फिल्म हेर्ने अनि समीक्षा गर्ने !

समाधान संवाददाता २०७६ पुष ६ गते १२:५७

युवराज गुरुङ ‘युनिश’
पोखरा

पोखरालाई पर्यटकीय राजधानीका रुपमा चर्चा भइरहँदा पछिल्लो समय यसलाई फिल्म नगरीका रुपमा पनि अघि लैजाने बहस सुरु हँदैछ । औपचारिक रुपमा घोषणा नभए पनि यहाँ आउने कला तथा सिनेकर्मीले अनौपचारिक आत्मसात् भने गरिसकेको मान्न सकिन्छ ।

नेपालमा बन्ने कम बजेटका फिल्मदेखि महँगा बजेटका फिल्मसम्मका गन्तव्यसमेत पोखरा हुन थालेका छन् । फिल्मकर्मीहरु काठमाडौंपछि पोखरालाई फिल्म क्षेत्रको राम्रो बजारका रुपमा हेर्दछन् । तर, काठमाडौंमा फिल्म सम्बन्धी पठनपाठन तथा विचारविमर्श, समीक्षा सुरु भइसक्दा पनि पोखरा त्यस मामिलामा पछि परेको देखिन्छ ।

Advertisement

फिल्म प्रदर्शन र त्यस फिल्मबारे पोखरामा कमै कार्यक्रम भएका छन् । जति भएका छन्, त्यसले फिल्म क्षेत्रमा कस्तो प्रभाव पारे त ? त्यसको लेखा कसैले राखेको छैन । तर, अब भने पोखरामा नियमित रुपमा विभिन्न फिल्म प्रदर्शन र समीक्षा कार्यक्रम हुने भएको छ । यसको सुरुआत गरेका छन्, पोखरा थियटरको सहकार्यमा पोखरा फिल्म सोसाइटी र गुरुङ फिल्म एसोसियसनले ।

हरेक महिनाको पहिलो शनिबार गन्धर्व नाटक घरमा अबदेखि नियमित फिल्म प्रदर्शन र त्यसको समीक्षा हुने भएको छ । शनिबार बिहान नाटक घरमा चिनियाँ फिल्म ‘द रोड होम’ प्रदर्शन भएको छ । चिनियाँ उपन्यासकार बओसीद्वारा लिखित उपन्यास रिमेम ब्रान्च कृतिमा आधारित फिल्म प्रदर्शन गरिएको हो ।

Advertisement

पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधान, गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष भोजबहादुर गुरुङ र पोखरा थियटरका अध्यक्ष परिवर्तनले चलचित्र विकास बोर्डका अध्यक्ष स्व. केशव भट्टराईको फोटोमा माल्यार्पण गर्दै कार्यक्रमको सुरुआत गरे । फिल्म प्रदर्शनपछि रंगकर्मी अनुप बरालले फिल्मबारे समीक्षा गरे ।

पोखरामा फिल्म समीक्षाको कमी भएको र त्यसको सरुआत भएकोमा रंगकर्मी बरालले खुसी व्यक्त गरे । उनले भने, ‘पोखरामा फिल्म धेरै हेरिन्छ । तर, त्यस अनुपातमा कम समीक्षा हुन्छ,’ उनले भने, ‘चलचित्र हेर्ने र त्यसको समीक्षा गर्ने कार्यक्रम सुरु हुनु आफैंमा राम्रो कुरा हो ।’

पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान फिल्म हेर्ने माहोल बनाउन पनि कार्यक्रमले भूमिका खेल्ने बताए । उनले भने, ‘राम्रो फिल्म सबैले हेर्नुपर्छ । तर, त्यसका विविध पाटोबारे दर्शकले पनि जान्नु आवश्यक हुन्छ ।’ उनले फिल्म हेर्नेमात्रै नभएर फिल्मसँग सम्बन्धित कुरा पनि दर्शकले जानकारी राख्नुपर्ने आवश्यक रहेको सुनाए ।

गुरुङ फिल्म एसोसियसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले फिल्म समीक्षा गर्ने संस्कृतिको सुरुआतले चलचित्र क्षेत्रमा सकारात्मक ऊर्जा थपिने बताए । उनले चलचित्र बुझ्ने र त्यसलाई समीक्षात्मक ढंगले प्रस्तुत गर्न पनि कार्यक्रम सुरु गरिएको सुनाए । उनले भने, ‘यसबाट संस्कृतिसँग जोडिएका फिल्महरु पनि प्राज्ञिक व्यक्तित्वलाई देखाउन सजिलो हुन्छ ।’

पोखरा थियटरका अध्यक्ष परिवर्तनले चलचित्रबारे समीक्षा र अन्तक्र्रिया कार्यक्रम गर्नेबारे १ वर्षअघिबाटै योजना बनाए पनि अहिलेमात्रै सम्भव भएको जनाए । उनले भने, ‘फिल्म समीक्षा गर्ने संस्कृतिको सुरुआत गर्न लागेका छौं । अब अन्तर्राष्ट्रियमात्रै होइन, हाम्रै स्थानीय जातजाति, भाषाधर्मसँग सम्बन्धित फिल्म प्रदर्शन र समीक्षा गर्ने योजना बनाएका छौं ।’

तपाईको प्रतिक्रिया