मुक्तिनाथलाई हिउँको घुम्टो

समाधान संवाददाता २०७६ माघ २४ गते १३:१६

एसके थकाली
जोमसोम

हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा छ । हिउँदमा हिमपात र चिसो हुने भएकाले तीर्थालुको चाप कम हुन्छ । मुस्ताङमा यस पटक ३ पटक हिउँ पर्‍यो । तर वारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि तलको क्षेत्रमा उस्तो हिउँ परेन । मुक्तिनाथ र उपल्लो मुस्ताङका २ पालिकामा भने बाक्लो हिउँ परेकाले डाँडाकाँडा सेताम्मे बने । मुक्तिक्षेत्र जाने सडकको खिंगादेखि झारकोट, रानीपौवा र मुक्तिनाथ परिसरको खेत, पाखो र बाटोमा बाक्लो हिउँ पर्‍यो । हिउँले मुक्तिक्षेत्रको जनजीवन प्रभावित पारे पनि यहाँको सौन्दर्य थप आकर्षक बनाइदियो ।

मुक्तिनाथ आसपासको पाखोमा ५ फिटभन्दा बढी हिउँ छ । मन्दिर परिसर र मन्दिरको भुइँतलादेखि माथि गजुरसम्म हिउँ छापिएको दृश्यले तीर्थालुलाई मोहित बनाउँछ । चाँदी झैं टलक्क टल्किएको हिउँको घुम्टोभित्र सजिएको मुक्तिनाथको दृश्यले पुराणमा उल्लेख भएको झै कैलाश पर्वतको भान हुन्छ ।

Advertisement

मुक्तिक्षेत्रको शिव मन्दिर, स्वामी नारायण मन्दिर, नरसिंह गुम्बा, ज्वालामाई र नजिकैको ठूलो बुद्ध स्तुपसमेत हिउँले ढाकिएको छ । अहिले मुक्तिनाथ दर्शन गर्ने र हिउँ खेल्नेको लर्को लाग्न थालेको छ । सडक छेउको पाखोमा परेको हिउँ खेल्दै मुक्तिनाथ यात्रालाई अविस्मरणीय र जीवन्त तुल्याइदिन्छ ।

किन प्रसिद्ध छ मुक्तिनाथ ?
मुक्तिक्षेत्रलाई सनातन हिन्दुले भगवान् नारायणको शक्तिपीठ मान्छन् । यहाँ विष्णु शिला, मोक्ष वृक्ष, ज्वालामाईदेखि नरसिंह र शिव मन्दिर छन् । मुक्तिक्षेत्रमा भगवान् विष्णुले तपस्या गर्दा तपतापले उनको गालाबाट चुहिएको पसिनाबाट गण्डकी नदी उत्पति भएको धार्मिक विश्वास छ । कतिपयले यहाँ सतीदेवीको अंग पतन भएको स्थान मान्छन् । यसक्षेत्रमा विष्णु र शिवजीको बासस्थान भएको ठाउँको रुपमा लिएको पाइन्छ । मुक्तिनाथसँग धार्मिक धेरै कथाले जोडिएकाले धेरैको आस्था र विश्वास बढाएको छ ।

Advertisement

यता, मुक्तिनाथमा १५ औं शताब्दी ताका गुरु पद्मसम्भवले तिब्बत जाने क्रममा मुक्तिनाथमा ध्यान गरेको किंवदन्ती छ । यसैले बौद्धधर्मावलम्बी यस क्षेत्रमा पूजा गर्न आउँछन् ।

भारतका ४ धाम दर्शन गरे पनि नेपालको मुक्तिनाथ दर्शन नगरे सबै ठाउँमा गरिएको दर्शन अपूरो हुने विश्वासले भारतीय तीर्थालु मुक्तिक्षेत्र आइपुग्छन् । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर दर्शन गरेपछि यसक्षेत्रको चर्चा विश्व समुदायमा चुलिएको हो ।

तपाईको प्रतिक्रिया