म्याग्दीका दुर्गम बस्तीमा बिजुली

समाधान संवाददाता २०७६ मंसिर १८ गते १३:५१

राकेश शर्मा
म्याग्दी

म्याग्दीको धवलागिरी गाउँपालिका ७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरण र धवलागिरी गाउँपालिकाको सहयोगमा बुधबारदेखि यहाँ बिजुली बलेको हो ।

साबिक ताकम गाविसको ८ नम्बर वडामा पर्ने मच्छिमका १ सय १२ र काफलडाँडाका ४२ घरमा बिजुली बलेको ताकम विद्युतिकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिए । यसअघि ताकम, हिलापोखरी र शिवाङका ३ सय ५० घरमा बिजुली बलिसकेको छ ।

Advertisement

बिजुली पुगेपछि स्थानीयमा खुसीयाली छाएको काफलडाँडाका बालकृष्ण आचार्यले बताए । उज्यालोका साथै विभिन्न उद्योग, व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको शिक्षक हेमराज शर्माले बताए । स्थानीयले खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् । फर्निचर, ब्लक, राइस मिल, कुखुरापालन गर्ने सोच पनि बनाएका छन् । यसअघि उज्यालोका लागि यहाँका बासिन्दाले पेल्ट्रिक सेट, सोलार र टुकी प्रयोग गर्थे । ताकम विद्युतीकरण योजना मार्फत ५ सय ५२ घरमा विद्युतीकरण गर्ने लक्ष्य थियो ।

आरखोला टोल, मतिखण्ड र छिटपुट ४२ घरबाहेक वडाका सबै बस्तीमा विद्युतीकरण भएको सचिव थापाले बताए । आरखोलामा पनि बिजुली बाल्ने तयारी भएको छ । यसअघि धारापानीमा २ सय १ घरमा गत वर्ष गाउँपालिकामै पहिलो पटक विद्युतीकरण भएको थियो । ताकम विद्युतीकरण धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको गौरवको आयोजना भएको वडा अध्यक्ष कलानिधि सुवेदीले बताए । विद्युत प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो ।

Advertisement

गाउँपालिकाबाट गत आर्थिक वर्षमा बिनियोजन भएको ८० लाख रुपैयाँमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरिद गरेका थिए । धवलागिरी गाउँपालिकामा विद्युतीकरणका लागि संघीय सरकारले गत वर्ष विनियोजन गरेको ४ करोड ५० लाखमा २ वटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । पहिलो चरणमा ढुंगाना निर्माण सेवा र दोस्रो चरणमा आचार्य निर्माण सेवाले ठेक्का पाएका थिए ।

दुवै कम्पनीमार्फत ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४ सय १७ वटा पोल गाड्ने, ५ ट्रान्सफर्मर ढुवानी गर्ने र करिब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनका तार तानिएको प्राधिकरण बेनी वितरण केन्द्रका इन्जिनियर हेमराज चापागाईले बताए । ताकमका साथै मुना हुँदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको छ । यस वर्ष प्रदेश सरकारले धवलागिरी गाउँपालिकामा विद्युतीकरणका लागि २ करोड ८१ लाख विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया