राेकिएन चितुवा आक्रमणः मृतकका परिवारलाई राहत

समाधान संवाददाता २०७६ कार्तिक १४ गते १४:४३

कृष्ण न्यौपाने
दमौली

चितुवाको आक्रमणमा परी सोमबार राति मृत्यु भएका तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका ७ वर्षिय ऋतिक रोकाको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । कार्यालयले मंगलबार मृतकको घरमै पुगेर किरियाखर्च स्वरुप ५० हजार राहत उपलब्ध गराएको हो ।
निमित्त डिभिजन वन प्रमुख बाबुराम उप्रेती र भानु नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर केसीले मृतकका मामा मिलन गैह्रेलाई उक्त रकम हस्तान्तरण गरेका छन् । चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई १० लाख राहत उपलब्ध गराइने निमित्त वन प्रमुख उप्रेतीले जानकारी दिए ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा १ लाखसम्म र मृत्यु भएमा परिवारलाई अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।
घरको आँगनबाटै लगेर चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको थियो । मृतक रोकाको शव घर भन्दा करिब १ सय मिटर टाढा जंगलमा भेटिएको थियो । मृतक बालकको कम्मरमुनिको भाग चितुवाले खाएको थियो ।

भानु नगरपालिका–२ का वडाध्यक्ष केसीले चितुवा नियन्त्रणका लागि सबै क्षेत्रबाट प्रयास भइरहेपनि चितुवा आक्रमण नरोकिएको बताए ।

Advertisement

मृतकका बुबा राजु रोका विगत ५÷६ वर्षदेखि बेपत्ता छन् । मृतकका आमा मजदूरी गर्छिन् । उनीहरु केही वर्षदेखि मामाघरमा बस्दै आएका थिए । सोमबार बिहान मात्रै भानु नगरपालिका–३ स्थित एक सामुदायिक वनमा थापिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो ।

चितुवाको आक्रमणबाट भानु नगरपालिका–१,२,३ र ४ मा डेढ वर्षको अवधिमा ६ बालबालिकाको मृत्यु भइसकेको छ । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र कात्तिक ११ गते भानु नगरपालिका–२ फुस्रेटारका ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया