दमाैली प्रथम लोक सांस्कृतिक महोत्सवमा १५ जातका संस्कृति प्रदर्शनी

कृष्ण न्यौपाने
दमौली
तनहुँको दमौलीमा आयोजित प्रथम लोक सांस्कृतिक महोत्सवमा १५ जातका संस्कृति प्रदर्शन गरिएको छ । नगर क्षेत्रभित्र रहेका विभिन्न जातजातिका कला संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्य सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा बुधबार र बिहीबार सञ्चालित महोत्सवमा १५ जातका मौलिक संस्कृति प्रदर्शन गरिएको हो ।
सांस्कृतिक महोत्सवमा नेवार जातिको लाखे र टाकटुके, मगर जातिको झ्याउरे र कौरा, क्षेत्री जातिको रोइला, परियार जातिको पञ्चेबाजा र नौमती, गुरुङ जातिको छ्याटु, ब्राह्मण जातिको भजन र बालन, गन्धर्व जातिको तरवार, भुजेल जातिको झ्याउरे र चुड्का, दरै जातिको घाँटु र फूलपाती, चेपाङ जातिको झाँक्री, बोटे जातिको फूलपाती, क्षेत्री जातिको रत्यौली, तामाङ जातिको सेलो, रानाभाट जातिको रत्यौली नाच प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
सांस्कृतिक महोत्सवको पहिलो दिन बुधबार नेवा तजिलजि पुच, गलम्बास आमा समूह, क्षेत्री समाज, परियार समाज, तमु बौद्ध सेवा समाज, ब्राह्मण समाज, गन्धर्व समाज, भुजेल समाज व्यास नगर र दरै समाजले आफ्नो संस्कृति प्रदर्शन गरेका थिए भने दोस्रो दिन बिहीबार छङ्गेली नेवा गुठी, चेपाङ समाज, गन्धर्व समाज, बोटे समाज, तामाङ समाज लगायतले प्रस्तुति गरेका थिए ।
विभिन्न जातजातिबीचको लोक संस्कृतिको पहिचान र र जातीय एकता कायम गराउने उद्देश्यले आयोजित सांस्कृतिक महोत्सव सफल भएको प्रतिष्ठानका अध्यक्ष सीतामाया गुरुङले बताइन् । ‘सांस्कृतिक महोत्सवले परम्परागत लोक संस्कृतिको उजागर हुनुका साथै नयाँ पुस्तालाई संस्कृतिको अनुसरण गर्न टेवा मिलेको अनुभूति भएको छ,’ उनले भनिन् ।
नगरक्षेत्रभित्र विभिन्न २५ जातजातिको बसोबास रहेको छ । महोत्सवमा १५ समुदायका २६ वटा नृत्य सहभागी थिए । ‘अहिलेका कतिपय पुस्तालाई आफ्नै जातजातिको कला, संस्कृति बारे जानकारी छैन,’ महोत्सवका प्रवक्ता एवं प्रतिष्ठानका संरक्षक मेघनाथ रिमालले भने, ‘यस कार्यक्रमले नयाँ पुस्ताले संस्कृति बुझ्ने अवसर प्राप्त गरेका छन् ।’
लोक सांस्कृतिक महोत्सवमा सहभागी हुन आएका व्यास नगरपालिका ११ का रामबहादुर चेपाङले आफ्नो जातिको संस्कृति प्रस्तुत गर्दै अन्य जातिको मौलिक संस्कृति बारे बुझ्ने अवसर प्राप्त भएको बताए । ‘विभिन्न जातजातिको कला संस्कृति बारे एउटै थलोबाट जानकारी लिने र हाम्रो जातिको संस्कृति प्रदर्शन गर्ने अवसर मिल्यो,’ उनले भने ।
महोत्सवको समापन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सबै जातजातिबीच एकता आवश्यक रहेकोमा जोड दिँदै यस कार्यक्रमले मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सहयोग पुगेको बताए ।
तपाईको प्रतिक्रिया