पोखरामा हुने १३ औं सागको अफिसियल वेबसाइट र एप उद्घाटन

समाधान संवाददाता २०७६ मंसिर ६ गते १२:२२

समाधान संवाददाता
पोखरा

आसन्न १३ औं दक्षिण यसियाली खेलकुद (साग) मा पोखराबाट हुने खेलका लागि अफिसियल वेबसाइट र मोबाइल एप बिहीबारदेखि सुरुआत भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार १३ औं साग मिडिया सेन्टरबाट ‘अफिसियल वेबसाइट र एप’ उद्घाटन गरेका हुन् ।

मुख्य आयोजक समितिले काठमाडौंमा कात्तिक ३० गते एक कार्यक्रम आयोजना गरी केन्द्रीय बेवसाइटको उद्घाटन गरेको थियो । १५ दिने काउन्टडाउनसहित उद्घाटन भएको ५ दिनपछि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले आफ्नै वेबसाइट उद्घाटन गरेको हो । बेवसाइट र मोबाइल एप जिरोवान टेक्नोलोजीलेल डिजाइन गरेको हो ।

Advertisement

‘यो पोखरामा हुने खेलबारे तत्काल अपडेट गर्न बनाइएको वेबसाइट र एप हो,’ एप निर्माण कम्पनीका आइटी इन्जिनियर बाबुराम नेपालीलाई भने, ‘तर, यसमा पोखरामा हुने खेलमात्रै होइन । काठमाडौंमा र जनकपुरमा हुने खेलबारे पनि जानकारी लि सकिन्छ ।’ उनले वेब र एपमा खेल तालिकाका साथै खेल हुने स्थान र पुग्न सकिने नक्सासमेत उपलब्ध गराइएकाले दर्शकलाई पनि सजिलो हुने बताए ।

वेबसाइटका लागि अंग्रेजीमा एसएजी २०१९ डट ओरजी टाइप गरेर खोज्न सकिन्छ । अफिसियल मोबाइल एप अहिले एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताका लागिमात्रै उपलब्ध गराइएको र आइओएसका लागि तयारी भइरहेको अर्का आइटी इन्जिनिएर सूर्य पौडेलले जानकारी दिए । ‘अहिले हामी प्रारम्भिक चरणमा छौं । केही सुधारसहित एप्पल युजर्सका लागि पनि मोबाइल एप चाँडै लन्च गर्छौं,’ उनले भने ।

Advertisement

मंसिर १५ देखि २५ गतेसम्म हुने साग खेल पोखरामा ९, जनकपुरमा १ र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ । प्रतियोगिताका लागि अहिले पोखरा रंगशालाको प्राविधिक तथा भौतिक पूर्वाधार तीब्र रुपमा अघि बढाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन लगायतको टोलीले बिहीबार नै रंगशालाको निरीक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया