जलवायु परिवर्तनले बस्ती विस्थापित

समाधान संवाददाता २०७६ मंसिर १५ गते १५:०५

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती विकट गाउँ समजुङका १८ घरधुरी विगत २ वर्षदेखि छोसेर तल नमसुङमा बसाई सरेका छन् । विश्वमै बढ्दै गएको जलवायु परिवर्तनको असरले समजुङबासी प्रभावित भएपछि बसाईसराई गरेका हुन् ।

जलवायु परिवर्तनको असरले जिवन शैलीमा नकारात्मक प्रभाव परेको, अन्नवाली उत्पादनमा हस आएको र पानी श्रोत सुक्दै गएपछि बस्ती बिस्थापित भएको हो । बिस्थापित समजुङका १८ घरधुरीको बस्ती नमसुङमा सरेको छ । बस्तीमा सडक समेत पुर्‍याईएको छ । समजुङमा विगत केही वर्षयता जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको छ ।

Advertisement

परम्परागत रुपमा गरिने खेतीमा पानीको श्रोत सुक्दै गएपछि सिचाईको अभाव खट्किएको हो । त्यसो त वर्षको एक पटक गरिने खेती पनि हुन छाडेपछि समजुङबासीले मुस्ताङी राजाको सहयोग मागेका थिए । उनीहरुले आफुहरु लोछेदिन समुदायको भएकाले उपल्लो मुस्ताङमै आश्रय दिन राजा समक्ष अनुरोध गरेका थिए । यसपछि दिंवगत मुस्ताङी राजा जिग्मे पलवर बिष्ट समजुङबासीलाई नमसुङमा बस्ती बसाएका थिए ।

मुस्ताङी राजाकै निगाहामा समजुङबासीलाई १ सय रोपनी जग्गा उपलब्ध गराईएको थियो । प्राप्त जग्गामा उनीहरुले घरटहरा र खेती गर्न थालेको मुस्ताङी युवराज जिग्मेसिङ्मी पलवर बिष्टले जानकारी दिए । युवराज बिष्टका अनुसार सुरुआती वर्षमा खेती कम हुने गरेपनि बिस्तारै खेती हुन थालेकाले उनीहरु खुसी हुन थालेको उल्लेख गरे ।

Advertisement

बिस्थापित समजुङ बस्ती सरेपनि पशुपालन व्यवसाय भने उनीहरुले साविक समजुङमै गरेका छन् । पर्याप्त चरनक्षेत्र रहेकाले सामुहिक रुपमा पशुपालन व्यवसाय गर्ने गरेको र बस्ने र खेतीपातीको काम भने नमसुङमा सुरु गरेको युवराज बिष्टको भनाई छ । अहिले समुजुङका १८ घरधुरी पूनस्थापित बस्तीमा छन् ।पूर्व मुस्ताङी राजाले उक्त जग्गा उपलब्ध गराएका हुन् भने आवास बस्ती निर्माण भने विदेशी सहयोगी निकायको सहयोगमा लोमान्थाङ गाउपालिकाका वडाअध्यक्ष नवाङ कुञ्ज लामाले पहल गरेका हुन् ।

बिस्थापित समजुङका स्थानीय पासाङ वाङ्दी गुरुङले मुस्ताङी राजाले जग्गा दिएकाले नमसुङमा सरेको बताए । उनले जलवायु परिवर्तनको असरले गाउँमा पानीको श्रोत अभावले खेती हुन छाडेकाले बस्ती सर्न परेको स्पष्ट पारे । राजाले आफुहरुलाई जग्गा दिएको र नवाङ कुञ्ज लामाकोे पहलमा नयाँ बस्ती निर्माण भएको उनको भनाई थियो । उनले आफुहरुको पूख्यौली थलो उपल्लो मुस्ताङी भएकाले उपल्लो मुस्ताङमै बस्ने राजालाई ईच्छ्या व्यक्त गरेपछि राजाबाट जग्गा पाएको खुलाए ।

फोटो क्याप्सन ः जलवायु परिवर्तनले सिचाई हुन छाडेपछि समजुङ बस्ती नमसुङमा । तस्विर ःएसके थकाली ।

तपाईको प्रतिक्रिया