पोखरामा खुल्ने भो मृगौला उपचार केन्द्र

समाधान संवाददाता २०७६ माघ २७ गते १२:०९

समाधान संवाददाता
पोखरा

बदलिँदो जीवनशैली अनि मृगौलाको बढ्दो समस्या । मृगौला रोग पहिचान भइसकेपछि नियमित डायलासिसको समस्या । यही समस्याको समाधान गर्न पोखरामा रोटरी किड्नी केयर सेन्टर खुल्ने भएको छ ।

रोटरी क्लब अफ पोखरा लेकसाइडले मुस्ताङचोक नजिकै सञ्चालन गर्न लागेको किड्नी केयर सेन्टरको आइतबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङले जगमा पहिलो ढुंगा राखे । उनले सेन्टर सञ्चालनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

अहिले १० डायलासिस मेसिन राखेर निर्माण हुने उक्त सेन्टरको लागत २ करोड ७८ लाख रुपैयाँ छ । पछि ३ तले पक्की भवनमा थप २० मेसिनसहित सञ्चालन गर्दा ६ करोड ८७ लाखसहित ९ करोड ६५ लाख रुपैयाँ खर्च हुने निर्माण समिति संयोजक राजेन्द्र लिगलले जानकारी दिए ।

डायलायसिस मेसिन रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सहयोग गर्ने छ । सेन्टरको प्रारम्भिक संरचना यही वर्षभित्र सक्ने योजना छ । सेन्टर भवनको रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ गभर्नर किरणलाल श्रेष्ठले हालसम्म ६५ वटा मेसिन वितरण गरिसकिएको र आफ्नो कार्यकालमा १ सय ५० वटा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

रोटरी इन्टरेसनल अध्यक्षका प्रतिनिधि आन ब्रिट अस्वेलले पोखरा सुन्दर सहरको उल्लेख गर्दै यहाँ बन्ने सेन्टरको सफलताको शुभकामना दिइन् । कार्यक्रममा प्रदेश सांसद राजीव पहारी, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडा ७ अध्यक्ष रामचन्द्र बराल लगायत बोलेका थिए ।

रोटरी क्लब अफ पोखरा लेकसाइड अध्यक्ष घराना थकालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका प्रेसिडेन्ट इलेक्ट अर्जुन खनालले गरेका थिए । समारोहमा रोटरीका पास्ट गभर्नर चिन्तामणि भट्टराई, योगेन्द्र प्रधान, तीर्थमान शाक्य लगायत थाइल्याण्ड र जापानका रोटरियनको पनि उपस्थिति थियो ।

पोखरा उपत्यका नगर विकास समितिले दिएको ३ रोपनी ४ आना जग्गामा निर्माण हुने सेन्टरले वार्षिक ३ लाख ९० हजार भाडा बुझाउपर्ने सम्झौता रहेको निर्माण समिति संयोजक लिगलले जानकारी दिए । ३ वर्षअघि स्थापित रोटरी क्लब अफ पोखरा लेकसाइडले रेडक्रस कास्कीलाई एम्बुलेन्स सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया