पाथर्दीका घर घरै धारा

समाधान संवाददाता २०७६ मंसिर १२ गते १३:४१

कृष्ण न्यौपाने
दमौली

तनहुँको भीमाद नगरपालिका ९ पाथर्दीमा श्रीमाया आलेले घरबास सञ्चालन गरेकी छन् । घरबासमा बस्न पाहुना आउँदा आलेलाई एकमात्र चिन्ता हुन्थ्योः पानीको ।

आलेको घरमा खानेपानी धारा थिएन । आलेको घरमा मात्र होइन पाथर्दीका ५३ घरधुरीमा नै अहिलेसम्म खानेपानी धारा जडान भएको थिएन । ‘पाहुनालाई नुवाउन, मुख धुन पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सँधै सताइरहन्थ्यो,’ आलेले भनिन्, ‘तैपनि सार्वजनिक धारा र कुवाबाट पानी बोकेर ल्याएर भए पनि अहिलेसम्म पानीको व्यवस्था गरिरहेकी थिएँ ।’ सोमबारबाट घरमै खानेपानी धारा जडान भएपछि आलेलाई पानीको जोहो गर्ने समस्याबाट मुक्ति मिलेको छ । साथसाथै घरबास चलाउन पनि अब सहज हुने अनुभूति आलेले गरेकी छन् ।

Advertisement

घरबास सञ्चालक केशकुमारी थापाले घरमा धारा जडान नहुँदा आधा घण्टा हिँडेर सार्वजनिक धारा र कुवाबाट पानीको जोहो गर्दै आएकी थिइन् । अब खानेपानी व्यवस्थाका लागि थापालाई अन्यत्र जानु पर्दैन, घरमै धारा खोलेपछि पानी आउँछ । ‘आधा घण्टा हिडेरसार्वजनिक धारामा पुगेर पानी ल्याउँथ्यौं,’ थापाले भनिन्, ‘घरमै धारा आएपछि खानेपानीको समस्याबाट मुक्ति पायौं ।’

श्रीमाया र केशकुमारी जस्तै पाथर्दीका ५३ घरधुरीमा घर घरमै धारा जडान भएपछि यहाँका स्थानीय वर्षौदेखिको खानेपानी समस्याबाट मुक्ति पाएका छन् । ५३ घरधुरीमध्ये यहाँको १० घरधुरीमा गत वर्षदेखि घरबास सञ्चालन गरिएको छ । घर घरमै खानेपानी धारा जडान भएपछि घरबास सञ्चालकले अब आफूहरुलाई घरबास चलाउन सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

Advertisement

पाथर्दीका शिवकुमार आले, इमानसिं थापा, मोहन राना, शिवबहादुर राना, श्रीराम आले, मोतीसरा थापा, देवी मोक्तान आले र लालबहादुर रानाले घरबास सञ्चालन गरिरहेका छन् । खानेपानीको अभावले घरबास सञ्चालनमा कठिनाई परिरहे पनि खानेपानी सुविधा पुगेसँगै अब घरबास चलाउन सहज हुने विश्वास गरिएको पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए ।

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको रुपमा छनोट भएको पाथर्दीमा गण्डकी प्रदेश सरकारको सहयोगमा गहतेखोला पाथर्दीखोला खानेपानी आयोजना सम्पन्न भएपछि ५३ घरधुुरीका २ सय ७० जना लाभान्वित भएका छन् । प्रदेश सरकारको ३६ लाख ६३ हजार ४ सय ८१ र स्थानीय उपभोक्ताको १० लाख २० हजार ४ सय १३ गरी ४६ लाख ८३ हजार ८ सय ४९ को लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

आयोजनाको डिपिआर तयार गर्दा ६६ लाख ३१ हजार २ सय ८६ लागत अनुमान गरिए पनि अनुमानभन्दा कम लागतमै आयोजना निर्माण सम्पन्न भएको तिमिल्सिनाले बताए । खानेपानी वितरणका लागि ३ वटा इन्टेक र ३ वटा ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको प्रशारण लाइन ३ हजार ४ सय ८० मिटर र वितरण लाइन १ हजार १ सय ९० मिटर लामो छ ।

पम्पिङ प्रणाली भएकाले कतै मूलबाट सिधै र कतै पम्पिङमार्फत् खानेपानी सुविधा पुर्‍याइएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर रानाले जानकारी दिए । आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नका लागि कोष निर्माण गरिनेछ । रानाका अनुसार सोही कोषबाट आयोजनाको मर्मत सम्भार गरिनेछ ।

निर्माण सम्पन्न भएको आयोजना खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आयोजना उद्घाटन गर्दै खानेपानी सुविधा नपुगेका प्रदेशका सबै बस्तीमा खानेपानी सुविधा पुर्‍याइने बताए ।

तपाईको प्रतिक्रिया