गण्डकी आयलको ताला खुल्यो, उत्पादन शुरु

समाधान संवाददाता २०७६ पुष १५ गते १३:४९

समाधान सम्वाददाता, पाेखरा

कोसेली र साधना ब्रान्ड तेल उत्पादक गण्डकी आयल मिलमा लागेको सिलबन्दी सोमबार देखि खुलेको छ । स्याङ्जा बजारमा नियमित अनुगमनका क्रममा संकलन गरिएको तेलको नमुनामा अखाद्य पदार्थ भेटिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाको अनुरोधमा कास्की प्रशासनले उद्योगमा पुस १० मा सिलबन्दी गरेको थियो ।

उद्योग चले पनि उत्पादित तेल बजारमा नपठाउने सर्तमा स्याङ्जाका सहायक प्रजिअ ध्रुव गिरीसहितको टोलीले खोलेको हो । उद्योगमा रहेको कच्चा पदार्थ र अब उत्पादन हुने तेल फेरी नमुना परीक्षणका लागि पठाउने र परिणाम आएपछि मात्रै बिक्री गर्न पाउने गरी सिलबन्दी तोडिएको स्याङ्जाका प्रजिअ रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

Advertisement

कम्पनीले भने आफ्नो उ्रत्पादनहरु गुणस्तरयुक्त भएको दावी गरेको छ । ‘कतिपय ठाउमा स्टोर गर्दा वा ओसार पसारका क्रममा असावधानी अपनाउदा एक दुई पोका तेल बिर्गन सक्छन ।’ कम्पनीका सञ्चालक माइकल कर्माचार्यले समाधान अनलाइनसंग भने–‘हामीले कम्पनीबाट उ्रत्पादन गर्दा गुणस्तरयुक्त तेल मात्र बजारमा पठाउछौं ।’

उनले बर्षौ देखि उपभोक्ताको मन जित्न सफल उद्योगले आफ्नो उत्पादनमा लापरवाही गर्नै नसक्ने समेत दावी गरे । सरकारी निकायले शुरु गरेको छानविन प्रकृयामा पूर्ण सहयोग गर्ने बताउदै कर्माचार्यले भने–‘हामी डराउनु पर्ने कारण नै छैन । हाम्रो उत्पादन गुणस्तरयुक्त छ, जनताको विश्वास माथि घात गर्नै सक्दैनौं ।’ अब छिट्टै आफ्नो उत्पादनहरु पूर्ववत ढंगले नै बजारमा पुर्याउने जानकारी पनि उनले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया