमानी पैसा उठाउने गरेको भेटिएको छ ।

गाउँपालिकाले पार्किङ शुल्कको सूचीसमेत उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार गाउँपालिकाले निर्माण गरेको पार्किङ स्थलमा सवारी राखेमा रात्रीकालीन समयमा बस, ट्रक ट्याक्टर, लोडर र डोजरको १ सय ५०, जिप, कार र भ्यानको १ सय शुल्क लाग्छ । मोटरसाइकलको २० रुपैयाँ शुल्क तोकिएको छ छ । छोटो अवधि तथा दिवाकालीन समयमा सवारी पार्किङवापत बस, ट्रक, ट्याक्टर, लोडर र डोजरको २०, जिप, कार, भ्यानको १० र मोटरसाइकलको ५ रुपैया पार्किङ शुल्क छ । प्रशासकीय अधिकृत पौडेलले गाउँपालिकाले तोकेको शुल्कभन्दा बढी शुल्क उठाइने गरेको उजुरी परेको जानकारी दिए । उनले पार्किङ शुल्क उठाउनेलाई कारवाही गरिने जनाए ।

Advertisement

पोखराबाट मुक्तिनाथ सवारी लिएर आएका चालक रामप्रसाद अधिकारीले पार्किङ शुल्क १ सय बुझाए । उनले रात्रीकालीन समयमा जोमसोम स्थित होटल प्राइडको पार्किङ स्थलमा सवारी राखेको भए पनि पार्किङ शुल्क उठाउनेले गुडिरहेको गाडी रोकेर शुल्क असुल गरेको गुनासो गरे । जोमसोममा हलुका सवारीलाई दिवा पार्किङ १० रुपैया तोकिए पनि गुडिरहेको सवारीबाट १ सय रुपैया असुल्नु सरासर ठगी भएको उनले बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जहाँ पायो, त्यही मनोमानी रुपमा पार्किङ शुल्क उठाउनु कानुन सम्मत नभएको बताए । यदाकदा पार्किङका बिषयमा जानकारी आएको उल्लेख गर्दै अर्यालले पार्किङ स्थलको कार्यान्वयन तथा पार्किङ शुल्कलाई पारदर्शी बनाउन सम्बन्धित गाउँपालिकालाई निर्देशन दिइएको उल्लेख गरे ।

पार्किङ शुल्क उठाउने ठेक्का लिएका परियारले भने गाउँपालिकाले पार्किङ व्यवस्थित गर्न नसकेको गुनासो गरेका छन् । उनले पालिकाले पार्किङ व्यवस्थित गरे पार्किङ स्थलमा बसेर पार्किङ उठाउन तयार रहेको जनाए । गाउँपालिकाले पार्किङ शुल्क व्यवस्थित गर्ने बिषयमा कुनै पत्रचार नगरेको जिल्ला ट्राफिक इन्चार्ज बद्रीनाथ शर्मा बताउँछन् । उनले गाउँपालिकाले निर्माण गरेको पार्किङ स्थल बाहेक कुनै पनि स्थानमा पार्किङ शुल्क उठाउन नपाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया