७ सय वर्ष पुरानो चराङ छोदे गुम्बा

समाधान संवाददाता २०७६ माघ २० गते १६:११

तस्बिरः ईन्द्रधारा विष्ट

एसके थकाली
जोमसोम

मुस्ताङी राजाका उत्तराधिकारीको स्वामित्वमा रहेको चराङ छोदे गुम्बा १३ औं शताब्दीमा बनेको हो । अर्थात् यो गुम्बा ७ सय वर्ष पुरानो हो । तिब्बतीयन लामाले दिएको सल्लाह अनुसार दोस्रो मुस्ताङी राजाका उत्तराधिकारीलाई गुम्बा सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ ।

Advertisement

उपल्लो मुस्ताङ धार्मिक तथा सांस्कृतिक संम्पदाले प्रसिद्ध छ । यहाँको थुप्रै पर्यटकीय गन्तव्यमध्ये चराङ छोदे गुम्बा एक हो । आङगोन साङ्वोले १३ औं शताब्दीताका लोमान्थाङमा राजदरबार, पर्खाल र झ्याम्बा गुम्बासँगै चराङ छोदे गुम्बा पनि बनाएका थिए ।

पहिलो मुस्ताङी राजा आमेपालका पालामा लोमान्थाङमा दरबार, पर्खाल र गुम्बा थिएनन् । साङ्वोले दरबारलाई चाहिने यी सबै पूर्वाधारका साथै चराङ गुम्बा बनाएको इतिहास छ । मुलुकमा राजसंस्था हटे पनि उपल्लो मुस्ताङीले राजालाई उक्तिकै आस्था र श्रद्धा गर्छन् । अझै त्यहाँका स्थानीयले राजालाई सांस्कृतिक धरोहरका रुपमा सम्मान गरिरहेहका छन् ।

Advertisement

उपल्लो मुस्ताङको सांस्कृतिक राजसंस्था र तिब्बतीका बासिन्दाको परिवारिक तथा धार्मिक सम्बन्ध कायमै छ । भाषागत समानता भएको उपल्लो मुस्ताङ राजपरिवारले तिब्बतीयन चेलीसँग वैवाहिक सम्बन्ध कायम गर्दै आएको छ । उपल्लो मुस्ताङमा २५ औं पुस्ताका राजा जिग्मे पलवर विष्टले सांस्कृतिक राजाका रुपमा कार्यभार सम्हाल्दै आएका छन् ।

तिब्बतीयन लामा साङ्वो यो निर्माणका मुख्य सल्लाहकार थिए । दरबार, गुम्बा र पर्खाल निर्माण सल्लाह गर्न उनले सल्लाह दिएका थिए । लामा साङ्वो तिब्बतको ङोर भन्ने स्थानका बासिन्दा हुन् । राजाबाट दरबार लगायतको पूजापाठ गर्न बोलाइएका लामा ङोरछ्येन कुङ्गा साङ्वोलाई पूजापाठपछि हालको चराङ छोदे चढाइएको थियो । राज परिवारमा सुखद कार्य सुरुआत भएको उपलक्ष्यमा लामा साङ्वोलाई चराङ दरबार चढाइएको बताइन्छ ।

तर लामो साङ्वोले राजाले चढाएको दरबार लिन इन्कार गरे । लामाले तिब्बतमा आफ्नो गुम्बा भएकाले त्यहीको रेखदेख र पूजापाठको जिम्मेवारी पूरा गर्नुपर्ने भएको भन्दै चराङ गुम्बा लिन मानेनन् । पूजा सकेर तिब्बत फर्किने क्रममा चराङ दरबारमा रेखदेख र पूजापाठ गर्न राज खान्दानका माहिला छोरालाई उत्तराधिकारी बनाई गुम्बाको जिम्मेवारी दिन उनले राजा आङगोन साङ्वोलाई सुझाए । लामा साङ्वो तिब्बत फर्किएपछि माहिला छोरालाई लामा बनाई गुम्बाको संरक्षण गर्न लगाएको थियो । हालसम्म चराङ गुम्बा मुस्ताङी राजाका उत्तराधिकारले संरक्षण गर्दै आएको प्रदेश सांंसद ईन्द्रधारा विष्ट बताउँछन् ।

चराङ गुम्बा जोमसोम कोरला सडकबाट पूर्वपट्टि १ सय ५० मिटरमा अवस्थित छ । त्यसताका चराङमा २ वटा गुम्बा निर्माण भएका थिए । सबैभन्दा पुरानो गुम्बा अत्यन्तै जीर्ण छ । जीर्ण गुम्बाभित्र अझै युद्ध सामग्री र बहुमुल्य सम्पदा भएको बताइन्छ । जीर्ण गुम्बाको केही पर अर्को गुम्बा छ, जुन मुख्य लामालाई चढाइएको थियो । सांसद विष्टका अनुसार लामालाई दिने भनिएको गुम्बा केही शताब्दीपछि पुनर्निर्माण गरियो । हाल गुम्बामा अमेरिका हिमालयन फाउन्डेसनको सहयोगमा लामा विद्यार्थीलाई शिक्षादीक्षा दिने गरिएको छ ।

त्यहाँ खटिएका लामाहरुले नियमित पूजाआजा गर्ने गरेका छन् । गुम्बा संरक्षण राजपरिवारका सदस्य परम ङोरथार्चे खेम्बो रिम्पोर्छेले गरेका छन् । उनी विश्व हिमालयन बुद्धिसजमको दशौं स्थानमा छन् । उनी जोमसोम गुम्बाका पनि प्रमुख हुन् ।

चराङ गुम्बा भिरालो जमिनको डिल नजिक छ । यसको संरक्षणका लागि गुम्बा व्यवस्थापनले नै तारजाली लगाउने लगाएको थियो । पछिल्लो समय स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तारजाली लगाउन २५ लाख प्रदेश सरकारले विनियोजन गरेको सांसद विष्टले जानकारी दिए । ७ सय वर्षअघि ३ साङ्वो नाम्सुमले दरबार लगायतका पूर्वाधार निर्माण भएपछि उपल्लो मुस्ताङ धेरैका लागि आकर्षण बन्दै गएको हो ।

उपल्लो मुस्ताङमा सबैभन्दा पुरानो गुम्बा लोघेकर गुम्बा हो । जसलाई घर गुम्बा पनि भन्ने गरिन्छ । गुरु पद्यसम्भवले राक्षसको वध गरेपछि घर गुम्बा बनाएको किंवदन्ती छ । लुरी गुम्बा, लोमान्थाङको झ्याम्वा गुम्बा, नाम्गेल गुम्बा र चराङ छोदे गुम्बा पनि यहाँ छन् । यी गुम्बा अवलोकन गर्न विभिन्न देशका पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया