विवाद समाधानका लागि मेलमिलाप केन्द्रः उपप्रमुख गुरुङ

समाधान संवाददाता २०७६ फागुन ६ गते १३:३२

समाधान संवाददाता
पोखरा

पोखरा १७, १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले वडामा केन्द्र स्थापना गरेको हो ।

सबै केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताइन् । उनले वडा तहका विवाद मेलमिलापमार्फत समाधान गर्दा समाजमा सद्भाव कायम हुने जनाइन् ।

Advertisement

अदातली प्रक्रियामा झन्झटिलो र आर्थिक बोझ पर्ने भएकाले वडा तहबाटै विवादको समाधान गर्न मेलमिलाप केन्द्रको स्थापना गरिएको उनको भनाइ छ । उनले संविधानले स्थानीय तहमा न्यायपालिकाको रुपमा न्यायिक समितिको व्यवस्थाले नागरिकलाई सहज हुने बताइन् । उनले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाबारे पनि जानकारी दिइन् ।

वडाध्यक्ष तीर्थराज अधिकारीले वडाको विकासमा सबैको सुझाव, सल्लाह लिएर योजनावद्ध काम गरिरहेको बताए । उनले जनताले विश्वास गरी निर्वाचित गरेकाले विश्वासलाई अझ मजबुत गर्ने गरी काम गरिरहेको उल्लेख गरे । कार्यक्रममा नेकपा पोखरा १७ का अध्यक्ष सुभास ढुंगानाले राजनीतिक परिर्वतनपछि जनताले परिर्वतनको अनुभूति गर्न पाउने गरी काम गर्न आग्रह गरे ।

Advertisement

न्यायिक समिति सदस्य पार्वती कार्कीले मेलमिलापकर्ताले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेस १७ का सचिव डिआर भट्टराईले सबैलाई समान व्यवहार गदै विवाद समाधान गर्न सुझाव दिए । मेलमिलापकर्ता सविता भण्डारी सुवेदीले निष्पक्ष भएर विवाद समाधानमा भूमिका खेल्ने प्रतिवद्धता जनाइन् ।

न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समिति गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाबारे जानकारी दिए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने जानकारी दिए ।

पोखरा २४ का अध्यक्ष ओम सुवेदी र पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले केन्द्र स्थापनाले वडाका विवाद समस्या समाधानमा सहज हुने अपेक्षा गरे । कार्यक्रममा मेलमिलापकर्ता कृष्णप्रसाद सुवेदी, महानगरका कानुन अधिकृत राममणि अधिकारी नेकपा पोखरा १८ अध्यक्ष पुष्कल थापा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया