चिसाे बढेपछि उपल्लो मुस्ताङका प्रहरी चौकी अस्थायी मर्ज

समाधान संवाददाता २०७६ मंसिर १३ गते १२:०२

एसके थकाली
मुस्ताङ

चिसो बढेसँगै उपल्लो मुस्ताङका प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालयमा अस्थायी मर्ज गरिएको छ । चिसोकै कारण जिल्लाको निर्देशनमा उपल्लो मुस्ताङका छोन्हुप प्रहरी चौकी, सुर्खाङ प्रहरी चौकी, घमी प्रहरी चौकी र छोसेर प्रहरी चौकीलाई अस्थायी मर्ज गरिएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

चिसो बढेसँगै उपल्लो मुस्ताङका ग्रामीण बस्ती सुनसान बनेका छन् भने लोमन्थाङका केही होटल व्यवसायी र वृद्धवृद्धा गाउँमै चिसो सहँदै बसेका छन् । उपल्लो मुस्ताङको चुमजुङ, समजुङ, छोनुप, छोसेर, सुर्खाङ लगायतका गाउँहरु रित्तै छन् । गाउँमा पशुचौपाया रेखदेख गर्ने केहीबाहेक गाउँका सबै युवा तन्नेरी बेंसी झरेको एक्याप लोमन्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार हिउँको चिसो छल्न लोमन्थाङ गाउँपालिकाका ८५ प्रतिशत स्थानीय बेंसी झरेको बताए । उपल्लो मुस्ताङका बस्ती सुनसान हुन थालेपछि त्यहाँ कार्यरत प्रहरी चौकीलाई जिल्लामा ल्याएको हो । उच्च हिमाली भूगोलमा चिसो थेग्ने पूर्वाधारको अभाव छ । उपल्लो मुस्ताङबाट बर्सेनि प्रहरी चौकीलाई जिल्लामा मर्ज गर्ने परम्परालाई यसपटक पनि निरन्तरता दिइएको प्रनाउ कार्कीले बताए ।

Advertisement

उपल्लो मुस्ताङका प्रहरी चौकी जिल्ला झारिए पनि लोमन्थाङ र चराङ प्रहरी चौकीलाई साविक अनुसार नै राखिएको प्रनाउ कार्कीले जानकारी दिए । उनका अनुसार लोमन्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिको केन्द्र रहेका कारण सुरक्षा अवस्थालाई ध्यानमा राखी यथास्थानमा राखिएको हो ।

उपल्लो मुस्ताङमा प्रहरीलाई चाहिने दैनिक उपभोग्य वस्तु र इन्धन खरिदमा समेत समस्या पर्ने गर्छ । उपल्लो मुस्ताङमा कार्यरत सुरक्षाकर्मीलाई सरकारले चिसो छल्न न्यानो कपडासमेत उपलब्ध नगराएकाले पनि सुरक्षाकर्मी बेंसी झर्न बाध्य हुनु परेको कार्कीले बताए । उनले उपल्लो मुस्ताङका ४ दर्जन सुरक्षाकर्मी जिल्लामा फर्किएको बताउँदै बेंसी झरेका सुरक्षाकर्मीको पुनस्र्थापना चैत्रमा हुने बताए । चैतमा बेंसी झरेका स्थानीयसमेत गाउँ फर्कन्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया