गरिब तथा विपन्न समुदायलाई घर

समाधान संवाददाता २०७६ माघ १४ गते १२:५१

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश सरकारले लमजुङको मध्य नेपाल नगरपालिका ४ दुई पिप्ले रम्घाका गरिब, विपन्न तथा पिछडिएका बोटे, बादी, दलित र जनजाति समुदायलाई २८ घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालय गोरखाले जनता आवास कार्यक्रम अन्तर्गत लोपोन्मुख ती समुदायलाई पहिलोपल्ट घर निर्माण गरेर हस्तान्तरण गरेको हो । रम्घामा २८, बेंसीसहर नगरपालिका भरबोटमा ९ र दोर्दी गाउँपालिकास्थित भीरकुनामा १३ घर हस्तान्तरण गरिएको जनता आवास कार्यक्रम लमजुङका संयोजक तथा गण्डकी प्रदेश सभाका सदस्य धनञ्जय दवाडीले बताए ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले अमृता बोटेलाई घरको चाबी र प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे । मुख्यमन्त्री गुरुङले नेपालको संविधान अनुसार आवासको हक अन्तर्गत घरविहीनलाई बासको व्यवस्था गरेको बताए । पहिलोपल्ट घर प्रदान गरेको उल्लेख गर्दे मुख्यमन्त्री गुरुङले सरकारले गरिब तथा विपन्नको लागि गास, बास र कपासको व्यवस्था गर्न लागेको सुनाए ।

‘कम्युनिस्ट पार्टीको सरकार आएपछि गरिब, विपन्न र पिछडिएका समुदायको दिन आए,’ मुख्यमन्त्री गुरुङले भने, ‘घर नहुनेका लागि घरबासको व्यवस्था गरिएको छ । एकसरो लगाउन नसक्नेलाई कपासको व्यवस्था गरिनेछ ।’ मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले घर नभएका, खान र लगाउन नपाएका जनताको पक्षमा काम गरेको दाबी गरे ।

Advertisement

गण्डकी प्रदेशमा साढे १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले गरिबी निवारण र भोकमरीको अन्त्यका लागि प्रदेश सरकारले योजनबद्ध ढंगले काम गरेको बताए । उनले अल्पसंख्यक तथा सीमान्तकृत चेपाङ, दुरा समुदायको हकहितमा समेत काम गर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मायानाथ अधिकारीले कम्युनिस्ट सरकारले सुकुम्बासी समस्या हल गर्ने बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले सरकारले आवासको हक अन्तर्गत विशेष कार्यक्रम चलाएको बताए । प्रत्येक घर निर्माणका लागि ३ लाख ३२ हजार ५ सयका दरले लक्षित समुदायलाई रकम दिएको जानकारी दिँदै उनले कार्यक्रम अन्तर्गत नवलपुरमा ५ सय, मनाङमा ५० र मुस्ताङमा ५० घर निर्माण गर्ने जानकारी दिए । उनले चालु आर्थिक वर्षमा १ सय घर छनोट हुने जानकारी दिए । २ आर्थिक वर्षमा गरी ५० करोड बजेट विनियोजन गरेको बताए ।

सहरी विकास तथा भवन कार्यालय गोरखाका निमित्त प्रमुख सुरेन्द्र खनालले गरिब, विपन्न र पिछडिएको समुदायको घर बनाउन सहयोग गर्नुका अलवा पार्क र भवन निर्माणमा समेत सहयोग गर्ने बताए । लाभग्राही अमृता बोटेले वर्षौदेखि झुपडी बस्दै आएकोमा नयाँ घर पाएकोमा समुदायमै खुसीयाली छाएको बताइन् ।

तपाईको प्रतिक्रिया