नयाँ साइकल नपाएको झोंकमा विजेता !

समाधान संवाददाता २०७६ मंसिर १९ गते १५:०८

तस्बिरः युनिश गुरुङ

विकास रोकामगर
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) क्यालेन्डरमा जम्मा १ महिना बाँकी थियो । ट्रायथोलनमा खेलाडी सोनी गुरुङ सागमा ‘रजत’ पदकको सपना देखिरहेकी थिइन् । तर, अभ्यास गर्न उनीसँग साइकल थिएन । तर, ट्रायथोलनमा सबैभन्दा आवश्यक पर्ने साधन भने साइकल नै हो ।

Advertisement

खेल आउन करिब २७ दिन बाँकी थियो । उनको अगाडि थोत्रो साइकल देखा पर्‍यो । र भनियो, ‘यो साइकलले अभ्यास गर्दै गर । नयाँ साइकल चाँडै आउँछ ।’ राज्यका कर्मचारीले नै भनेपछि उनले नपत्याउने कुरै थिएन । आज्ञाकारी बच्चा बनिन् र भनिन्, ‘हवस्, तर चाँडै है ! यो साइकल त चलाउन पनि नसकिने गरी पुरानो भइसकेको छ ।’

साँच्चै साइकलको अवस्था चलाउन सक्ने अवस्थामा थिएन । सन् २०१४ मा किनिएको साइकल कसैले नचलाएपछि ‘जाम’ भएर बसेको थियो । टायरमा हावा थिएन । ट्युब चिस्सिएर कोक्रो परिसकेको थियो । झट्ट हेर्दा कुनै कवाडीखानाबाट सीधै उठाएर ल्याएको जस्तो ।

Advertisement

सोनीको सपना रजतमै अडिएको थियो । साइकल पुरानै भए पनि अभ्यासका लागि दिइएको थियो । बिस्तारै उठाइन्, धुलो टक्टक्याइन्, माकुरोको जालो फ्याँकिन् । हावा भरिन् । र बिस्तारै चलाउन थालिन् । ‘तर, कहाँ चल्नु ? सुरुमा त हेर्नै नसक्ने गरी जाम भएको साइकल पाएका थियौं,’ उनले भनिन्, ‘पछि आफैं बनाएपछि अलिअलि काम चलाउ भयो ।’

क्यालेन्डरका गते जति बढ्दै गयो, त्यति नै अनुपातमा साग आउने दिन पनि नजिकिँदै गयो । तर, नयाँ साइकल आउने कुनै छाँटकाँट देखिएन । सोचेकी थिइन् अझै केही दिन बाँकी छ । आफ्नै देशमा साग आयोजना हुँदै छ । कसो नआउला र नयाँ साइकल ? उनी विश्वासमै पुरानो साइकलको प्याडल घुमाउँदै अभ्यासमा मस्त भइन् ।

तर, सोनीको विश्वास पूरा भएन । साग आउने अघिल्लो दिनसम्म पनि नयाँ साइकल पाइनन् । नयाँ साइकल त पाइनन् तर, ‘नयाँ साइकल आउँदै छ है’ भन्ने आश्वासन भने निरन्तर पाइरहिन् । ‘जतिबेला सोधे पनि आउँछ, आउँछ जवाफमात्रै पायौं । खै कसले ल्यायो कि बाटोबाटै लग्यो थाहै भएन,’ समाधानसँग उनले दुखेसो पोखिन् ।

नयाँ साइकल आउँदैन भन्ने थाहा पाएपछि भने सोनीले रजत पदकको सपना तुहाइन् । तर, अर्को प्रतिज्ञा गरिन्, ‘यो देशले एउटा साइकल पनि पत्याएन । अब यही थोत्रो साइकलले स्वर्ण पदक जितेर देखाइदिन्छु ।’ उसो त नयाँ साइकल नपाए पनि नयाँ टायर र ट्युबमात्रै भए पनि उनले माग गरेकी थिइन् । त्यो भने प्रतियोगिताको अघिल्लो दिनमात्रै पोखरा आइपुग्यो ।

‘मैले चलाएको साइकलको ट्युब नेपालमा पाइँदैन । विदेशबाटै मगाउनुपर्छ । त्यो ट्युब फेरेर पनि केही दिन चलाएरमात्र प्रतियोगितामा लैजान योग्य हुन्छ,’ सोनीले भनिन्, ‘तर, प्रतियोगिताको अघिल्लो दिन पाएको नयाँ ट्युब पनि फेरिनँ । पुरानै साइकलमा हावा भरेर प्रतिस्पर्धामा गएँ ।’

सोनीको त्यही पुरानो साइकलको थोत्रो प्याडल घुमाउँदै प्रतिस्पर्धामा होमिइन् । नेपालका लागि स्वर्ण पदक दिलाएरै छाडिन् । उनले पाएको स्वर्ण पदक जारी १३ औं सागमा दोस्रो थियो । ‘स्वर्ण त सोचेकी थिइनँ । तर, नयाँ साइकल नपाएको झोंकमा विजेता बनें,’ उनले भनिन् ।

पुरानो ट्युबका कारण बाटोभरि ‘टायर पन्चड हुन्छ कि !’ भन्ने डर लागिरहेको उनी सुनाउँछिन् । ‘ट्रायथोलनमा दौड, पौडी र साइक्लिङमध्ये सबैभन्दा बढी इफोर्ट साइकलमै लगाउनुपर्छ,’ उनले भनिन्, ‘साइकल पुरानो भएकै कारण अरुमा ८० प्रतिशत इफोर्ट लगाएँ भने १२० प्रतिशत इफोर्ट साइकलमा लगाउनुप¥यो ।’ उनी नयाँ साइकल भएको भए अझै राम्रो नतिजा निकाल्न सक्ने सुनाइन् ।

ट्रायथोलन खेलाडी सोनी गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एउटा स्वर्ण र महिला मिक्स रिले ट्रायथोलनमा रजत पदक जितेकी छिन् । जारी १३ औं सागमा नेपालले २ स्वर्णसहित ६ पदक जितेर उत्कृष्ट प्रदर्शन गरेको छ ।

तपाईको प्रतिक्रिया