लेखनाथ महोत्सवको पिङबाट १६ को उद्धार

समाधान संवाददाता २०७६ पुष १३ गते १४:०५

समाधान संवाददाता
लेखनाथ

लेखनाथ महोत्सवमा बाल उद्यानतर्फको पिङ चढेका १६ जना शनिबार ठूलो दुर्घटनाबाट बचेका छन् । पिङ झन्डै २० मिनेटसम्म अड्किएका थियो । २० मिनेटसम्म उल्टो रहेको पिङलाई डोरीको सहायताबाट तल झारेर १६ जनाको उद्धार गर्नुपरेको थियो । उद्धारपछि स्वास्थ्यमा समस्या देखिएका १० जनालाई उपचारका लागि लेखनाथको बुढीबजारमा रहेको लेखनाथ सिटी अस्पताल र लायन्स सामुदायिक अस्पतालमा पठाइएको थियो ।

अस्मिता क्षेत्री र शिक्षा अधिकारीको उपचार भइरहेको छ । अन्य उपचारपछि घर फर्किएका छन् । कविता आले, अनिता तिमिल्सिना, सन्तोषी तिमिल्सिना, प्रकाश पौडेल, सञ्जीव मरासिनी, सुस्मिता श्रेष्ठ, सञ्जीव श्रेष्ठ र गोविन्द श्रेष्ठ सामान्य उपचारपछि घर फर्किएका छन् ।

Advertisement

झण्डै ३० फिट उचाइमा पिङ उल्टो अड्किएको थियो । २० मिनेटपछि डोरीको सहायताले पिङलाई तल झारियो । पिङ अडकिदा दर्शकबीच रुवावासी भएको थियो । पिङ हाइड्रोलिकको समस्याले अड्किएको हुन सक्ने संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । बिग्रिएको पिङ बन्द गरिएको छ ।

महोत्सव स्थलमा जोखिम व्यवस्थापनको तयारी नपुगेको भन्दै दर्शकले आक्रोश पोखेका छन् । महोत्सवमा ठूलो दुर्घटना हुनबाट जोगिएको भन्दै थप सजगता अपाइने बाल उद्यान संयोजक धीरज श्रेष्ठले प्रतिबद्धता गरे ।

Advertisement

महोत्सव शनिबारसम्म अढाइ लाखले हेरेको दाबी आयोजक लेखनाथ उद्योग वाणिज्य संघले गरेको छ । १६ औ संस्करणको महोत्सवमा १० औं दिनसम्म आउँदा दर्शक र कारोबार दुबै उल्लेख्य बढेको आयोजकको भनाइ छ ।

महोत्सव पुस १५ गतेसम्म चल्नेछ । शनिबारमात्रै करिब ५० हजारले मेला अवलोकन गरेको आयोजकको दावी छ । शनिबार दर्शक व्यवस्थापन गर्न थप टिकट काउन्टर खोल्नुपपरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । शनिबारमात्र २ करिब करोड र १० दिनमा १२ करोड ७५ लाख आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष जानुका अधिकारीले दाबी गरिन् । विद्यालय स्तरीय नृत्यले महोत्सवलाई थप रोचक बनाएको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले बताए ।

शनिबार पूर्णकला बिसी, वन्दना पाण्डे, तुलसा जिसी, पशुपति शर्मा, सुरेन्द्र गुरुङ, राजेन्द्र विक, राजन कार्की, शर्मिला विक, नेत्र खड्का लगायतले दर्शकलाई मनोरञ्जन दिए । काउली बूढी, प्रमोद खरेल, रवि ओड, ओम गुरुङ, सन्ध्या बुढा लगायतले दर्शकलाई हसाए ।

तपाईको प्रतिक्रिया