३० महिनामा ७ उजुरी

समाधान संवाददाता २०७६ कार्तिक २६ गते १३:५६

फोटोः चुमनुब्री गाउँपालिकाका उपाध्यक्ष कुमारी गुरुङ

मोहसिन अलि मियाँ
गोरखा

चुमनुब्री गाउँपालिकाको न्यायिक समितिमा हालसम्म ७ वटामात्रै उजुरी परेका छन् । २०७४ वैशाखमा स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएपश्चात् गठन भएको समितिमा ३० महिना बितेको छ । यस अवधिमा सबै उजुरी मिलापत्र गराइएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

‘हामीकहाँ उजुरी नै पर्दैन, परिहाले २÷३ महिनामा १÷२ वटा पर्ने हो,’ गाउँपालिकाका उपाध्यक्ष कुमारी गुरुङले भनिन् ‘हामी आएकै ३० महिनामा जम्मा ६÷७ वटा मात्रै उजुरी परेका छन्, सबै उजुरी समितिले नै मिलाएर पठाएको छ ।’

सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा लिखित उजुरी दिने प्रचलन नै कम छ । अधिकांश गुरुङ, घले, लामा लगायतका जातिको बसोबास रहेको यस पालिकामा हुने गरेका विवाद प्राय गाउँमै मिल्ने गरेका छन् । ‘अधिकांश झगडा गाउँमै लामा बसेर मिलाउँछन्’ समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष गुरुङले भनिन् ‘हामीकहाँ छिटपुट आइपुग्ने हो, आएपछि एउटा छलफलबाटै केस मिल्ने अवस्था छ ।’

Advertisement

विशेषगरी छोडपत्र, घरायसी झगडा, घरजग्गा विवाद, सिमाना लगायतका विवादका मात्रै उजुरी आएको उनी बताउँछिन् । भौगोलिक विकटता रहेको यस गाउँपालिकाको केन्द्र सिर्दिबासमा छ । चुमनुब्री गाउँपालिकामा हुने गरेका विवाद न्यायिक समितिमा मात्रै होइन, प्रहरी चौकीमा पनि पुग्दैनन् ‘न्यायिक समितिमा मात्रै होइन, उजुरी प्रहरी चौकीमा पनि खासै पर्दैनन्’ उपाध्यक्ष गुरुङले भनिन् ‘माथिल्लो वडाका झगडा गाउँ मै मिल्छन्, कतिपय वडा कार्यालयसम्म आइपुग्छन्, त्यहाँभन्दा माथि जाँदैन ।’

गाउँपालिकाले वडाका प्रतिनिधिलाई मेलमिलाप तालिम दिएपछि त झनै उजुरी शून्य भएको छ । प्रत्येक वडाबाट वडाध्यक्ष, महिला समूह, अगुवा, गुम्बाका लामा लगायतलाई गाउँपालिकाले तालिम दिएको थियो । ‘विवाद मिलाउन सहज होस् भनेर सबै गाउँका अगुवालाई मेलमिलाप तालिम दियौं,’ उनले भनिन्, ‘अब फेरि १ हप्ताको तालिम राख्दै छाैं, त्यसपछि विवाद समाधान गर्न गाउँका लामालाई थप सहज हुने हाम्रो अनुमान छ ।’

माथिल्लो क्षेत्रका प्रहरी चौकीमा उजुरी नै पर्दैनन् । २०२४ सालमा स्थापना भएको सीमा प्रहरी चौकी छेकम्पारमा हालसम्म एउटा पनि लिखित उजुरी परेको तथ्यांक छैन । प्रहरी चौकी रहेका अन्य स्थान जगत, सिर्दिबास लगायत गाउँ क्षेत्रका चौकीमा समेत उजुरी आउँदैनन् ।

तपाईको प्रतिक्रिया