‘नेपाली ग्रेटवाल’ बनाउँदै बन्दीपुर

समाधान संवाददाता २०७६ माघ १४ गते १२:३९

समाधान संवाददाता
दमौली

चीनको विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा पदमार्ग पर्खाल निर्माण थालिएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल बनाउन थालेको हो ।

बन्दीपुरमा उल्लेख्य पर्यटक भित्र्याउने लक्ष्य राखेर पर्खाल निर्माण थालिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । बन्दीपुर गाउँपालिका २ को थानीमाई मन्दिरदेखि मुकुन्देश्वरी डाँडासम्म पर्खाल बन्नेछ । गत आवमा १० मा ३ सय मिटर पर्खाल बनेको थियो । चालु आवमा ६० लाख लागतमा १ हजार ३ सय मिटर पदमार्ग पर्खाल निर्माण गर्ने योजना छ । करिब ३ किलोमिटरको पर्खाल निर्माणका लागि करिब २ करोड लाग्ने अनुमान छ । ‘गत वर्ष र चालु आर्थिक वर्षमा गरी १ हजार ६ सय मिटरको काम हुनेछ । बाँकी अर्को वर्षमा गर्ने गरी बजेट विनियोजन गर्छौं,’ थापाले भने ।

Advertisement

डाँडामा सवारीसाधन नपुग्ने भएकाले कामदारले निर्माण सामग्री बोकेरै लैजानु पर्छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यो पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ नामकरण गरिएको छ । पदमार्ग पर्खाल ३ मिटर फराकिलो छ । मुकुन्देश्वरी डाँडामा संग्रहालयसमेत बनाउने लक्ष्य छ ।

बन्दीपुरमा वार्षिक १ लाखभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सिसाको दृश्यावलोकन स्तम्भ पनि बनाउने भएको छ । बन्दीपुरको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढेको अध्यक्ष थापाले जानकारी दिए । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच छ ।

Advertisement

बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन लैजान निषेध गरिएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो । दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायत स्थले पर्यटकहरूको रोजाइमा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया