बिजुलीका पोल समयमै व्यवस्थापन नहुँदा बाटो चक्ल्याउन समस्या

समाधान संवाददाता २०७६ पुष २२ गते १३:०६

मुस्ताङको थासाङ गाउँपालिका छाक्ताङमा सडक छेउको अव्यवस्थित विद्युत पोल ।

एसके आस्था
जोमसोम

बेनी जोमसोम निर्माणाधीन सडक आयोजनालाई सडक छेउछाउका विद्युत पोलले समस्या पारेको छ । म्याग्दीको तातोपानीदेखि कोवाङ खण्डका दाना, काभ्रे, घाँसा, लेते, कोवाङ लगायतका ठाउँमा पोल व्यवस्थापनमा ढिलाइ हुँदा बाटो बनाउन कठिनाइ परेको सडक बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ ।

Advertisement

म्याग्दीको तातोपानीदेखि मुस्ताङको कोवाङसम्म तातोपानी वितरण केन्द्रले बिजुली आपूर्ति गर्ने जिम्मा लिएको छ । कोवाङदेखि माथिल्लो खण्डमा नीलगिरि उपभोक्ता सहकारी संस्थाले बिजुली वितरण गरेको छ । आयोजना प्रमुख मुकुन्द अधिकारीले म्याग्दीको तल्लो खण्डमा विस्तारै पोल हटाइको बताए । जोमसोमदेखि माथि छुसाङसम्मका पोल विद्युत वितरण केन्द्रले हटाइसकेको छ ।

उनले तोतोपानीदेखि कोवाङसम्म १ सय १२ वटा पोल व्यवस्थापन गर्नुपर्ने बताए । जोमसोमदेखि माथिल्लो भेगमा केन्द्रले प्रतिपोल हटाउन १५ हजारका खर्चेको छ । म्याग्दी क्षेत्रमा १ पोल हटाउन ५० हजारका दरले विद्युत प्राधिकरणले स्टमेट गरेको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

Advertisement

यसअघि स्थानीय प्रशासनको रोहबरमा मुस्ताङको सांसद, जनप्रतिनिधि र सरोकारवालाको उपस्थितमा विद्युत प्राधिकरण र कालिगण्डकी करिडोरबीच विद्युत पोल हटाउने पटक पटक वार्ता भएको थियो । सरोकारवालाको सहमतिमा प्राधिकरणले पोलको स्टमेट गरी करिडोरलाई बुझाइएको हो । म्याग्दी वितरण केन्द्र प्रमुख सुनिस सापकोटाले सडक निर्माण गर्दा नालीसँगै पोल गाड्ने संरचना करिडोरले बनाइदिनुपर्ने बताए । उनले सडक र विद्युत जनताकै लागि भएकाले दुवै काम एकै पटक गर्नु जरुरी भएको उनको भनाइ छ ।

उनले करिडोरले भुक्तानी प्रक्रियामा ढिलाइ गरे पनि प्राधिकरणले पोल हटाउन गत मंसिर ८ को टेन्डर आह्वान गरिसकेको जानकारी दिए । सापकोटाले करिडोर र प्राधिकरणका प्रतिनिधिको बैठक बसेर टेन्डर खुलाइने जनाए । दुबै काम राज्यको भएकाले आपसमा मिलेर समस्या सुल्झाउनुपर्ने उनको भनाइ छ ।

आयोजना प्रमुख मुकुन्द अधिकारीले काम सुरु गर्नुअघि भुक्तानी प्रक्रिया सुरु गर्ने आश्वासन दिए पनि पोल हटाउनेतर्फ प्राधिकरणले चाँसो नदिएको दाबी गरे । उनले प्राधिकरणले स्टमेट अनुसार अग्रीम भुक्तानी मागेको तर आफूहरुले एलएमएस स्वीकृत गरेर पैसा उपलब्ध गराउने जनाएको बताए ।

६ महिनाअघि सडकको काम गर्दैगर्दा विद्युत पोल ढलेपछि मुस्ताङमा ३ दिन विद्युत आपूर्ति रोकिएको थियो । निर्माणाधीन सडक छेउछाउका अव्यवस्थित पोलका कारण मुस्ताङ जाने सवारी साधन, करिडोरका मजदुर र पैदलयात्रु जोखिम बेहोर्न बाध्य छन् । अस्तव्यस्त पोलका कारण सडकका काममा समेत बाधा पुगेको शर्मा गजुरमुखीका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले बताए । उनले विद्युत पोलसँगै केही रुख काट्नुपर्ने भएकाले त्यसका लागि पनि प्रक्रिया अघि बढेको उल्लेख गरे । बेनी जोमसोम सडक निर्माण २०७४ सालबाट सुरु हो । हालसम्म सडकको ५० प्रतिशतमात्र काम भएको करिडोरले जनाएको छ ।

तपाईको प्रतिक्रिया