सुरक्षाकर्मीले पन्छ्यायो मुक्तिनाथको हिउँ

समाधान संवाददाता २०७६ माघ १९ गते १६:०८

मुस्ताङको मुक्तिक्षेत्रको बाटोको हिउँ सफा गर्दै सुरक्षाकर्मी ।

सुन्दरकुमार थकाली
जोमसोम

विश्वकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मी लगायतले सरसफाई तथा हिउँ पन्छ्याउने काम गरेका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा शैनिक उच्चशिखर शिक्षालयका शैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयबासी लगायतले मुक्तिनाथको पहिलोद्धार देखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छ्याएका हुन् ।

Advertisement

जारी सिजन लगातार ३ पटक परेको हिमपातले मुत्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्धार सम्मको करिव २ किलोमिटर पैदल बाटोमा २ फिट हिउँ जमेपछि तिर्थालुलाई मन्दिर पुग्न कठिनाई परेको थियो । ३ वटै सुरक्षाकर्मीका करिव ६० जना जवान, एक्याप र स्थानीयबासी गरी ८० जना बढीको समुहले बाटोमा जमेको हिउँ पन्छ्याउने कार्य गरेको मुस्ताङ निमित्त सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।

यस्तै, सुरक्षाकर्मीले पैदलमार्गका साथै मन्दिर परिसरको हिउँ पन्छ्याएको सहायक प्रजिअ गौतमले बताए । यसअघि रानीपौवा बजार देखि मुक्तिनाथ सम्मको दुरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तिर्थालुलाई असहज हुँदै आएको थियो । बजारबाट मन्दिर जाने जीर्ण उकालो बाटो त्यसमाथि हिउँको चाबले स्वदेशी तिर्थालु भन्दा भारतीय तिर्थालुलाई बढी समस्या पर्दै आईरहेको थियो । बाँक्लो हिउँमा पैदल यात्रा गर्दा तिर्थालुलाई लडेर चोटपटक लाग्ने गथ्र्यो । हिउँले भरिएको पैदल मार्गमा स्थानीयले तिर्थालुलाई बोकर वा स्टेचरमा राखेर लाने र ल्याउने गरेका थिए । सुरक्षाकर्मीले बाटोको हिउँ पन्छ्याएपछि तिर्थालुलाई अब आउजाउमा केही सजिलो भएको प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीले उल्लेख गरे ।

Advertisement

यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कागबेनीदेखि मुक्तिनाथ बसपार्कसम्मको १२ किलोमिटर कालोपत्रे सडकको हिउँ डोजर लगाएर पन्छ्याएको थियो । पालिकाले सवारी साधन मार्फत मुक्तिनाथ आउजाउ गर्ने सवारीको सहजताका लागि डोजर खर्च व्यवहोर्ने गरी ४ दिन लगाएर हिउँ पन्छ्याएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।

सडकको हिउँ पन्छ्याएपछि अहिले निर्वाध मुक्तिनाथ आउजाउ गर्न सजिलो भएको अध्यक्ष गुरुङले बताए ।

सेताम्मे हिउँमा मुक्तिनाथको दर्शनः
मुक्तिनाथक्षेत्रको बजार र पाखोमा परेको हिउँले मुक्तिनाथ दर्शन गर्न आउने तिर्थालुलाई थप उत्साह थपेको छ । चादी झै टलक्क टल्किएको हिउँको दृष्यले मुक्तिक्षेत्रलाई कैलाश पर्वतको झल्को दिएको छ । मन्दिर दर्शन गर्न आएका तिर्थाललुले हिउसंग लुकामारी खेल्ने र सेल्फी खेल्ने अवसर मिलेको हो ।बाग्लुङबाट शैक्षिक भ्रमणका क्रममा मुक्तिनाथ आएका बिद्यार्थी सुमन पौडेलले हिउँ पर्ने याममा मुक्तिनाथको दर्शन गर्न पाउनु अहोभाग्य भएको बताए । उनले हिउँले भरिएको मुक्तिक्षेत्र आउदा यात्रा अबिस्मरणीय भएको उल्लेख गरे । तर, हिउँले भरिएको मुक्तिनाथमा तिर्थालुलाई उत्साह जगाएपनि
परिसर ,कुण्ड र १ सय ८ धारा नजिक जमेको हिउँले असहज पारेको थियो ।

हिउँ पन्छ्याएपछि परिसरक्षेत्रमा हिडडुल गर्न बृद्धबृद्धाहरुलाई सजिलो भएको छ । मुक्तिनाथ कुण्डको पानी जमेकाले कुण्डमा डुब्न सक्ने अवस्था छैन । मुक्तिनाथ मन्दिरको ३ वटा छानोमा बाँक्लो हिउँ जमेकाले मन्दिरको सौन्दर्यतालाई आर्कषक बनादिएको छ ।

तपाईको प्रतिक्रिया