सेकुङ तालमा २ हिमालको प्रतिबिम्ब

समाधान संवाददाता २०७६ कार्तिक ८ गते १२:५६

एसके थकाली
जोमसोम

एउटै तालमा २ वटा हिमालको प्रतिबिम्ब विरल सौन्दर्य हो । यो कतिपयलाई अपत्यारिलो लाग्न सक्छ । मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका २ स्थित सेकुङ ताल पुगेपछि यो सत्य सावित हुन्छ ।

पश्चिमको धौलागिरी हिमाल र पूर्व कालिगण्डकी पारीको नीलगिरी हिमालका छायाँ तालमा देख्दा त्यहाँ पुग्ने जोकोही मोहित नहुने कुरै भएन । १ सय ५० लम्बाइ र करिब १ सय मिटर चौडाइ भएको यो ताल धौलागिरी आइस फलको फेदैमा छ । परापूर्व कालमा यस तालवरपर बस्ने गाउँलेले धौलागिरी हिमाललाई फेदमा चोखो पानी चढाउँदा प्राकृतिक बरदान स्वरुप ताल बनेको विश्वास गर्थे । त्यो समय धौलागिरीको फेदका २ ठाउँमा चाखोपानी चढाउँदा सेकुङ र भुतर्छो ताल उत्पत्ति भएको भन्ने किंवदन्ती छ ।

Advertisement

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन बेनी–जोमसोम सडकको पश्चिमतर्फ करिब २ हजार ८ सय मिटरमा सेकुङ र भुतर्छो ताल छन् । मुख्य सडककोे करिब २ किलोमिटर उकालो हिडेपछि सेकुङ ताल पुगिन्छ । उही उचाइमा धौलागिरीबाट बहने खोलापारी भुतर्छो ताल छ । पैदल हिड्दा अग्ला अग्ला सल्ला र धूपीका रुख र हरियालीले अनुपम आनन्द दिन्छन् ।

तालको पश्चिमतर्फ धौलागिरी र पूर्वतर्फ नियाल्दा नीलगिरी हिमाल देखिन्छन् । खडेरी पर्दा स्थानीयले लामाहरु राखेर पुस्तक पढी यहाँ पूजाआजा गर्ने गरेको संरक्षण व्यवस्थापन समिति थासाङ अध्यक्ष जीवन थकाली बताउँछन् । समग्र थासाङकै गौरव यी २ ताल संरक्षण र विकासमा सरोकारवाला निकाय लागिपरेको उनले बताए । यी तालमा स्थानीयले माछासमेत पालेका छन् ।

Advertisement

सेकुङ ताल दक्षिणतर्फ र भुतर्छो ताल उत्तरमा पर्छन् । घना सल्ला र धूपीका रुख भए पनि सेकुङ ताल खुला स्थानमा छ भने भुतर्छो जंगलको बीचमा छ । यहाँबाट याकचौरीका गोठहरु देखिन्छन् । तालआसपास रतुवा मृगको बासस्थान र चरा अवलोकनका लागि उपयुक्त भएको थासाङ गाउँपालिका २ का अध्यक्ष नरप्रसाद हिराचन बताउँछन् । ताल क्षेत्रकै आसपासमा प्रत्येक वर्ष चौरीको आलो रगत खाने मेलासमेत लाग्छ । तालमाथि र धौलागिरी आइस फलको फेदैमा हिमचितुवा, मृग, कस्तुरी, घोरल, नाउर, खरायो र विभिन्न प्रजातिका चराचुरुंगी अवलोकन गर्न सकिने वडा सदस्य गौतम शेरचनले जानकारी दिए ।

तालमाथि करिब बीचमा गुरुस्याङ्बो गुफा छ । यो गुफामा हरेक पूर्णिमामा पूजाआजा चल्छ । सेकुङ ताल, भुतर्छो ताल, धौलागिरी आइसफल, नाउरिकोट गाउ र धौलागिरी खर्कको प्राकृतिक सौन्दर्य नियाल्न विदेशी पर्यटक यहाँ आउने गरेका छन् । खर्कमा विभिन्न प्रकार हिमाली वनस्पति र जटिबुटीसमेत पाइन्छ ।

जोमसोम, मुक्तिनाथ, कोरलाम्म उल्लेख्य पर्यटक पुगे पनि यी ताल हेर्न आउनेको संख्या निकै कम छ । तालसम्म सडक पुर्‍याउन सके अवलोकन गर्न सहज हुने देखिन्छ । पछिल्लो समय मुस्ताङमा चलचित्र तथा म्युजिक भिडियो छायांकन हुने क्रम बढ्दो छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र संरक्षण व्यवस्थापन समिति थासाङले बिहीबार सेकुङ तथा भुतर्छो ताल सरसफाइ गरे । दुवै ताललाई मनोरम पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले पछिल्लो समय यहाँका सरोकारवाला लागिपरेका छन् । ताल सरसफामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङका सुरक्षाकर्मी सहभागी थिए । स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लब, निर्माण व्यवसायी र पत्रकार महासंघ मुस्ताङ शाखाको समेतको सहभागिता थियो । स्थानीय बुद्धिसिंह नेपालीले सामूहिक प्रयासले दुबै ताल सफा भएको बताए ।

सरसफाइ एक्याप जोमसोममा कार्यरत पर्यटन सहायक लालदेवी गुरुङले उद्घाटन गरेकी थिइन् । उनले सेकुङ र भुतर्छो ताल थासाङको गहना भएको उल्लेख गरिन् । तालको पूर्वाधार विकास र पर्यटन पूर्वद्र्धन विकासमा योगदान गर्न सके आयआर्जनको स्रोत बढ्ने दावी गरिन् । उनले आधुनिकतासंगै मानिस भौतिक विलासिता रुमलिएको उल्लेख गरिन् ।

थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचनले धौलागिरी क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्ने गाउँपालिकाको योजना सुनाइन् । उनले पर्यटकीय गन्तव्यको विकासले मात्र पर्यटन विकासमा टेवा पुग्ने उल्लेख गर्दै उपाध्यक्ष शेरचनले यसका लागि ३ तहको सरकारको समन्वय रहनु पर्ने जनाइन् ।

तपाईको प्रतिक्रिया