विकास हेर्न पालिका पालिका पुग्नुस्ः मुख्यमन्त्री

समाधान संवाददाता २०७६ माघ ८ गते १४:१९

अर्जुन काफ्ले
स्याङ्जा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले विकास बिना प्रदेश सरकार बस्न नसक्ने बताएका छन् । सरकारले काम गरेन भन्नु पूर्वाग्राही सोच भएको उनको दाबी छ । मुख्यमन्त्री गुरुङले काम हेर्न गण्डकी प्रदेशका पालिका पालिकामा पुग्न आग्रह गरे ।

पुतलीबजार नगरपालिका २ को चिरुवा समाजिक विकास प्रतिष्ठानको बहुउद्देश्यीय भवन उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएको उनले बताए ।

Advertisement

आधारभूत खानेपानी, बिजुली बत्ती, मोटर बाटो र प्राविधिक शिक्षालय निर्माणमा प्रदेश सरकार जुटेको उनले उल्लेख गरे । गुरुङले विकासका हरेक क्षेत्रमा प्रदेश सरकारको चासो, चिन्ता र पहलकदमी रहने उनले जनाए ।

सरकारको पहिलो वर्ष कानुन बनाउँदा बितेको उल्लेख गर्दै उनले अहिले जनताले देख्ने गरी काम गर्न थालेको दाबी गरे । अबको २ वर्षमा खानपानीको अभाव भएका ८२ हजार घरधुरीमा १ घर १ धारा पुग्ने उनले आश्वासन दिए । अबको २५ वर्षमा प्रदेशवासीको औसत आयु ८५ वर्ष हुने उनले लक्ष्य सुनाए । प्रदेश सरकार ८ मिटर चाक्लो कालोपत्रे सडक हरेक क्षेत्रमा बनाउन लागेको उनको भनाइ छ । अब ३ वर्षभित्र साँघुरा बाटा चाक्लो बताउँदै १० सडक पिच गर्ने योजना उनले सुनाए ।

Advertisement

कार्यकालको ५ वर्षभित्र ६ हजार किलोवाट बिजुली उत्पादन हुने उनले बताए । चाडै बिजुलीबाट चल्ने चुलो ल्याउने र भारतबाट ग्यास किन्नु नपर्ने दिन सुरु हुने उनले जनाए । ३ वर्षमा सबै घरमा बिजुली र सबै ठाउँमा फलामको पोल पु¥याउने प्रदेश सरकारको योजना छ । प्रदेशको २२ प्रतिशत खेतियोग्य जमिनलाई सिंचित गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । मुख्यमन्त्रीले सिँचाइ नहुँदा जमिनमुनिबाट प्रदेश सरकारको सहयोगमा पानी निकालिने उनले प्रतिवद्धता गरे । पर्यटन विकास गर्दै होमस्टे चलाउने र उत्पादनमा जोड दिने किसानलाई ५० प्रतिशत ब्याज मिनाहा गर्ने योजना उनले सुनाए ।

दीर्घरोगी, किड्नी, क्यान्सर, मुटुरोगी र दुर्घटनामा परेकाको उपचारमा सहयोग गर्ने सोच रहेको उनले सुनाए । एसइई पास भएर पढ्न नसकेकालाई पनि प्रदेश सरकारले सहयोग गर्ने उनले उद्घोष गरे । प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षालयबाट विदेश वा स्वदेशमा आम्दानी गर्न सक्ने गरी निशुल्क तालिम दिइने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मी, प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, दीपक चर्तिमगर लगायतले बोलेका थिए । सामुदायिक भवन गण्डकी प्रदेश सरकारको ९० लाख, नगरपालिकाको १७ लाख र स्थानिीयको १३ लाख गरी १ करोड ३० लाख लगानीमा निर्माण भएको हो । १ रोपनीमा निर्माण भएको भवनमा ९ कोठा र ५ सय जना अट्ने सभाहल छ ।

तपाईको प्रतिक्रिया