‘मोजाको बलले फुटबल सिकायोः साम्बा

समाधान संवाददाता २०७६ मंसिर २० गते १२:४३

तस्बिरः युनिश गुरुङ÷समाधान

विकास रोकामगर
पोखरा

लमजुङको एउटा साधारण पाम गाउँ । त्यही पामचोक गाउँमा पहिलो पटक साम्बाले दाइहरुलाई मोजाको बल लात्ताले हिर्काउँदै खेलेको देखेकी थिइन् । दिनदिनै तिनै दाइहरुको छेउ गएर खेल हेर्थिन्, फर्किन्थिन् । १ दिन तिनै दाइको समूहको १ जना दाइले आग्रह गरे, ‘तिमी पनि आऊ फुटबल खेल्न ।’

Advertisement

मोजाको ‘नेपाली फुटबल’ खुट्टाले पहिलो पटक हिर्काएपछि उनलाई रमाइलो लाग्यो । र दिनदिनै खेल्न सुरु गरिन् । गाउँको घर, घरपिच्छे गाईवस्तु । र, तिनै गाईवस्तुलाई घाँसदाउरा र स्कुल भ्याएर घर आइपुग्दा उज्यालो पर्तिर देखिने क्षितिज पार गर्नै आँटेको हुन्थ्यो ।

तर, साम्बाको मनमा भने फुटबलको हुट्हुटी भने उज्यालिँदै जान्थ्यो । साँझमा डुब्दै गरेको घामको वास्ता गर्थिनन् र तिनै दाइहरुको बीचमा भकुन्डो हिर्काउन जान्थिन् । ‘स्कुलबाट घर आइपुग्दा मसँग खेल्न करिब १५ मिनेटमात्रै बाँकी हुन्थ्यो । तर, त्यही १५ मिनेटमा पनि खुब चाख लगाएर खेल्थें,’ उनी सुनाउँछिन् ।

Advertisement

१÷२ दिन तिनै दाइहरुसँग फुटबल खेल्दा कसैले केही भनेन् । तर, जब उनी दिनहुँ त्यसैमा तल्लिन हुन थालिन्, गाउँघर, छिमेकीका कुरा उनको परिवारको ‘कान फुक्न’ आइपुग्यो, ‘ओई ! तिमारुकी छोरी बिग्रेली है ! बेलैमा ख्याल राख् । हेर कसरी केटारुसँग बल खेल्दै हिँड्छे ।’

त्यतिबेला गाउँमा सबैभन्दा चर्चित थियो, मिस्टर युड नामको फुटबल । त्यही चाम्रो बल केटाहरुसँगै हिर्काउँदै उनी खेल्थिन् । ‘केटाहरुसँगखेल्दा मलाईचाहिँ केही भनेनन् । तर, घरमा आएर मम्मीबाबालाई कुरा लगाउँथे,’ उनी भन्छिन्, ‘तर, उनीहरुको कुरालाई मैले कहिल्यै सुन्नतिर लागिनँ ।’

२०७० को त्यो दसैं…
‘दाइहरुसँगै बल खाली खुट्टाले बल खेल्थें । हाम्रो गाउँमा महिला फुटबल प्रतियोगिता हुँदैन थियो, साम्बा उर्फ सावित्रा नोस्टाल्जिक बन्छिन्, ‘तर, त्यही बेला लमजुङ घले गाउँमा महिला फुटबल टुर्नामेन्ट भयो । म गाउँबाट खेल्न जाने भएँ ।’

उनले त्यो प्रतियोगितामा आफ्ना स्कुलका साथीहरुलाई बटुलेर लगेकी थिइन् । ‘स्थानीय प्रतियोगिता हो । खेल्छु फर्किन्छु’ सुरुमा यही सोच थियो, साम्बाको । तर, भइदियो अर्कै, प्रतियोगितामा भेट भए, एन्फा रेफ्री शुक्र लामा । ‘आदरणीय दाइ शुक्र लामासँगको भेट नै मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो,’ उनी भन्छिन् ।

