महानगरका कर्मचारी उमेर ढँटुवा

विकास रोकामगर
पोखरा
पोखरा महानगरका केही कर्मचारीले २ थरी प्रमाणपत्र पेश गरेर जागिर खाएको भेटिएको छ । महानगर सेवाबाट अवकास लिने समयमा ती कर्मचारीको २ थरी शैक्षिक प्रमाणपत्र र नागरिकता पेस गरेको खुलेको हो ।
२ थरी नागरिकता हुनेमा सहायक एकबहादुर बस्नेत र वसन्तप्रसाद चालिसे छन् । बस्नेतको पहिलो नागरिकतामा जन्ममिति २०१७ असार ३२ गते छ । तर, उनले पछिल्लो पटक महानगरमा पेस गरेको नागरिकतामा २०१८ मंसिर ३१ गते उल्लेख गरिएको छ ।
कर्मचारी ऐन अन्तर्गत दोहोरो कागजपत्र भएमा अघिल्लो प्रमाणपत्रलाई स्वीकृत गरिन्छ । बस्नेतको अघिल्लो नागरिकतामा उल्लेख भएको जन्ममितिलाई आधार मान्ने हो भने उनले गत वर्ष नै अवकाश पाइसक्नुपर्ने थियो । तर, पछिल्लो नागरिकतामा कायम भएको मितिले उनले १ वर्ष ४ महिना बढी महानगरबाट तलब बुझेका छन् ।
दोहोरो जन्ममिति र नागरिकता हुने अर्का कर्मचारी वसन्तप्रसाद चालिसे हुन् । उनी महानगरमा वरिष्ठ नगर प्रहरी निरीक्षक छन् । उनको पहिलो नागरिकतामा जन्ममिति २०१७ फागुन ५ गते उल्लेख छ । तर, उनले पछिल्लो पटक महानगरमा पेस गरेको कागजातमा जन्ममिति २०१९ चैत २७ गते छ । उनको अघिल्लो प्रमाणपत्रको जन्ममितिलाई आधार मान्ने हो भने उनले सेवा निवृत्त हुने अवघिपछि पनि ९ महिना बढी महानगरबाट सेवा, सुविधा लिइसकेका छन् ।
महानगरको कारबाही
२ थरी नागरिकता र जन्ममिति पेस गरेर महानगरमा जागिर खाएका र सेवा निवृत्त भइसकेपछि पनि तलब भत्ता बुझिरहेका २ जनालाई महानगरले कारबाही गरेको छ । कारबाही पर्नेमा एकबहादुर बस्नेत र लोकराज घिमिरे छन् । प्रथम तहका कर्मचारी घिमिरेले अवकास पाइसकेपछि पनि महानगरबाट सेवा, सुविधा लिइरहेको खुलेको थियो ।
‘अघिल्लो प्रमाणपत्रको मितिलाई आधार मानेर अवकास दिइसकेका छौं,’ महानगर प्रमुख मानबहादुर जिसीले भने, ‘२ कर्मचारीको सेवा निवृतपश्चात पनि खाइपाई आएको सेवा, सुविधा फिर्ता हुन्छ ।’ उनले नक्कली कागजात पेश गरी सरकारी सेवा, सुविधा लिन कसैलाई पनि छुट नहुने प्रष्ट पारे ।
फरक जन्ममिति पेस गरेर महानगरमा जागिर खाइरहेका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्तप्रसाद चालिसेलाई भने कारबाही गरिएको छैन । कारबाहीमा पर्ने बस्नेत र घिमिरे वडामा कार्यरत थिए भने चालिसे महानगरमा । महानगरकै १ उच्च अधिकारी चालिसेलाई के कारबाही गर्नेबारे छलफल चलिरहेको बताउँछन् । ‘वडाका साना कर्मचारीलाई तत्काल कारबाही गरिएको छ । तर, महानगरमै कार्यरत कर्मचारीलाई भने अझै कारबाही गरिएको छैन,’ उनले भने, ‘हेरौं प्रक्रियामा छ, के कारबाही हुन्छ ।’
११ नगर प्रहरी अख्तियार फन्दामा
१ पछि अर्का कर्मचारीले पेस गरेका प्रमाणपत्र २ गरी देखिएपछि ११ जना नगर प्रहरी अख्तियारको फन्दामा परेका छन् । दोहोरो प्रमाणपत्र पेस गरेर जागिर आएको अख्तियारमा उजुरी परेपछि उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले नगर प्रहरीको दोहोरो कागजातबारे अख्तियारले अनुसन्धान गरिरहेको जानकारी दिए । ‘ती नगर प्रहरीको बढुवाको क्रममा २ थरी कागजात भएको खुलेको होे । त्यसपछि अख्तियारमा उजुरी पर्यो,’ सुवेदीले भने, ‘त्यो विषय अहिले अनुसन्धानको प्रक्रियामा रहेकाले नगर प्रहरीको नाम गोप्य राखेका छौं ।’
तपाईको प्रतिक्रिया