वैरागी काइँलालाई लेखनाथ साहित्य पुरस्कार

समाधान संवाददाता २०७६ पुष १० गते १२:४९

समाधान संवमददाता, पाेखरा

वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘वैरागी काइँला’ लाई २०७६ सालको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिने भएको छ । कविशिरोमणिको १३६ औं जन्मजयन्तीका अवसरमा आउँदो १५ गते काइँलालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

कविशिरोमणिकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारले स्थापना गरेको उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ छ । लेखनाथ साहित्य प्रतिष्ठानले पुरस्कार सञ्चालन गर्दै आएको छ ।

Advertisement

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँला दर्जनाैं संघ संस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका छन् । काइँलाका दर्जनभन्दा बढी साहित्य र संस्कृतिसँग सम्बन्धित कृति प्रकाशित छन् ।

उक्त पुरस्कार यसअघि नेपाली शिक्षा परिषद्, बासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय, बालकृष्ण पोखरेल, जगमान गुरुङ र वसन्तकुमार शर्मालाई प्रदान गरिएको थियो ।

Advertisement

यसैबीच कुन्तीदेवीका नाममा स्थापित अमरसिंहकी सोनिका ढुङ्गानालाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ छ । पद्मराज ढकालद्वारा आफ्ना आमाबाबाका नाममा स्थापित पुरस्कार लक्ष्मीआदर्श माविका विजय सापकोटा, जनज्योति माविका आशिष अधिकारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि ५÷५ हजार रुपैयाँ छ । अम्बिका ढकालद्वारा आमाका नाममा स्थापित पुरस्कार लक्ष्मीआदर्श माविकी कविता भट्टराईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि ५ हजार रुपैयाँ छ ।

कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, पोखरा–२७ र लेखनाथ आधारभूत विद्यालय, पोखरा–२८ का सम्पूर्ण विद्यार्थीलाई कुन्तीदेवी छात्रवृत्ति वितरण गरिने लेखनाथ साहित्य प्रतिष्ठानले बुधबार जनाएको छ । ‘२०६७ सालदेखि प्रदान गरिँदै आएको लेखनाथ साहित्य पुरस्कार, कुन्तीदेवी शिक्षा पुरस्कार एवं छात्रवृत्ति कोषमा १६ लाख ६ हजार रुपैयाँ छ,’ प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ, ‘पुरस्कारको प्रतिभा छनोट उपसमितिमा अध्यक्ष डा. शुक्रराज अधिकारी, सदस्यमा प्राडा रविलाल अधिकारी, डा. प्रतिभा पाण्डे, रमा शर्मा र प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेल थिए ।’

तपाईको प्रतिक्रिया