प्रदेश प्रहरी गठनका लागि सुझाव सङ्कलन

समाधान संवाददाता २०७६ माघ २७ गते १३:११

समाधान संवाददाता
दमौली

गण्डकी प्रदेश सरकारले आफ्नै प्रहरी संरचना गठन गर्नका लागि जिल्लास्तरमा पुगेर सुझाव संकलन सुरु गरेको छ । नेपालको संविधानमा प्रदेश प्रहरी गठन सम्बन्धी व्यवस्था भएकोले प्रदेश सरकारले आफ्नै प्रहरी संगठन निर्मााणका लागि आइतबार तनहुँको दमौलीमा सरोकारवालाको सुझाव संकलन गरेको हो ।

प्रदेश प्रहरी गठन गर्दा अपनाउन सकिने रणनीति बनाउन जनस्तरमा पुगेर सुझाव ग्रहण गर्ने उद्देश्य बमोजिम तनहुँमा कार्यक्रम गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज शर्माले जानकारी दिए । शर्माका अनुसार प्रदेश प्रहरी गठन पूर्व प्रदेशका ११ वटै जिल्लामा पुगेर अन्तरक्रिया गर्ने लक्ष्य राखिएको छ ।

Advertisement

‘संविधान बमोजिम प्रदेश प्रहरी गठन गर्न सकिने स्पष्ट व्यवस्था छ, सोही बमोजिम प्रदेश सरकारले प्रदेश प्रहरीको संरचना गठन गर्न लागेको छ,’ उनले भने, ‘जिल्लास्तरबाट प्राप्त सुझावहरुलाई लिपिबद्ध गर्दै कानुनी रुप दिने सोच सरकारको छ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशको आवश्यकतालाई ध्यानमा राखेर प्रहरी संगठन गठन गरिने जानकारी दिए । प्रदेश प्रहरी गठन गर्नुपूर्व सबै जिल्लामा पुगेर सुझाव संकलन गरिने मन्त्री चुमानले बताए । सबै सरोकारवालाको सुझाव लिएर प्रदेश सरकारले मस्यौदा तयार गर्न लागेको मन्त्री चुमानको भनाई थियो ।

Advertisement

मन्त्री चुमानले संघीय प्रहरी ऐनसँग नबाझिने गरी प्रदेश प्रहरी ऐन ल्याउन लागिएको बताए । संघीय सरकारले प्रहरी ऐन जारी गरेपछि मात्र प्रदेशले ऐन ल्याउने तयारी गरेपनि संघीय प्रहरी ऐन आउन ढिलाई भएको मन्त्री चुमानको भनाई थियो ।

सो अवसरमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र शाहले प्रहरीको वर्तमान अवस्था र प्रदेश प्रहरी गठनका लागि भएका संवैधानिक व्यवस्थाका बारेमा चर्चा गरे । उनका अनुसार प्रहरीमा दरबन्दी काम हुँदा तनहुँ जिल्लामा एक प्रहरीले ५ सय ११ जनाको सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले स्थानीय तहमा पनि वडास्तरबाट नै प्रहरी इकाईहरु स्थापना गर्नुपर्ने सुझाव राखे ।

तपाईको प्रतिक्रिया