२ महिनापछि खुले मुस्ताङका विद्यालय

समाधान संवाददाता २०७६ फागुन १४ गते १३:१२

२ महिना हिउँदे बिदापछि खुलेको मुस्ताङको जनहित मावि जामसोममा उपस्थित विद्यार्थीहरु । तस्बिरः एसके थकाली ।

एसके थकाली
जोमसोम

मुस्ताङका शैक्षिक संस्था ६० दिनपछि खुलेका छन् । अत्याधिक हिमपात र जाडोले बन्द भएका यहाँका शैक्षिक विद्यालयमा फागुन १ गतेदेखि विद्यार्थी भर्ना तथा पढाइ सुरु भएको हो ।

Advertisement

मुस्ताङको तल्लो क्षेत्रका ३ स्थानीय तहका विद्यालय हिउँदमा बर्सेनि २ महिना बन्द हुने गर्छ । तर, उपल्लो मुस्ताङको २ स्थानीय तहका विद्यालयले भने मंसिर महिनामा चालु शैक्षिक सत्र सकेर नयाँ सत्रको पढाइ सुरु गर्छन् । उपल्लो मुस्ताङको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २० सामुदायिक विद्यालय र ४ वटा गुम्बा विद्यालयले नयाँ शैक्षिक सत्रको पढाइ सञ्चालन गर्न घुम्ती विद्यालय सञ्चालन गर्छन् । पुस र माघमा अत्यधिक हिमपात र जाडोले जनजीवन प्रभावित हुने भएकाले घुम्ती विद्यालय सञ्चालन गर्ने गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङका कार्यालय प्रमुख टंकराज बरालले जानकारी दिए ।

तल्लो मुस्ताङमा ३ गाउँपालिकाले हिउँदे जाडो बिदा भनेर पुस र माघ गरी ६० दिन पूरै विद्यालय बन्द गर्ने गरेको इकाई प्रमुख बरालले बताए । उनका अनुसार हिउँदयामको जाडो बिदामा रहेका ३ पालिकाका ३५ विद्यालयको पढाइ फागुनदेखि सुरु भएको उल्लेख गरे । उनका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयले लामो बिदापछि नयाँ शैक्षिक सत्र सुरु गरेको हो । ६० दिन लामो बिदा रहेका शिक्षक कार्यक्षेत्रमा फर्किसकेको उनले सुनाए ।

Advertisement

नेपाल सरकार शिक्षा विभागले दुर्गम हिमाली तथा उच्च पहाडी जिल्लामा हिउँदे बिदा दिन अनुमति प्रदान गरेको हो । विभागले मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला लगायत कर्णालीका ९ जिल्लालाई हिउँदे बिदा दिने व्यवस्था गरेको छ । यी जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्रको पढाइ हुने गरेको इकाइ प्रमुख बरालले जनाए । नेपाल विभागको निर्देशिका अनुसार खुलेका विद्यालयलाई १५ दिने भर्ना अभियान तोकिएको हो । विद्यालय भर्ना गर्न छुटेका बालबालिकालाई सम्बन्धित तह र सेवा केन्द्रले घरदैलो अभियानमार्फत विद्यालयमा आबद्ध गराउने उनको भनाइ छ । सरकारले सामुदायिक विद्यालयलाई नयाँ पाठ्यपुस्तकसमेत उपलब्ध गराइसकेको र उक्त पाठ्यपुस्तक सम्बन्धित तहले निशुल्क प्रदान गर्ने इकाइ प्रमुख बरालले जानकारी दिए ।

सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई ४५ दिन सरकारी बिदा उपलब्ध गराएको हो । यसमा थप १५ दिने विभिन्न चाडपर्वमा पढाइ गरेको सट्टा बिदा जोडेर ६० दिन हिउँदमा विद्यालय बिदा हुन्छन् । उपल्लो मुस्ताङमा दसैं अघि १५ दिन र घुम्ती कक्षापछि ४५ दिन विद्यालय बिदा हुन्छन् । घुम्तीमा बेसीमा झरेका विद्यालयको पढाइ फागुन १५ गते सकेर वैशाख १ देखि साविककै स्थानमा पढाइ हुने इकाइ प्रमुख बरालले जानकारी दिए । घुम्तीमा झरेका विद्यालयलाई सम्बन्धित पालिका र समन्वय इकाइले अनुदान उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया