पोखरा–रुपाकोट बस सेवा सुरु

समाधान संवाददाता २०७६ पुष ११ गते १२:३७

समाधान संवाददाता
पोखरा

कास्कीको रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्टले बिहीबारदेखि पोखरा खपौदीदेखि रुपाकोटसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । पर्यटन वर्ष २०२० लाई लक्ष्य गरी रिसोर्टले पाँचौ वार्षिकोत्सवका अवसरमा बस सेवा सञ्चालनमा ल्याएको हो ।

खपौदीस्थित द कल्चर रिसोर्टबाट बिहान छुट्ने बसले लेकसाइड, एअरपोर्ट हुँदै रुपोकाटसम्म दैनिक सेवा प्रदान गर्नेछ । द कल्चर रिसोर्टमा आयोजित कार्यक्रममा पोखराका मेयर मानबहादुर जिसीले बस सेवा उद्घाटन गरे । कार्यक्रममा उनले नयाँ गन्तव्य पहिचान र खोजी गर्न सके पर्यटन व्यवसायले फड्को मार्ने धारणा बताए । ‘पर्यटनमैत्री वातावरणमा पर्यटकलाई सेवा प्रदान गर्नुपर्छ,’ उनले भने, ‘परम्परावादी ढंगबाटमात्रै व्यवसाय गरेर हुँदैन ।’

Advertisement

पोखरा र रुपाकोट यात्रालाई सहज बनाउने लक्ष्यसहित बस सेवा सञ्चालन गरिएको रुपाकोट रिसोर्ट सञ्चालक पुष्पराज अधिकारीले बताए । टोयटाको कोस्टर बस सुविधायुक्त छ । बसमा आरामदायी यात्रागर्न सकिने उनको भनाइ छ ।

रुपाकोट रिसोर्ट ५ वर्ष अघि सञ्चालनमा आएको हो । रिसोर्ट सञ्चालक अधिकारीले १ दिनका लागि होटल बुकिङ गरेर आएका पर्यटक रुपाकोटमा ४ दिनसम्म बसेको सुनाए । ‘पर्यटकको बसाइँ लम्ब्याउन पनि रिसोर्टले सहयोगी भूमिका निर्वाह गरेको छ,’ उनले भने ।

Advertisement

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिकाभित्र व्यवसाय गर्न इच्छुक व्यवसायीको व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने बताए । उनले भूमि बैंकको स्थापनादेखि खानेपानी, बाटो, बिजुली लगायत पूर्वाधार व्यवस्था गर्न गाउँपालिका तयार रहेको बताए ।

२ सय रोपनीमा फैलिएको रिसोर्टमा ४२ कोठा छन् । २५ कोठा निर्माणाधीन छन् । रिसोर्टमा १ पटकमा करिब १ सय पर्यटकलाई आवासीय सेवा दिन सकिने अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया