भ्रमण वर्षको मुखमा भारतीय गाडी प्रतिबन्ध !

समाधान संवाददाता २०७६ पुष १० गते ११:४७

विकास रोकामगर
पोखरा

पोखरा आउने विदेशी पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक हुन्छन् । पर्यटनको सिजन होस् या अफसिजन पोखराका होटलमा प्राय भारतीय पर्यटक नै देखिन्छन् । भारतीय पर्यटकले पोखरेली पर्यटन उकासिएको भन्दै पर्यटन व्यवसायीले ‘बोर्डर सेल्स मिसन’समेत चलाउँदै आएका छन् ।

पोखरामा कति भारतीय पर्यटक आउँछन् ? यसको तथ्यांक न सरकार छ, न निजी क्षेत्रसँग । तर, पर्यटन व्यवसायीकै भनाइलाई आधार मान्ने हो भने पोखरा आउने विदेशी पर्यटकको ४० प्रतिशत भारतीय हुन् । जसमध्ये अधिकांश सिमाना सहजताका कारण आफ्नै देशको गाडीमा नेपाल आउँछन् ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन ५ दिन बाँकी छ । भ्रमण वर्ष सफल पार्न सबैभन्दा बढी भारतीय पर्यटक नै आउने पर्यटन व्यवसायीको दाबी छ । तर, भ्रमण वर्ष घोषणा पूर्वसन्ध्यामा पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक सवारी साधनमाथि रोक लगाइएको छ ।

अंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव र क्रिसमसका बेला सरकारले भारतीय नम्बर प्लेटका गाडी पोखरा प्रवेश गर्न निषेध गरिदिएको छ । ‘ट्राफिक व्यवस्थापनमा चुनौती’ भएको कारण देखाउँदै पोखरा पर्यटन परिषद्को आग्रहमा जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक गाडी प्रवेशमा रोक लगाएको हो । यो विषयमा पर्यटन व्यवसायीबीच मत बाँझिएको छ ।

Advertisement

‘पोखरामा आउने अधिकांश पर्यटक भारतीय नै हुन्छन् । उनीहरुका गाडी प्रवेशमा रोक लगाउँदा पोखरेली पर्यटनलाई असर पुग्दैन ?’ होटल व्यवसायी संघ पूर्व अध्यक्ष हरि गैरे प्रश्न गर्छन्, ‘सरकारले यति ठूलो निर्णय गर्दा व्यवसायीसँग समन्वय पनि भएन ?’ उनले भ्रमण वर्षको मुखमा सरकारले गलत कदम चालेको टिप्पणी गरे ।

पोखरामा भारतसहित अरु देशका गाडीसमेत आउँछन् । तर, ‘भारतीय गाडी’ नै तोक्दा भारतीय पर्यटकको नेपाललाई हेर्ने दृष्टिकोणमा नै भिन्नता आउने गैरेको दाबी छ । ‘भारतीय पर्यटक बोलाउन लाखौं खर्च गरेर बोर्डर सेल्स मिसनका कार्यक्रम गरिरहेका छौं । भ्रमण वर्षमा पनि सरकारले ठूलै खर्च गर्न लागेको छ,’ उनले भने, ‘कि सबै विदेशी गाडी भन्नुपथ्र्यो । नत्र भारतीय गाडीमात्रै तोक्दा हाम्रो लगानी पानीमा गएन त ?’

परिषद्ले पोखरा आएका भारतीय गाडीमा भारतीय गाडी पोखरा नल्याउन र पोखरेली गाडीमात्रै प्रयोग गर्न अनुरोध गर्दै स्टिकरसमेत टाँसेर पठाइरहेको छ । परिषद्को यस कदमविरुद्ध भारतीय मिडियाले समेत लेख्न थालेका छन् । भारतको पत्रिका हिन्दुस्तान टाइम्स लेख्छ, ‘जिल्ला प्रशासन कास्कीले भारतीय गाडीमा रोक लगाएको छ । यसबाट नेपाल जाने भारतीय पर्यटकलाई समस्या हुन सक्छ ।’

पर्यटनकै हित हुन्छः पर्यटन परिषद्
भारतीय नम्बर प्लेटका गाडी प्रतिबन्ध गर्दा पोखरेली पर्यटनलाई नै फाइदा पुग्ने दाबी पर्यटन परिषद्ले गरेको छ । ठूलो संख्यामा भारतीय गाडी पोखरा आउँदा ट्राफिक जाम हुने र भारतीय पर्यटकले पोखरा ‘साइट सिन’को मजा पनि लिन नपाउने तर्क परिषद्को छ ।

‘भारतीय भाडाका गाडी पोखरा आउँछन् । उनीहरुले यहाँका २÷४ ठाउँ हेर्छन् । त्यो ठाउँबाहेक उनीहरुलाई पोखराबारे धेरै थाहा हुँदैन । यसले गलत म्यासेज जान्छ,’ परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, ‘भारतीय गाडी रोक्दा यहाँका ट्राभल एजेन्सी, व्यवसायी र ट्याक्सीले पनि काम गर्ने मौका पाउँछन् ।’ उनले भारतीय सार्वजनिक बसमात्रै प्रतिबन्ध गरिएको निजी बस भने आउन सक्ने बताए ।

भारतीय गाडी रोक लगाउँदा पोखराको होटलमा बस्ने र व्यवसायीले ‘खास’ पोखरा देखाउन पाउने पोखरेलले दाबी गरे । ‘होटलवालाकै गाडी हुन्छ । उनीहरुलाई सुरक्षित पार्किङबारे पनि थाहा हुन्छ । उनीहरुले नै भारतीय पर्यटकलाई पोखराको सबै ठाउँ घुमाउन पाउँछन्,’ उनले भने ।

भारतीय गाडीले पार्किङ समस्याः प्रशासन
जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय गाडीले पार्किङ समस्या निम्त्याएकाले रोक लगाउनुपरेको जनाएको छ । कास्कीका सिडिओ रमेश केसीले ट्राफिक व्यवस्थापनका लागि पोखरा तयार भइसकेपछि मात्रै प्रतिबन्ध खोलिने जानकारी दिए ।

‘भारतीय गाडीलाई पोखराको रुट थाहा हुँदैन । कहाँ पार्किङ गर्ने÷नगर्नेबारे पनि थाहा हुँदैन,’ केसीले समाधानसँग भने, ‘क्रिसमस र अंगे्रजी नयाँ वर्ष सकिएपछि सम्बन्धित निकायसँग छलफल गरेर बाँकी प्रक्रिया सुरु गर्छौं ।’ उनले भारतीय गाडीमा आउने ठूलो संख्याका पर्यटकले स्थानीय व्यवसायीलाई समेत असर पार्ने दाबी गरे ।

भ्रमण वर्षमा पोखरामा धेरै पर्यटक आउने र त्यसले ट्राफिक व्यवस्थापनमा चुनौती हुने भएकाले पनि भारतीय सार्वजनिक गाडीमाथि रोक लगाउनुपरेको केसीको तर्क छ । ‘अंग्रेजी नयाँ वर्ष र भ्रमण वर्षमा धेरै पर्यटक आउँछन् । त्यसलाई सहजीकरण गर्न पनि भारतीय सार्वजनिक बस पोखरा आउन रोकिएको हो,’ उनले भने, ‘यो पर्यटन व्यवसायीकै आग्रहमा चालिएको कदम हो ।’

तपाईको प्रतिक्रिया