पशुपतिनाथको शैलीमा अकलादेवी

समाधान संवाददाता २०७६ माघ ३ गते १३:३०

कृष्ण न्यौपाने
दमौली

पशुपतिनाथ मन्दिरको शैलीमा तनहुँको म्याग्दे गाउँपालिका ३ किल्चोकस्थित अकलादेवी मन्दिर पुनर्निर्माण भएको छ । जेठ १८ गतेदेखि सुरु भएको मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको हो ।

समितिको आन्तरिक कोषबाट ७१ लाख लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण समिति अध्यक्ष रामभक्त घिमिरेले दिए । ३ तल्ले मन्दिरमा बुधबारदेखि तामाको छानो छाउन सुरु गरिएको छ । तामाको छानो छाउनका लागि मात्रै १२ लाख लाग्नेछ । दशदिनभित्र छानो छाएर सकेपछि मन्दिरमा गजुर प्रतिस्थापन ढोका, झ्यालमा टुँडाल एकैसाथ राख्ने योजना बनाइएको छ ।

Advertisement

मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजना बमोजिम नै मन्दिर पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर बराई मगरले बताए । मन्दिर पुनर्निर्माणका लागि समितिले केही समय अगाडि महायज्ञ आयोजना गरेको थियो । महायज्ञमा करिब १ करोड संकलन भएको छ ।

मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पार्टीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ । मन्दिर क्षेत्रमा वनभोज स्थल पनि निर्माण गर्ने योजना छ । डिपिआर अनुसारका सबै संरचना निर्माणका लागि ३ वर्ष लाग्ने अनुमान गरिएको छ ।

Advertisement

‘मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेका छौंं, मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भएको छ,’ मगरले भने, ‘डिपिआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि ४ करोड बजेट आवश्यक पर्ने देखिएको छ ।’

मन्दिर परिसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४० लाख र म्याग्दे गाउँपालिकाको ८ लाख सहयोगमा भजकीकर्तन भवन निर्माण सम्पन्न भइसकेको छ । प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसार अभावमा मन्दिर ओझेलमा परेको महसुस भएपछि सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास र प्रचारप्रसारका लागि जुटेको मगरले बताए ।

अकलादेवी खुसी भएको बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीयवासीको विश्वास छ । देवी प्रशन्न भएको अवस्थामा राती घण्ट बज्ने गरेको स्थानीयव बालहरि घिमिरेले बताए । २०४२ सालदेखि मन्दिरमा शंख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । त्यो बेला तत्कालीन गंगाधर घिमिरे लगायत स्थानीयले यस बारेमा जानकारी गराएपछि यो दैवीशक्ति हो, यसको संरक्षणका लागि केही काम गर्नुपर्छ भनेर संरक्षणको काम ुुरु भएको व्यवस्थापन समिति अध्यक्ष मगरले बताए । आफूले समेत २ पटकसम्म पञ्चबली दिएको र त्यो बेला प्रत्यक्ष रुपमा घण्ट हल्लिएको देखेको मगरले सुनाए ।

मन्दिरमा ९ वर्षदेखि पूजारीको रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेको घण्ट आफैं हल्लिने गरेको बताए । मन्दिरमा दैनिक ५०÷६० भक्तजन पूजाआजाका लागि आउने गरेका छन् । २०५५ सालमा मन्दिरमा योगी नरहरिनाथले ८५ औें कोटी होम लगाएका थिए । यस क्षेत्रमा धार्मिक शक्ति भएका कारणले नरहरिनाथले यहाँ कोटीहोम लगाएको स्थानीय बताउँछन् । अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात साढेको स्तम्भ छ ।

यो प्रतिमा निकै पुरानो रहेको अनुमान छ । मन्दिर नजिकै पञ्चवली दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाका लागि वर्षमा ४ वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया