साइक्लिङ गर्न मुस्ताङ

समाधान संवाददाता २०७६ मंसिर १५ गते १३:५१

एसके थकाली
जोमसोम

पछिल्लो समय साइकल चढेर मुस्ताङ पुग्नेहरु बढेका छन् । साइक्लिङ पर्यटक बढ्न थालेको छ । साइक्लिङका लागि पर्यटक मुस्ताङ आउने क्रम बढेको हो । यहाँ २ थरीका साइक्लिङ गरिन्छ ः पदमार्ग साइक्लिङ र सडक मार्ग साइक्लिङ ।

सडक सञ्जाल स्तरोन्नति भएपछि साइक्लिङका सौखिनको रोजाइ मुस्ताङ बनेको हो । मुस्ताङमा साइक्लिङ गर्न आउने पर्यटकले साइकल फोल्ड गरी जहाजमा जोमसोम ल्याउँछन् भने कतिपय म्याग्दीको तातोपानी, जोमसोम र मुक्तिनाथमा साइकल भाडा लिन्छन् ।

Advertisement

जोमसोममा विदेशी पर्यटकलाई लक्षित गरी मुक्तिनाथ साइक्लिङ रेन्टल खोलिएको छ । तातोपानी, मुक्तिनाथ र जोमसोमका साइक्लिङ व्यवसायीको समन्वयमा रेनिङ सेन्टर खोलिएको युङडुङ छेवाङ गुरुङले जानकारी दिए । व्यवसायीको समन्वयमा पर्यटकको सहजताका लागि १ ट्रान्जिटबाट अर्को स्थानमा साइकल बुझाउन सक्छन् । मुस्ताङको मनोरम प्राकृतिक भूगोल अवलोकन गर्न सजिलो पर्ने भएकाले पर्यटकमा साइक्लिङ मोह बढेको गुरुङले उल्लेख गरे ।

मुस्ताङमा अफस्ट्रिम साइक्लिङ र डाउन स्ट्रिम साइक्लिङ हुने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए । उनले उपल्लो मुस्ताङमा डाउन स्ट्रिम पर्यटक आउने गरेको बताए । डाउन स्ट्रिम साइक्लिङ यात्रामा पर्यटकले साइकल गाडीमा राखेर लैजाने र फर्कदा साइक्लिङ गर्ने गरेका छन् ।

Advertisement

मुस्ताङमा साइक्लिङ गर्नेको यकीन तथ्यांक छैन । नेपाली पर्यटक मोटरसाइकल चढेर आउने गरे पनि केहीले भने साइक्लिङ नै गर्ने गरेको पाइएको छ । विदेशी पर्यटकले भने सडक मार्ग छोडेर पदमार्ग सडकमा साहसिक खेलको मज्जा लिने गरेका छन् । समुन्द्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा गरिने साइकल यात्रा हाइअल्टिच्युड खेलजस्तै हुने गर्छ । एक साताअघि मुक्तिनाथदेखि पदमार्ग साइक्लिङ यात्रा गरी जोमसोम झरेका स्कटल्यान्डका नागरिक मोरिक जेम्सले यो यात्राले फरक अनुभूति दिलाएको उल्लेख गरे । मुस्ताङमा नेपाली सेनाले साहसिक रक, रनिङ र साइक्लिङ प्रतियोगिता गर्दै आएको छ । साहसिक खेलको विकास र पर्यटन प्रर्वद्धनमा यस प्रकारका इभेन्टले सघाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए ।

तपाईको प्रतिक्रिया