लामाले साम्बाको खेल मन पराएपछि उनी काठमाडौं आइन्, २०७१ मा फुटबलकै लागि । काठमाडौं आएपछि मात्रै उनले थाहा पाइन्, ‘फुटबल खेल्न पनि छुट्टै जुत्ता हुँदो रहेछ । सामान बोक्न झोला पनि हुँदो रहेछ !’ काठमाडौंमा पहिलो पटक बल खेल्न जाँदा प्लास्टिकको झोलामा जुत्ता कोचेर गएको तीतो अनुभव उनीसँग छ ।

काठमाडौंमा सुरुमा खेल्न सघाउनेमा एपीएफका सिनिएर खेलाडी थिए, जमुना गुरुङ, अनु लामा । ‘गाउँमा कुनै पनि ट्रेनिङ लिएकी थिइनँ । पहिलोे पटक मलाई रत्नकाजी महर्जनले ट्रेनिङ दिनुभो,’ उनी सुनाउँछिन्, ‘उहाँहरुको ट्रेनिङले नै एपीएफको टिममा परेकी थिएँ ।’

७१ सालमै प्रधानसेनापति महिला राष्ट्रिय लिग कप भयो । त्यही लिगबाटै उनले राष्ट्रिय खेलयात्रा सुरुआत गरिन् । त्यतिबेला पनि उनको सिनियर प्लेयरमा अनु लामा नै थिइन् । २०१४ मै पाकिस्तानमा भएको तेस्रो साफ च्याम्पियनसिपमा उनले डेब्यू गरिन् । ‘सब्सिट्युट खेलाडीमा थिएँ । खेलको ८५ औं मिनेटमा मैदान छिरें र फस्ट टचमै गोल गर्न सफल भएँ,’ उनी सम्झिन्छिन्, ‘डेब्यू गेममै डेब्यू गोल गरेपछि मलाई प्लस प्वाइन्ट भयो ।’ त्यसपछि उनले पछि फर्केर हेर्नु परेन ।

अनु लामाकै कीर्तिमान भंग
अनु लामा साम्बाकी सिनियर खेलाडी हुन् । अनुको नाममा हालसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा ३५ गोलसहित सर्वाधिक गोलकर्ताको नाम छ । तर, पोखरामा भइरहेको १३ औं साग अन्तर्गतको महिला फुटबल प्रतियोगितामा भने उनले अनुकै कीर्तिमानलाई भंगमात्रै गरिनन्, प्रतियोगिताकै पहिलो ह्याट्रिक दिँदै ३ गोलले पछि पनि पारिन् ।

‘यो प्रतियोगितामा पहिलो म्याचमै नयाँ कीर्तिमान बनाउँछु भनेर सोचेकी थिएँ । तर, पूरा हुन पाएन,’ उनले भनिन्, ‘तर, त्यो मौकालाई मैले क्याच गर्न सकिनँ ।’ उनले माल्दिभ्सविरुद्धको खेलमा ४ देखि ५ गोलसम्मको लक्ष्य राखेको तर, पूरा गर्न चुकेको खुलाइन् ।

‘भारतसँग बदला लिन्छौं’
दक्षिण एसियाली खेलकुद (साग) मा सावित्राले जितेर देखाइदिने बताउँछिन् । नेपालले शनिबार भारतसँग समूह चरणको अन्तिम म्याच खेल्दै छ । स्मरणीय कुरा के छ भने दुवै टिम शीर्षस्थानमा भएकाले दुबै फाइनलमा पनि भेटिनेछन् ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी हरि खड्काले प्रशिक्षकको जिम्मा लिइसकेपछि नेपाल र भारत ३ पटक भिडे । त्यसमध्ये १ खेलमा भारतले जित्यो, १ खेल बराबरीमा रोकियो र १ खेलमा नेपालले जीत हात पार्‍यो । तर, यसपटक उनी जसरी पनि खेल जित्ने दाउमा देखिन्छिन् । ‘१२ औं सागमा होम ग्राउन्डमा भारतले हामीलाई जितेको थियो । नेपालमा भएको साफमा हामीले जितेका थियौं,’ उनी भन्छिन्, ‘अब गृह मैदानमा अघिल्लो सागको बद्ला लिनेछौं ।’

तपाईको प्रतिक्रिया