अन्नपूर्ण फेदीमा नेपालकै पहिलो उद्धार केन्द्र

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १२:२७

समाधान संवाददाता
पोखरा

मर्दी हिमाल पदयात्रामा गएकी नेदरल्यान्डकी नागरिक कोरी भ्यान २०७४ माघ ८ गते बेपत्ता भइन् । उनको परिवार र नेपालको उद्धार टोलीले लाख कोसिस गर्दा पनि कोरी भेटिइनन् ।

२०७३ असोजमा मर्दी आधार शिविरबाटै इजरायली नागरिक अमित रिचम्यान हराए । गएको वर्ष चैत ६ गते जापानी नागरिक ६४ वर्षीय नाजासावा माजासीको अन्नपूर्ण पदयात्रामा भीरबाट लडेर ज्यान गयो ।

Advertisement

हिउँको पहिरोमा पुरिएर केही दिनअघि अन्नपूर्ण पदयात्रा जाँदै गरेका पोखरा पस्र्याङका १८ वर्षीय सञ्जय खनालको ज्यान गयो । अन्य ३ जना घाइते भए । २०७४ माघमा काठमाडौंकी दीपना उप्रेती अन्नपूर्ण पदयात्राकै क्रममा बेपत्ता भइन् । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकको ज्यान जाने, हराउने र दुर्घटनामा पर्नेहरुको सूची बनाउँदै जाने हो भने लामो हुन्छ ।

संसारकै उत्कृष्ट मानिने अन्नपूर्ण पदयात्रामा पर्यटकको चापमात्रै बढेको छैन, अंगभंग तथा परिवारका सदस्य गुमाउने दुखदायी घटना पनि घटिरहेका छन् । अब भने अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा जाने पर्यटक दुर्घटनामा परे बेलैमा उद्दार हुने भएको छ । अन्नपूर्ण क्षेत्रमा कसैको ज्यान गए शव कुनै महिनौं लाग्ने समस्या हट्ने भएको छ ।

Advertisement

किनकी अबदेखि पर्वतारोहण तथा पदयात्रामा आइपर्ने विपत र त्यसको जोखिम न्यूनीकरण गर्न अन्नपूर्ण क्षेत्रमा उद्धार केन्द्र स्थापना भएको छ । कोरियन टेलिकमको सहयोगमा गण्डकी प्रदेश, नेपाल पर्वतारोहण संघ र हुम हुङ्गिल हुमिन फाउन्डेनले अन्नपूर्ण उद्धार केन्द्र निर्माण गरेका हुन् ।

रेस्क्यु सेन्टरको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कोरियाली टेलिकमको टोलीले उद्घाटन गरेका छन् । यो उद्धार केन्द्रलाई नेपालकै अत्याधुनिक भनिएको छ । विपत्मा परेका पर्यटक तत्काल पत्ता लगाएर उद्धार केन्द्रबाट उद्धार गर्न सकिने नेपाल पर्वतारोहण संघले जनाएको छ ।

उद्धार केन्द्रले विशिष्ट किसिमको ड्रोनको प्रयोग गर्नेछ । इन्फारेड क्यामरामा ड्रोनबाट जीवित मानिस पत्ता लगाउने प्रविधि प्रयोग हुनेछ । ड्रोनमा सेन्सरसहित क्यामरा जडान हुन्छ र त्यसले मानिस जीवित रहेको संकेत दिनेछ र तत्काल उद्धार गर्न सकिनेछ ।

पर्यटकले पदयात्रामा जानुअघि ड्रोनको सेन्सरसँग सम्बन्धित डिभाइस् पनि लिएर जान सक्ने छन् । डिभाइस्मार्फत ट्र्याकिङ सिस्टमबाट पर्यटक रहेको स्थान र अवस्था पत्ता लाग्ने छ । आपतकालीन अवस्थामा ट्र्याकिङ सिस्टमले दिने संकेतमार्फत उद्धार गर्न सकिने छ ।

उद्धार केन्द्रबाट आपतकालीन अवस्थामा रहेका पर्यटकलाई औषधीदेखि १० केसीसम्म ड्रोनमार्फत उपलब्ध गराउन सकिनेछ । अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा विद्यालयसमेत निर्माण गरिरहेको कोरियाली टेलिकमको पहलमा उद्धार केन्द्र स्थापना भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्त लामाले बताए ।

‘अन्नपूर्ण क्षेत्रमा थुप्रै कोरियाली नागरिक पनि हराइरहेका छन् । त्योमात्र नभएर कोरियाको यो संस्थाले हिमाली क्षेत्रमा विभिन्न काम गर्दै आएको छ,’ संघका अध्यक्ष लामाले भने, ‘अन्नपूर्ण आधार शिविरमा स्थापना भएको यस्तो उद्धार केन्द्र नेपालमै पहिलो हो ।’

उद्धार केन्द्र सञ्चालनका लागि स्थानीयलाई आधारभूत तालिम दिने, गाइड, होटलका कर्मचारीको सहकार्यमा आपतकालीन अवस्थाका पर्यटकलाई तत्काल उद्धार गरिने अध्यक्ष लामाले जानकारी दिए । उद्धार खर्चका लागि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा बास्केट फन्ट सञ्चालन गरिनेछ ।

कोरियाली टेलिकम र नेपाल पर्वतारोहण संघले उद्धार केन्द्रको सञ्चालन गर्नेछन् । टेलिकमले दुई वर्षसम्म सञ्चालन र जनशक्ति उत्पादन गर्ने काम गर्नेछ । त्यसपछि भने नेपाल पर्वतारोहण संघले सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता हुनेछ ।

उद्धार केन्द्रमा जडित अत्याधुनिक प्रविधिको प्रयोगले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने र नेपालका पदयात्रा सुरक्षित छ भन्ने सन्देश दिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ छ ।

‘हामीले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने भनेका छौं । अहिले अन्तरिक भ्रमण वर्ष मनाइरहेको छौं भने आगामी वर्ष छिमेकी भ्रमण वर्ष मनाउँछौं,’ मुख्यमन्त्री पृथ्वीसुब्बाले भने, ‘विश्वकै चर्चितमात्रै होइन सबैभन्दा आकर्षण भएको ठाउँ अन्नपूर्ण पदयात्रा हो । अब अझै बढी पर्यटक ढुक्क भएर अन्नपूर्ण पदयात्रामा आउने छन् ।’

अन्नपूर्ण हिमाल सगरमाथाभन्दा पनि पहिले आरोहण गरिएको हिमाल हो । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण साउथ हिमालको आरोहण गरेका थिए । अन्नपूर्ण पदयात्रामा पर्यटकको आकर्षण बढे पनि आरोहण भने नगन्य छ । त्यही हिमालको आधार शिविरमा स्थापना भएको उद्धार केन्द्रले अन्नपूर्ण आरोहण पनि सुरक्षित छ भन्ने सन्देश जाने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया