स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

समाधान संवाददाता २०७६ मंसिर २ गते १३:५६

कृष्ण न्यौपाने
दमौली

जिल्लाका ४ स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) परियोजना लागु भएको छ । व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना लागु भएको हो ।

परियोजना सञ्चालनका लागि आइतबार परामर्शदाता संस्थासँग सम्बन्धित पालिकाका प्रमुखहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । त्यस अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ र म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले परामर्शदाता संस्था ग्रामीण सशक्तीकरण समाजका अध्यक्ष सीतादेवी गुरुङसँग सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Advertisement

नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास (स्वीस इन्टर कोअपरेशनसको प्राविधिक सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने तेश्रो चरणको सुरक्षित आप्रवासन ‘सामी’ परियोजना सञ्चालनका लागि जिल्लामा सहयोगी संस्थामार्फत काम गर्ने सहमति भएको व्यास नगरपालिकाका प्रमुख न्यौपानेले जानकारी दिए ।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन तेस्रो परियोजना (सामी) परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्किएका युवाका लागि सामाजिक पुनस्र्थापना लगायत कार्यक्रम सञ्चालन गरिने सामी हेल्भाटस परियोजनाका गण्डकी प्रदेश संयोजक उमा शर्माले जानकारी दिइन् ।

Advertisement

शर्माका अनुसार सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्र स्थापना गर्ने, जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना अभिवृद्धि गर्ने जस्ता काम परियोजना मार्फत् सञ्चालन गरिनेछ ।

परियोजनाका लागि चार वटा स्थानीय तहमा २४ जना कर्मचारी खटिनेछन् । व्यास नगरपालिकामा ७, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा ५÷५ जना कर्मचारी परियोजना अन्तर्गत खटिने परियोजनाका फोकल पर्सन एवं व्यास नगरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले वैदेशिक रोजगारमा जान चाहनेहरुले सही सूचना र सीप लिएर मात्रै जानुपर्नेमा जोड दिँदै त्यसका लागि परियोजना सञ्चालन हुन लागेकोले प्रशासन कार्यालयको तर्फबाट परियोजनालाई पूर्ण रुपमा सहयोग हुने प्रतिबद्धता जनाए ।

नेपालका ३९ वटा जिल्लामा यो परियोजना लागु भएको छ । वार्षिक ५ हजारभन्दा बढी श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा जाने जिल्ला छनौट गरी परियोजना सञ्चालन गरिएको बताइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार तनहुँबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको सङ्ख्या १४ हजारभन्दा बढी छ ।

परियोजना सञ्चालनपछि ती स्थानीय तहका वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषहरु आफ्नो वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जानकार हुने, वैदेशिक रोजगारीका क्रममा ठगी वा शोषणमा परेका पीडित आप्रवासी कामदारलाई कानुनी उपचार तथा यस सम्बन्धी अन्य सेवा प्राप्त हुने परियोजनाको मुख्य उद्देश्य रहेको ग्रामीण सशक्तीकरण समाजका अध्यक्ष सीतादेवी गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया