चाँडै बिजुलीका तार अन्डर ग्राउन्ड

समाधान संवाददाता २०७६ पुष २ गते ११:५४

समाधान संवाददाता
पोखरा

२०७४ साउन २६ गते मोटरसाइकल चलाइरहेका विष्णु बस्ताकोटीमाथि बिजुलीको नांगो तार खस्यो । पोखरा ११ रानीपौवामा भएको घटनामा गम्भीर घाइते भएका बस्ताकोटीको ३ महिनापछि कात्तिक १७ गते उपचारकै क्रममा निधन भयो ।

मानिसको ज्यानसमेत लिने अस्तव्यस्त बिजुलीका तारले पोखराको सुन्दरतामात्र बिगारेका छैनन्, दुर्घटनाको जोखिम पनि बढाएका छन् । ठूला सवारी सञ्चालन र हुरी, बतास आउँदा पनि दुर्घटनाको जोखिम छ । स्मार्टसिटीको अवधारणा अघि सारेको पोखरा महानगरले सडकमा रहेका बिजुलीका तार अन्डरग्राउन्ड गर्न पहल थालेको छ ।

Advertisement

मेयर मानबहादुर जिसीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग यसबारे छलफल गरेका छन् । अघिल्लो आर्थिक वर्ष तार अन्डरग्राउन्ड गर्न ५ करोड विनियोजन गरेको महानगरले प्राविधिक सहयोग नपाउँदा त्यो बजेट फ्रिज भयो । मेयर जिसीले पोखरालाई स्मार्ट सहर बनाउन बिजुलीका तार अन्डरग्राउन्ड, स्मार्ट ग्रिड सडक बत्ती जडान, चार्जिङ स्टेसन निर्माण र ट्रान्सफर्मरहरु व्यवस्थापन जरुरी रहेकाले यसका लागि पहल गर्न प्रबन्ध निर्देशक घिसिङलाई आग्रह गरेका छन् ।

घिसिङले प्राधिकरण विभिन्न तहका सरकारसँग सहकार्य गर्ने योजनामा रहेको उल्लेख गरे । पोखरामा बिजुलीका तार अन्डरग्राउन्ड गर्न यही वर्ष प्रक्रिया अघि बढाउने उनले प्रतिवद्धता जनाए । घिसिङले फेवा ट्रान्सफर्मर बनाउँदा सुरुआतमै तार अन्डरग्राउन्ड गरिने जानकारी दिए ।

Advertisement

पोखरा महानगरले जग्गा उपलब्ध गराए यसै आर्थिक वर्षभित्रै विद्युतीय गाडीका लागि यहाँ चार्जिङ स्टेसन बनाउने प्रतिबद्धता घिसिङले गरे । उनले मिस्टर टेस्टिङ ल्याब र पोल बनाउने उद्योगसमेत यस क्षेत्रमा खोल्ने योजना सुनाउँदै जग्गा व्यवस्थापनका लागि जिसीसँग आग्रह गरे ।

पोखराका सडकमा अहिले सोलार बत्ती राखिएको छ । देशमै पर्याप्त बिजुली उत्पादन हुन लागेकाले महानगरले बिजुलीबाटै चल्ने सडक बत्ती राख्ने योजना बनाएको हो । मेयर जिसीले भने, ‘यसो गर्न हाम्रोमात्रै क्षमताले भ्याउँदैन । प्राधिकरणलाई हामी पनि सहकार्य गर्छाै भनी यसका लागि प्रस्ताव गरेका छौं ।’

जिसीले सोलार सडक बत्ती सोलार मर्मत गर्न २, ४ करोड लाग्ने र पैसा पनि बिदेसिने भएकाले बिजुलीबाटै चल्ने बत्ती राख्न लागिएको उल्लेख गरे । उनले थपे, ‘उज्यालो पोखरा बनाउन मुख्य स्थानमा यसैपालि बत्ती राख्ने सोचमा छौं । कमसेकम यो वर्ष विपीचोकबाट सभागृहचोकसम्म यस्तो बत्ती राख्छौं ।’ दिउँसो निभ्ने, राति बल्ने, गाडी, मान्छे नजिक हुँदा चहकिलो हुने, नहुँदा डिम हुने स्मार्ट बत्ती राख्न छलफल भएको मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

बिहान प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङसँगको बैठकपछि आइतबारै महानगरले स्मार्ट ग्रिड सडक बत्ती जडानका लागि सहयोग र समन्वय गरिदिन नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया