जुनियर ओपन टेनिस प्रतियोगितामा पोखराका स्पन्दनलाई स्वर्ण पदक

समाधान संवाददाता २०७६ मंसिर ४ गते १३:५७

समाधान संवाददाता
पोखरा

१२ औं राष्ट्रव्यापी अन्तरविद्यालय जुनियर ओपन टेनिस प्रतियोगिताको उपाधि पोखराका स्पन्दन उदासले जितेका छन् । कात्तिक २४ देखि मंसिर १ गतेसम्म काठमाडाै‌ंमा भएको प्रतियोगिताको ८ वर्षमुनिको उमेर समूहमा फूलबारी मन्टेसरी कटेज, नदीपुरका स्पन्दन उदासले स्वर्ण पदक हात पारेका हुन् ।

लिटिल एन्जल्स विद्यालय ललितपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा देशका विभिन्न विद्यालयबाट प्रतिस्पर्धामा ८ वर्षमुनिको उमेर समूहका ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उदासले स्वर्ण पदक जितेका हुन् । विगत १२ वर्षदेखि उक्त प्रतियोगिता सञ्चालन हुँदै आएको छ । फाइनल खेलमा उदासले अन्डर ८ नम्बर १ श्रेणी खेलाडी असभ हाडालाई १०–१, ८–१० र १०–६ को सेटमा पराजित गरेका थिए ।

Advertisement

स्पन्दनको खेलप्रतिको लगनशीलता, विद्यालयको गृहकार्य सँगसँगै खेलको कडा मेहनत, कोच निरज गुरुङ र गोविन्द अछामीको दैनिक कडा प्रशिक्षण, कास्की जिल्ला टेनिस संघको सहयोग साथै विद्यालय परिवारको उत्प्रेरणा पनि विजयको आधार भएको स्पन्दनका बुबा गौतम उदासले बताए ।

प्रतियोगिताको १४ वर्षमुनिको उमेर समूहमा युगलतर्फ गण्डकी बोर्डिङ स्कुलका नेहालजंग थापा र शाश्वत बज्राचार्यको जोडीले कास्य पदक, सिंगलतर्फ समता विद्यालयका सौगात विकले कास्य पदक, १२ वर्षमुनिको उमेर समूह सिंगलतर्फ गण्डकी बोर्डिङ स्कुलका दर्शिल श्रेष्ठले कास्य पदक प्राप्त गरे ।

Advertisement

पोखराका विद्यालयमध्येबाट प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलका गिर्वाण थापा, हृदय केसी, आर्या तझ्या, शिशु निकेतन माविका सदिक भट्टराई र कुमुदिनी होम्सका सम्यक शिल्पकार अनि फूलबारी मन्टेसरी कटेजका केविड मल्लले प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया