शुक्लागण्डकीका सडकमा अध्यारा सौर्य बत्ती !

समाधान संवाददाता २०७६ मंसिर ५ गते १४:०८

राजन उपाध्याय
दुलेगौंडा

शुक्लागण्डकी नगरपालिकाका मुख्य बजारमा राखिएका धेरैजसो सौर्य सडक बत्ती बिग्रेका छन् । दुलेगौंडा, कोत्रे र खैरेनीटार क्षेत्रमा ४ वर्षअघि बत्ती जडान गरिएको थियो ।

तत्कालीन स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा २ आर्थिक वर्षमा १ सय ३६ वटा सोलार बत्ती राखिएका थिए । आर्थिक वर्ष २०७२÷०७३ मा ६८ र आव ०७३÷०७४ मा ६८ वटा पोलमा राखिएका हुन् । सुरुमा दुलेगौंडामा ४० र २८ वटा खैरेनीटारमा बत्ती राखिएको नगरपालिकाका इन्जनियर तारापति भट्टराईले बताए । दोस्रो वर्ष पनि त्यति नै बत्ती थप गरिएको थियो । दुलेगौैंडा र कोत्रेमा ८० र खैरेनीटार क्षेत्रमा ५६ स्थानमा सोलार बत्ती छन् ।

Advertisement

सौर्य सडक बत्ती सञ्चालन कार्यविधि २०७२ अनुसार बत्ती राखिएको भट्टराईले बताए । ‘दुबै स्थानमा उपभोक्ता समिति गठन गरी सोलार बत्ती राखिएको हो,’ उनले भने, ‘प्रतिपोल १ लाख १ हजार रुपैयाँ परेको छ ।’ १ करोड ४९ लाख ६ हजार लागतमा १ सय ३६ वटा सोलार बत्ती राखिएको हो । यसमा १५ प्रतिशत नगरपालिका र २० प्रतिशत उपभोक्ताले व्यहोरेका हुन् । सौर्य बत्ती ५० मिटरमा छन् । सोलार प्यानलबाट ब्याट्री चार्ज भएर बल्छन् । बत्ती ‘सेल्फ सिस्टम’ का हुन् ।

सौर्य सडक बत्ती उपभोक्ता समिति खैरेनीटारका तत्कालीन अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जडान गरिएको ६ महिनापछि बत्ती बोल्न छाडको सुनाए । पहिलो वर्ष राखिएका सौर्य बत्ती बिग्रिएका हुन् । पछिल्लो वर्ष राखिएका बत्तीमा भने कुनै समस्या छैन । ‘हामीले बत्ती बिग्रने बित्तिकै नगरपालिकालाई जानकारी गराएका हौं । त्यति बेला जनप्रतिनिधि आइसकेका थिएनन्,’ उनले भने, ‘हामी भनिरहेका छौं, तर टेरेका छैनन् ।’ बत्तीको ५ वर्ष वारेन्टी छ ।

Advertisement

सौर्य सडक बत्ती उपभोक्ता समिति दुलेगौंडाका तत्कालीन अध्यक्ष ज्ञानप्रसाद भण्डारीले बत्तीको विषयलाई लिएर ४ पटकसम्म नगरपालिकाको ध्यानाकर्षण गराएको बताए । ‘हामीले पटक पटक ठेकेदारलाई झिकाएर काम गर्न दबाब दिएका छौं,’ उनले भने, ‘तर खै ४ वर्ष हुन लागिसक्यो, मर्मत हुन सकेको छैन ।’ पहिलो वर्ष काइनेक्टिक इनर्जी प्रालि काठमाडौंले बत्ती जडान गरेको हो । दोस्रो वर्ष दीप लाइट इनर्जीले जडान गरेको ई. भट्टराईले बताए ।
डेढ वर्षदेखि नै बत्ती बोल्न छोडको स्थानीयको गुनासो छ । बिग्रेको लामो समय बित्तिसक्दा पनि मर्मत नहँुदा स्थानीयले आक्रोश पोखेका छन् । राजमार्गका छेउछाउमा राखिएका अधिकांश बत्ती नबोलेको स्थानीय लक्ष्मी सिग्देलले गुनासो गरिन् । ‘कुनै केही समय बोल्छन्, अधिकांश राति ११ बजेपछि बल्दै बोल्दैनन्,’ उनले भनिन्, ‘रातका लागि राखिएका सौर्य बत्ती नबोलेपछि यसको के अर्थ ?’

कतिपय ठाउँका सोलार प्यानलसमेत हराएका छन् । भीमसेन टोलका खिमनारायण मल्लले भने, ‘टोलमा सोलार बत्ती नबोल्दा राति हिड्न पनि डर लाग्छ ।’ यता, काइनेक्टिक इनर्जीका मनोज कोइरालाले भने १ हप्त भित्र बिग्रेका बत्ती बल्ने दाबी गरे । ‘हामीले मर्मतका लागि १३ वटा पोलका ब्याट्री निकालेर लगेका छौं,’ उनले थपे, ‘आगामी १ हप्ताभित्र ती बत्ती बल्ने छन् ।’ उनले नगरपालिकाबाट करिब ४ लाख भुक्तानी लिन बाँकी रहेको सुनाए । ‘हामी काम गर्दै जान्छौं, बाँकी भुक्तानी पनि नगरपालिकाले गर्नुपर्छ,’ उनले थपे ।

तपाईको प्रतिक्रिया