बन्दीपुर गाँउपालिकाद्वारा विपन्न परिवारलाई साेलार वितरण

समाधान संवाददाता २०७६ पुष १७ गते १२:५२

समाधान संवाददाता
दमौली

तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेका र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी बन्दीपुर गाउँपालिका ६ स्थित बाक्से र खहरेका ७ परिवारलाई सोलार दिएको हो ।

सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । बाक्सेका ६ र खहरेको १ घरलाई सोलार वितरण गरिएको छ । ‘बिजुली नपुगेको गाउँका अति विपन्न र बिजुली पुगे पनि मिटर राख्न सक्ने हैसियत नभएका घरधुरी छानेर सोलार वितरण गरेका हौं,’ थापाले भने, ‘अन्य विपन्नलाई पनि क्रमशः सोलार वितरण गरिनेछ ।’

Advertisement

सोलार प्यानल पाउने ७ घरधुरी नै सुकुम्बासी हुन् । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर २५ हजार मूल्य पर्ने सोलार प्यानल वितरण गरिएको र जडान खर्च पनि गाउँपालिकाले नै व्यहोेर्ने अध्यक्ष थापाले जानकारी दिए । ‘उज्ज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो,’ थापाले भने ।

गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीय हर्षित भएका छन् । अहिलेसम्म मैनबत्ती र टुकीको भरमा रहेकोमा सोलार पाएपछि घर नै उज्ज्यालो हुने भन्दै विष्णु नेपालीले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया